NE/Prabhupada 0851 - चपाइसकेको वस्तुलाई बारम्बार चपाइरहनु । यहि नै भौतिक जीवन हो



750306 - Lecture SB 02.02.06 - New York


चपाइसकेको वस्तुलाई बारम्बार चपाइरहनु । यही नै भौतिक जीवन हो ।

निताइः “यसप्रकार सुदृढ भएर मानिसले सम्पूर्ण प्राणीहरूको हृदयमा आफ्नो सर्वशक्तिमत्ताद्वारा विराजमान हुनुहुने परमात्माको सेवा गर्नुपर्दछ । किनभने उहाँ सर्वशक्तिमान् भगवान् हुनुुहुन्छ जो शाश्वत तथा असीमित हुनुहुन्छ, उहाँ नै जीवनको परमलक्ष्य हुनुहुन्छ र उहाँको पूजा गरेर मानिसले भौतिक बद्ध जीवनको प्राप्ति गराउने कारणलाई समाप्त पार्न सक्दछ ।

प्रभुपादः एवं स्वचित्ते स्वत एव सिद्ध आत्मा प्रियोऽर्थो भगवान अनन्तः तं निर्वितो नियतार्थो भजेत संसार हेतू परमश्च यत्र (श्रीमद्भागवतम् २।२।६) । गत रात हामीले बहस गरेका थियौँ कि मानिसले किन आफ्नो पालनपोषणको चिन्ता गर्नुपर्दछ र आफ्नो धनसम्पत्तिको अत्यन्त घमण्ड गर्ने मानिससँग केही धनको याचना गर्न जानुपर्दछ । उसले आफ्नो जीविकाको व्यवस्था गर्न सक्दछ । जीविका भनेको आहार–निद्रा–भय–मैथुनम् (हितोपदेश २५) हो । जबसम्म मानिस संन्यास आश्रममा रहन्छ, उसले सर्वप्रथम मैथुन जीवन तथा भयलाई परित्याग गर्नुपर्दछ । त्यसलाई संन्यासी भनिन्छ । जस्तै, यहाँ धेरै ब्रह्मचारी तथा संन्यासीहरू छन् । तिनीहरू वैरागी हुनुपर्दछ, विशेष गरी, संन्यासी, वानप्रस्थ तथा ब्रह्मचारी । वैरागी । पहिलो वैराग्य भनेको इन्द्रियतृप्तिबाट वैराग्य हो । त्यसकारण, संन्यास आश्रममा रहेको व्यक्तिलाई स्वामी भनिन्छ । स्वामी भनेको मालिक अर्थात् गोस्वामी हो । गो भनेको “इन्द्रियहरू” हो र स्वामी भनेको “मालिक” हो । आफ्ना इन्द्रियहरूको स्वामी बनेको मानिसलाई गोस्वामी अर्थात् स्वामी भनिन्छ । नत्र, यदि कोही आफ्ना इन्द्रियहरूको सेवक भएको छ भने ऊ कसरी स्वामी अर्थात् गोस्वामी बन्न सक्दछ ? प्रत्येक शब्दको आफ्नै अर्थ हुन्छ । त्यसकारण, मानिस वैरागी हुनुपर्दछ किनभने यो भौतिक जीवन हो । भौतिक जीवनमा सबैजना इन्द्रियतृप्तिमा व्यस्त रहन्छन्, र त्यसलाई नै मानिसहरू सभ्यतामा प्रगति भएको भन्ने सोच्दछन् । त्यही इन्द्रियतृप्ति भिन्न प्रकारले गर्नु, त्यही नशालु पदार्थको सेवन, त्यही मांसभक्षण, त्यही मैथुन जीवन; चाहे यो क्लबमा जाऊ अथवा नग्न क्लबमा जाऊ अथवा त्यो क्लबमा जाऊ । जहाँ गए पनि प्रवृत्ति एउटै हो । पुनः पुनश्चर्वित–चर्वणानाम् (श्रीमद्भागवत ७।५।३०), चपाइसकिएको वस्तुलाई बारम्बार चपाइरहनु । यो भौतिक जीवन हो । वैराग्य भनेको इन्द्रियतृप्तिलाई पूर्ण रूपमा रोक्नु हो; रोक्न नसके पनि कम्तीमा नियन्त्रण गर्नु हो । त्यसलाई वैराग्य भनिन्छ । र वैराग्य धारण नगरेसम्म तपाईं आध्यात्मिक जगतमा जान सक्नुहुन्न । जस्तै, यदि तपाईंको हातमा, तपाईंले आफ्नो हातमा केही लिनुभएको छ जुन त्यति गुणस्तरको छैन, र यदि तपाईं त्योभन्दा केही श्रेष्ठ वस्तु हातमा लिन चाहनुहुन्छ भने तपाईंले पहिलाको वस्तुलाई फ्याँक्नुपर्दछ । तपाईंले दुवै वस्तुलाई एकैपटक लिन सक्नुुहुन्न । त्यो सम्भव छैन । त्यसकारण, भौतिक जीवन तथा आध्यात्मिक जीवनमा के भिन्नता छ त ? भौतिक जीवन केवल समस्याहरूले भरिएको छ, प्रत्येक पाइलामा समस्या । पदं पदं यद् विपदं (श्रीमद्भागवत १०।१४।५८) । केवल खतराहरू मात्र । हामी अत्यन्त राम्रोसँग, सुविधापूर्वक एउटा क्याडिल्लक कार अथवा मोटरकारमा यात्रा गरिरहेका छौँ, तर हामी जोखिम मोलेर यात्रा गरिरहेका छौँ, यत्ति हो । हामी यात्रा गरिरहेका छौँ, कुनै पनि क्षणमा कार दुर्घटनामा पर्न सक्छ, विशेष गरी तिमीहरूको देशमा । कुनै पनि क्षण । त्यसोभए के म अब घरभित्रै बसिरहने हो त ? होइन । घरमा पनि अनेकौँ खतराहरू हुन सक्दछन् । हामी निरन्तर खतरामा छौँ । हामी केवल खतराहरूलाई समाधान गर्ने प्रयास गरिरहेका छौँ । यसैलाई मानिसहरू सभ्यतामा प्रगति भइरहेको छ भन्दछन् । पशुहरू पनि प्रकृतिको संरक्षणमा निर्भर रहन्छन् । तर हामी मनुष्यहरू उच्चतर चेतना तथा उच्चतर बुद्धिको प्रयोग गरिरहेका छौँ—त्यही कुरा हो । रसियाले पारमाणविक बम उत्पादन गरिरहेको छ । त्यसकारण......आणविक बम, हो । र अमेरिकाले पनि बम बनाउने प्रयास गरिरहेको छ । र कुकुर र बिरालाहरू पनि आफ्ना नङ् तथा दाँतहरूलाई सुरक्षा गर्ने प्रयास गरिरहेका छन् । अतः वास्तविक प्रश्न भनेको आत्मरक्षा हो । त्यसकारण, आत्मरक्षा भनेको....यो होइन कि हामीले श्रेष्ठ जीवन बिताइरहेका छौँ । हामीले कुकुर र बिरालाको भन्दा श्रेष्ठ जीवन बिताइरहेका छौँ किनभने हामीले आत्मरक्षा गरिरहनुपर्दैन । होइन, हामीले पनि आत्मरक्षा गर्नुपर्दछ । यो त....तर श्रेष्ठ शैलीमा । श्रेष्ठ शैलीमा होइन—आखिर, हामी एकदिन मर्नुपर्दछ । त्यसकारण, हामी ठान्दछौँ कि त्यो चाहीँ आत्मरक्षा गर्ने श्रेष्ठतर उपाय हो ।