NE/Prabhupada 0889 - यदि तिमीले प्रतिदिन एक सेन्ट सञ्चय गर्यौ भने एक दिन एक सय डलर हुनेछ



750522 - Lecture SB 06.01.01-2 - Melbourne

भक्तः श्रील प्रभुपाद, शास्त्रहरूमा वर्णन गरिएको छ कि भगवान् ब्रह्मा हाँस अर्थात् हंसमा सवारी गर्नुहुन्छ, के यो...? अब हामीले के बुझ्नेः त्यो जीवित हाँस हो कि कुनै सांकेतिक वस्तु हो ?

प्रभुपादः सांकेतिक होइन, यो सत्य हो । तिमी किन सांकेतिक भन्दैछौ ?

भक्तः यो त असामान्य कुरा हो ।

प्रभुपादः असामान्य...तिमीले केको अनुभव प्राप्त गरेका छौ ? तिमीसँग केही पनि अनुभव छैन । के तिमीले अन्य लोकहरूको कुनै अनुभव प्राप्त गरेका छौ ? त्यहाँ के–के छ ? अनि ? तिम्रा अनुभवहरू अत्यन्त थोरै छन् । अतः तिमीले आफ्नो संकुचित अनुभवद्वारा ब्रह्माको आयु तथा अन्य वस्तुहरूको आँकलन गर्न खोज्नुहुँदैन । भगवद्गीतामा श्रीकृष्णले ब्रह्माजीको आयुको उल्लेख गर्नुभएको छ, सहस्रयुगपर्यन्तं अहर्यद् ब्रह्मणो विदुः...(भगवद्गीता ८।१७) । अब ब्रह्माजीको आयुको बारेमा शास्त्रहरूमा बताइएको छ । हामीले अगाडि नै बताइसकेका छौँ कि हामी शास्त्रको प्रामाणिक उद्घोषलाई स्वीकार गर्दछौँ । अब, ब्रह्माजीको आयुको बारेमा शास्त्रमा उल्लेख गरिएको छ । अर्हत् भनेको उहाँको एक दिन हो जुन चारओटा युगहरूको अवधिसँग बराबर हुन्छ । चार युगहरूको अवधि ४,३००,००० वर्ष हुन्छ, र यसलाई हजारले गुणन् गर्दा सहस्रयुगपर्यन्तम् हुन्छ । सहस्र भनेको एक हजार हो । र चारओटा युगको अवधि ४,३००,००० वर्षको एक दिव्य युग हुन्छ र यसलाई हजारले गुणन् गर्दा ब्रह्माजीको एक दिनको समयावधि निस्कन्छ । त्यसैगरी, यही अवधिसँग बराबर ब्रह्माजीको रात्रि पनि हुन्छ । त्यसैगरी, ब्रह्मा एक महिना पनि यहीअनुसार हुन्छ । त्यसैगरी, त्यहीअनुसार उहाँको एक वर्ष पनि हुन्छ । र उहाँ यस्तो सय वर्षसम्म बाँच्नुहुन्छ । अब तिमी यसलाई कसरी आँकलन गर्न सक्छौ ? यो कसरी तिम्रो अनुभवको दायराभित्र पर्न सक्छ ? तिमी यसलाई रहस्यमय ठान्न सक्छौ । अहँ । तिम्रो केही पनि अनुभव छैन । त्यसकारण, तिमीले परिपूर्ण व्यक्ति श्रीकृष्णको अनुभवबाट ज्ञान प्राप्त गर्नुपर्दछ । त्यसपछि, बल्ल तिम्रो ज्ञान पनि परिपूर्ण हुन्छ । यो मैले अगाडि नै भनिसकेको छु । आफ्नो संकुचित अनुभवद्वारा बुझ्ने प्रयास नगर । नत्र तिमी असफल हुनेछौ ।

दोस्रो भक्तः प्रभुपाद, के मानिसका सम्पूर्ण प्रयासहरू कृष्णकै सेवा गर्नका लागि हुन्....

प्रभुपादः यो मैले अगाडि नै बताइसकेको छु, कि तिमी यहाँ आइरहेका छौः र हुन त तिम्रो दीक्षा पनि भएको छैन तापनि यो तिम्रो सेवा हो । यदि तिमीले प्रतिदिन एक सेन्ट जम्मा गर्छौ भने एक दिन सय डलर हुनेछ । र जब तिमीसँग एक सय डलर हुनेछ तब तिमीले व्यापार गर्न सक्नेछौ । (हाँसो चल्छ) तिमी प्रतिदिन यहाँ आउँछौ । यसप्रकार तिम्रो एक सेन्ट, एक सेन्ट...जम्मा हुँदैछ । जब यो एक सय डलर हुनेछ तब तिमी भक्त बन्नेछौ ।

भक्तहरूः जय ! हरि बोल !

प्रभुपादः अर्थात्, यो सेवा व्यर्थ जाँदैन । यो...श्रीमद्भागवतम्मा यो उल्लेख गरिएको छ, कृत–पुण्य–पुञ्जाः (श्रीमद्भागवतम् १०।१२।११) । कृतपुण्य । कृत भनेको “गरिएको” हो । शुकदेव गोस्वामीले वर्णन गर्नुहुन्छ कि जब कृष्ण आफ्ना ग्वाला मित्रहरूसँग खेलिरहनुभएको थियो, शुकदेव गोस्वामीले वर्णन गर्नुहुन्छ “यी ग्वाला केटाहरू जो श्रीकृष्णसँग खेलिरहेका छन्, तिनीहरू एक दिनमा यो स्थितिमा आइपुगेका होइनन् ।” कृत–पुण्य–पुञ्जाः । “जन्मजन्मान्तरसम्म पुण्यकर्महरू गरेपछि, अब तिनीहरू यो स्थितिमा आइपुगेका छन् कि उनीहरू स्वयं परमेश्वरसँग खेलकुद गरिरहेका छन् । अतः कृत–पुण्य–पुञ्जाः । कृष्णको लागि गरिएको कुनै पनि पुण्यकर्म तपाईंको स्थायी सम्पत्ति हो । यो कहिल्यै पनि हराउने छैन । अतः यो सम्पत्तिलाई बढाउँदै जाऊ । यी पुण्यकर्महरूले एक दिन तिमीलाई यति सहयोग गर्नेछन् कि तिमी साक्षात् कृष्णसँग खेलकुद गर्न सक्षम हुनेछा्रै । यही नै कृष्णभावनामृत अभियान हो ।