NE/Prabhupada 0891 - कृष्ण यो ब्रह्माण्डमा अनेकौँ वर्षपछि निश्चित समयचक्रअनुसार अवतार लिनुहुन्छ



750522 - Lecture SB 06.01.01-2 - Melbourne

प्रभुपादः हँ ?

भक्तः हजुर के भन्नुहुन्छ ? अब कति समयपछि कृष्णले आफ्नो मनुष्य स्वरूप लिएर यो लोकमा पुनः अवतार लिनुहुनेछ ?

प्रभुपादः अब आँकलन गर । मैले अघि नै ब्रह्माजीको एक दिन अर्थात् बाह्र घण्टाको अवधिको वर्णन गरिसकेको छु, अर्थात् ४३,००,००० वर्षलाई एक हजारले गुणन् गर्नुपर्छ । कति हुन्छ ? ४३,००,००० वर्षलाई एक हजारले गुणन् गर्दा कति हुन्छ ?

भक्तहरूः चार अरब तीस करोड वर्ष ।

प्रभुपादः होइन, होइन ।

परमहंसः चालीस करोड र तीस करोड वर्ष ।

प्रभुपादः ओहो, भिन्न–भिन्न आँकलन । (हाँसो चल्छ)

मधुद्विषः अष्ट्रेलियामा भिन्न–भिन्न तरिकाले आँकलन गरिन्छ । (हाँसो चल्छ)

प्रभुपादः जे होस्, तिमीहरूको अष्ट्रेलियन आँकलन कति हो ? मलाई भन ।

मधुद्विषः त्यही नै ठीक हो । यहाँ बिलियनको अर्थ अर्कै हुन्छ ।

प्रभुपादः ए । ठीक छ, म तिमीहरूलाई सही आँकलन दिनेछु, चालीस लाख वर्ष यो अमेरिकी अथवा बेलायती आँकलन हो, (हाँसो चल्छ) ४३,००,००० वर्षलाई एक हजारले गुणन् गर । त्यसपछि, बेलायती आँकलनअनुसार कति आउँछ भन त ? (हाँसो चल्छ)

परमहंसः ४,३०,००,००,००० वर्ष ।

प्रभुपादः हँ ?

परमहंसः ४,३०,००,००,००० वर्ष ।

प्रभुपादः त्यो ब्रह्माको बाह्र घण्टा हो । अब त्यसमा पुनः रात्रिकालको बाह्र घण्टा जोड । त्यसपछि, आठ अरब...?

परमहंसः ६०,००,००,००० वर्ष ।

प्रभुपादः हो, कृष्ण त्यति समयपछि पुनः आउनुहुन्छ । (हाँसो चल्छ) ब्रह्माजीको प्रत्येक दिनमा कृष्ण एक पटक आउनुहुन्छ ।

भक्तः श्रील प्रभुपाद, के श्रीचैतन्य महाप्रभु पनि ब्रह्माजीको प्रत्येक दिनमा आउनुहुन्छ ?

प्रभुपादः हो, उहाँ कृष्णको पछिपछि आउनुहुन्छ । कृष्ण द्वापर युगमा आउनुहुन्छ । प्रत्येक दिव्य युगमा चारओटा युगहरू हुन्छन्ः सत्य, त्रेता, द्वापर र कलि । र कृष्ण द्वापर युगको अन्त्यमा आउनुहुन्छ र श्रीचैतन्य महाप्रभु त्यसपछिको कलियुगमा आउनुहुन्छ । अर्थात् लगभग एउटै वर्षमा, एउटै समयचक्रमा । जस्तै, सूर्य निश्चित समयपछि पुनः प्रकट हुन्छ । यो पनि त्यस्तै हो । र सूर्य कहिल्यै पनि अप्रकट हुँदैन । सूर्य निरन्तर आकाशमै रहिरहन्छ । अष्ट्रेलियाको नजरमा सूर्य अस्ताएको होला तर अर्को कुनै देशमा सूर्य उदाइरहेको हुन्छ । सूर्य कहिल्यै पनि मर्दैन । त्यसैगरी, कृष्ण पनि यो ब्रह्माण्डमा निश्चित समयचक्रपछि अर्थात् चार अरब तीस करोड वर्षपछि पुनः प्रकट हुनुहुन्छ । र त्यसपछि कृष्ण अर्को ब्रह्माण्डमा जानुहुन्छ । ठीक सूर्यजस्तै, अष्ट्रेलियाबाट अस्ताएपछि सूर्य अर्को कुनै देशमा गएर उदाइरहेको हुन्छ । त्यसैगरी, कृष्ण पनि यो ब्रह्माण्डमा आफ्ना दायित्वहरू पूरा गरिसकेपछि अर्को ब्रह्माण्डमा जानुहुन्छ । यसप्रकार, यो समयचक्र लगभग चार अरब तीस करोड वर्षको हुन्छ । कल्पना गर्नुहोस्, भौतिक जगतमा कतिओटा ब्रह्माण्डहरू छन् । कृष्ण प्रत्येक ब्रह्माण्डमा १२५ वर्ष बस्नुहुन्छ । सबै कुराहरूको आँकलन शास्त्रमा गरिएको छ । अब हामी कल्पना गर्न सक्छौँ कि भौतिक जगतमा कतिओटा ब्रह्माण्डहरू छन् होला । यही नै समग्रमा भौतिक संसार हो । यो उल्लेख गरिएको छ.... अथवा बहुनैतेन किं ज्ञातेन तवार्जुन ।विष्टभ्याहमिदं कृत्स्नं एकांशेन स्थितो जगत् ।(भगवद्गीता १०।४२) यो भौतिक सृष्टि भगवान्को सम्पूर्ण सृष्टिको एक चौथाईं भाग हो । र तीन चौथाईं भाग वैकुण्ठ जगतमा छ । भगवान् त्यस्तो हुनुहुन्छ । भगवान् त्यति सस्तो हुनुहुन्न । “म भगवान् हुँ” भन्ने सस्ता भगवान्हरूलाई हामी स्वीकार गर्दैनौँ ।