NE/Prabhupada 0920 - प्राणशक्ति आत्मा उपस्थित भएको कारणले सम्पूर्ण शरीरले कार्य गरिरहेको हुन्छ



730422 - Lecture SB 01.08.30 - Los Angeles

अनुवाद : “निश्चय नै यो भ्रमित पार्ने किसिमको छ । हे सम्पूर्ण ब्रह्माण्डका आत्मा, हजुर निष्क्रिय हुनुहुन्छ तापनि हजुरले कार्य गरिरहनुभएको छ, र हजुर प्राणशक्ति तथा अजन्मा भएतापनि हजुरले जन्म लिनुहुन्छ । हजुर स्वयं पशुपक्षी, मनुष्य, ऋषिमुनि तथा जलचरहरूका बीचमा अवतार लिनुहुन्छ । यो निश्चय नै भ्रमित पार्ने किसिमको छ ।”

प्रभुपाद : अतः यहाँ कृष्णलाई विश्वात्मन् भनेर सम्बोधन गरिएको छ, अर्थात् ब्रह्माण्डका प्राणशक्ति भनेर सम्बोधन गरिएको छ । जस्तै, मेरो शरीरमा र तिम्रो शरीरमा प्राणशक्ति विद्यमान छ । त्यो प्राणशक्तिलाई आत्मा, जीवित प्राणी अथवा जीव पनि भनिन्छ । र प्राणशक्ति अर्थात् आत्मा उपस्थित रहेको कारणले सम्पूर्ण शरीरले कार्य गरिरहेको हुन्छ । त्यसैगरी संसारमा सर्वोच्च प्राणशक्ति पनि विद्यमान छ । त्यो सर्वोच्च प्राणशक्ति कृष्ण अर्थात् भगवान् हुनुहुन्छ । त्यसकारण, कृष्णले जन्म लिनु अर्थात् कृष्णको प्रकट र अप्रकट–लीलाको कुनै प्रश्न उठ्दैन । भगवद्गीतामा कृष्ण भन्नुहुन्छ : जन्म कर्म च मे दिव्यम् (भगवद्गीता ४।९) । दिव्यम् भनेको आध्यात्मिक हो । अजोऽपि सन् अव्ययात्मा । अज भनेको अजन्मा हो । अव्ययात्मा भनेको कहिल्यै पनि विनाश नहुने आत्मा हो । अतः यो स्तोत्रको शुभारम्भमा उल्लेख भएजस्तै कृष्ण नित्य रूपमा अस्तित्वमा हुनुुहुन्छ.... कुन्तीदेवीले कृष्णलाई यसप्रकार सम्बोधन गर्नुभयो : “हजुर भित्र र बाहिर सर्वत्र हुनुहुन्छ तापनि हजुर अदृश्य हुनुुहुन्छ ।” कृष्ण भित्र र बाहिर सर्वत्र हुनुहुन्छ । यो हामीले वर्णन गरिसकेका छौँ । ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति (भगवद्गीता १८।६१) । सर्वस्य चाहं हृदि सन्निविष्टः (भगवद्गीता १५।१५) । कृष्ण सबैको हृदयमा विराजमान हुनुहुुन्छ । त्यसकारण, कृष्ण सम्पूर्ण वस्तुभित्र हुनुहुन्छ । अण्डान्तर–स्थ–परमाणु–चयान्तर–स्थम् (ब्रह्म–संहिता ५।३५) । कृष्ण परमाणुभित्र समेत विराजमान हुनुुहुन्छ । साथै बाहिर पनि विराजमान हुनुुहुन्छ । कृृष्णले जुन विश्वरूपको दर्शन गराउनुभयो त्यो उहाँको बहिरंगा विशेषता हो । यो विशाल खगोलीय ब्रह्माण्ड । यो सबै कृष्णको बाह्य शरीर हो । श्रीमद्भागवतमा यसको वर्णन गरिएको छ । यी पर्वतहरू तथा हिमालयहरूलाई कृष्णको अस्थि भनेर वर्णन गरिएको छ । जस्तै, हाम्रो शरीरमा अस्थिको कारणले उठेका भागहरू छन्, त्यसैगरी, यी विशाल–विशाल पर्वत तथा हिमालयहरूलाई कृष्णको अस्थि भनेर वर्णन गरिएको छ । र यी विशाल–विशाल समुद्रहरूलाई कृष्णको शरीरमा माथि र तल रहेका प्वालहरू भनेर वर्णन गरिएको छ । त्यसैगरी, ब्रह्मलोकलाई उहाँको खप्पर मानिएको छ । त्यसकारण, जसले भगवानलाई देख्न सक्दैनन्, तिनीहरूलाई अन्य वैकल्पिक उपायहरूद्वारा भगवान्को दर्शन गर्ने उपदेश दिइएको छ । यी सबै वैदिक शास्त्रहरूका उपदेश हुन् । किनभने तिमीले केवल भगवान् महान्ताको चिन्तन गर्न सक्दछौ.... तिमीलाई यो पनि ज्ञान छैन कि कृष्ण कति महान् हुनुहुन्छ । अतः महान्तासम्बन्धी तिम्रो धारणाअनुसार... जस्तै, अत्यन्त उच्च हिमालहरू, आकाश, विशाल–विशाल ग्रहमण्डलहरू । शास्त्रहरूमा यस्तो वर्णन गएिको छ । तिमी यस्तो स्वरूपको बोध गर्न सक्दछौ । यो पनि कृष्णभावनामृत नै हो । यदि तिमीले सोच्यौ : “यो हिमाल कृष्णको अस्थि हो ।” भने त्यो पनि कृष्णभावनामृत हो । वास्तवमा यो सत्य हो । यदि तिमीले यो विशाल प्रशान्त महासागरलाई कृष्णको नाभि भनेर विचार गर्छौ | यी विशाल–विशाल वृक्ष तथा वनस्पतिहरू कृष्णको शरीरका रौँहरू हुन् । त्यसपछि, कृष्णको शिर ब्रह्मलोक हो । कृष्णको पैतला पाताल–लोक हो । त्यसैगरी....यो महतो महीयान् हो । जब तिमीले कृष्णलाई सबैभन्दा महान्भन्दा पनि महान् हुनुहुन्छ भनी चिन्तन गर्न चाहन्छौ भने तिमीले यसप्रकार चिन्तन गर्न सक्दछौ । र यदि तिमीले कृष्णलाई सबैभन्दा सूक्ष्मभन्दा पनि सूक्ष्म हुनुहुन्छ भनेर चिन्तन गर्न चाहन्छौ भने । त्यो पनि कृष्णको महान्ता हो । त्यो पनि कृष्णको महान्ता हो । कृष्णले यो विशाल खगोलीय ब्रह्माण्डको सृष्टि गर्न सक्नुहुन्छ, र कृष्णले एउटा विन्दुभन्दा पनि सूक्ष्म किराको पनि सृष्टि गर्न सक्नुहुन्छ । तिमीले कहिलेकाहीँ आफ्नो पुस्तकभित्र सानो किरा कुदिरहेको देखेका छौ । त्यसको आकार एउटा शिरविन्दुभन्दा पनि सानो हुन्छ । यो कृष्णको कला हो । अणोरणीयान् महतो महीयान् । कृष्णले सबैभन्दा विशाल वस्तु पनि सृष्टि गर्न सक्नुहुन्छ र सबैभन्दा सूक्ष्म वस्तु पनि सृष्टि गर्न सक्नुहुन्छ । अब मनुष्यहरूले आफ्नो बुद्धिअनुसार, तिनीहरूले ७४७ हवाईजहाजको निर्माण गरेका छन् जुन अत्यन्त विशाल मानिएको छ । ठीक छ । तिम्रो चेतनाअनुसार, तिमीले केही विशाल वस्तु उत्पादन गरेका छौ । तर के तिमीले एउटा लामखुट्टेजत्रो सानो हवाईजहाजका निर्माण गर्न सक्छौ ? यो सम्भव छैन । त्यसकारण, महानता भनेको सबैभन्दा विशाल वस्तुभन्दा पनि विशाल बन्न सक्नु हो । साथै, सबैभन्दा सूक्ष्म वस्तुभन्दा पनि सूूक्ष्म बन्न सक्नु पनि महानता हो ।