NE/Prabhupada 0893 - यो सबैको भित्री मनसाय हो । कोही पनि काम गर्न चाहँदैन



730417 - Lecture SB 01.08.25 - Los Angeles

भक्तः अनुवादः “म चाहन्छु कि ती सम्पूर्ण विपत्तिहरू पुनः पुनः आइरहुन् किनभने यसद्वारा हामीले पुनः पुनः हजुरको दर्शन पाइरहनेछौँ, किनभने हजुरको दर्शन पाएपछि हामी अब पुनः जन्म र मृत्युको चक्रमा फस्नुपर्दैन ।”

प्रभुपादः यो अत्यन्त रोचक श्लोक हो, कि विपद, खतराहरू, यदि यी दुःख र खतराहरूले मलाई कृष्णको स्मरण गराउँदछन् भने यी विपत्तिहरू पनि अत्यन्त कल्याणकारक हुन् । ती दुःखहरू अत्यन्त कल्याणकारक हुन् । तत्तेऽनुकम्पां सुसुमीक्षमाणो भुञ्जान् एवात्मकृतं विपाकम् (श्रीमद्भागवतम् १०।१४।८) । एउटा भक्तले खतराजनक परिस्थितिलाई कसरी सामना गर्दछ ? खतरा अवश्य आउनेछ खतरा...किनभने यो भौतिक संसार खतराहरूले भरिपूर्ण छ । यी मूर्ख मानिसहरू यो जान्दैनन् । तिनीहरू खतराहरूबाट बच्ने प्रयास गरिरहेका छन् । यो बाँच्नका लागि संघर्ष हो । सबै जना सुखी हुन र खतराहरूबाट मुक्त हुन चाहन्छन् । भौतिक गतिविधिहरूको उद्देश्य यही नै हो । आत्यन्तिक–सुखम् । आत्यान्तिक–सुखम् । परमसुख । एउटा मानिस काम गरिरहेको हुन्छ र उसले सोच्दछः “म अब अत्यन्त कठोर परिश्रम गर्नेछु, र म बैंकमा केही बचत पनि गर्नेछु र जब म वृद्ध हुनेछु, त्यसपछि, म केही पनि काम नगरीकन जीवनको आनन्द लिनेछु ।” यो सबैको भित्री मनसाय हो । कोही पनि काम गर्न चाहँदैन । जब उसले केही धन प्राप्त गर्दछ तब उसले आफ्नो कामबाट अवकाश लिएर आनन्द मनाउन चाहन्छ । तर त्यो सम्भव छैन । तिमी त्यसरी सुखी हुन सक्दैनौ । यहाँ भनिएको छः अपुर्नभवदर्शनम् (श्रीमद्भागवतम् १।८।२५) । वास्तविक खतरा हो...कुन्तीदेवी भन्दैहुनुहुन्छः अपुनः । अपुनः भनेको... अ भनेको होइन हो र पुर्नभव भनेको जन्म र मृत्युको चक्र हो । वास्तविक खतरा भनेको जन्म र मृत्युको चक्र हो । यसलाई रोक्नु आवश्यक छ । जीवनमा आउने तथाकथित खतराहरू वास्तविक खतरा होइनन् । यो सबै... यो भौतिक संसार खतराहरूले भरिपूर्ण छ । पदं पदं यद् विपदाम् (श्रीमद्भागवत १०।१४।५८) । जस्तो कि यदि तिमी महासागरमा छौ भने । यदि तिमी महासागरको बीचमा छौ र तिम्रो जहाज अत्यन्त मजबुत छ भने पनि, अत्यन्त सुरक्षित जहाज छ भने पनि त्यहाँ सुरक्षाको कुनै ग्यारेण्टी हुँदैन । किनभने तिमी समुद्रमा भएकाले कुनै पनि बेला त्यहाँ खतरा आउन सक्दछ । सायद तिमीलाई याद होला, तिमीहरूको देशमा एउटा पानीजहाज निर्माण गरिएको थियो, त्यो कुन हो, टाइटानिक ?

भक्तः टाइटानिक ।

प्रभुपादः सबै कुरा सुरक्षित थियो, तर पहिलो यात्रामै त्यो जहाज समुद्रमा डुब्न पुग्यो, र तिमीहरूको देशका महत्वपूर्ण मानिसहरूले आफ्नो जीवन गुमाए । अर्थात्, खतराहरू आउनेछन् किनभने तिमी खतराजनक स्थितिमा छौ । यो भौतिक संसार आफैँमा एउटा खतराजनक ठाउँ हो । अतः हाम्रो दायित्व हो...संसारमा खतराहरू छन् । अब हाम्रो उद्देश्य “यो समुद्रलाई कसरी चाँडोभन्दा चाँडो पार गर्ने” हुनुपर्दछ । जबसम्म तिमी समुद्रमा हुन्छौ तबसम्म तिमी खतराजनक परिस्थितिमा हुन्छौ, तिम्रो पानीजहाज जतिसुकै मजबुत भए तापनि । यो सत्य हो । र तिमी समुद्री ज्वारभाटाहरूबाट विचलित हुनु हुँदैन । केवल यो समुद्रलाई पार गर्र्ने प्रयास गर । समुद्रको पल्लो किनारामा पुग । तिम्रो उद्देश्य यो हुनुपर्दछ । त्यसैगरी, जबसम्म हामी यो भौतिक संसारमा छौँ, तबसम्म अनेक खतराजनक विपत्तिहरू आइरहनेछन् किनभने यो ठाउँ नै विपत्तिहरूको ठाउँ हो । अतः यी विपत्तिहरू तथा खतराहरूको बाबजुद पनि हाम्रो उद्देश्य हुनुपर्दछ, कसरी हाम्रो कृष्णभावनामृतलाई विकसित पार्ने र यो शरीर परित्याग गरेपछि, हामी भगवद्धाम अर्थात् कृष्णकहाँ फर्कनुपर्दछ । हाम्रो उद्देश्य यो हुनुपर्दछ । हामी यी तथाकथित विपत्तिहरूबाट विचलित हुनुहुँदैन । ती विपत्तिहरू वास्तविक होइनन्, तिनीहरू तथाकथित मात्र हुन् ।