NE/Prabhupada 0997 - कृष्णको कार्य सबजनाको निमित्त हुन्छ । तसर्थ हामी सबजनालाई स्वागत गर्दछौं



730406 - Lecture SB 02.01.01-2 - New York


जे भए पनि यो जप धेरै शुभ छ | चैतन्य महाप्रभुले आशिर्वाद दिनुभएको छ, चेतो-दर्पण​-मार्जनं भव​-महा-दावाग्नि-निर्वापणम् (चै च अन्त्य २०|१२) | हाम्रो धारणा वा हाम्रो हृदय शुद्ध नभएको कारण हामी यस भौतिक जगतमा गु:ख भोग्दैछौं | हृदय शुद्ध छैन | यो जपले हामीलाई हृदय शुद्ध पार्न मदत गर्नेछ | शृण्वतां स्व​-कथाः कृष्णः पुण्य​-श्रवण कीर्तनः हृद्य् अन्तः स्थो अभद्राणि विधुनोति सुहृत् सताम् (श्री भा १|२|१७) | जप यति राम्रो हुन्छ कि तपाईले जप सुरु गर्नसाथ, वा कृष्णको बारेमा सुन्नसाथ- यो जप पनि कृष्ण सम्बन्धि सुन्नु हो- तत्काल शुद्धिकरणको प्रक्रिया सुरु हुन्छ, चेतो-दर्पण​-मार्जनं (सहि च अन्त्य २०|१२) | र जब हाम्रो हृदय शुद्ध हुन्छ, भव​-महा-दवाग्नि-निर्वापणम्, तब हामी यो भौतिक अस्तित्वको दन्किरहेको आगोबाट मुक्त हुन्छौं | त्यसैले जप धेरै शुभ छ, तसर्थ यहाँ शुकदेव गोस्वामी परिक्षित महाराजलाई भन्नुहुन्छ, वरीयान् एष ते प्रश्नः कृतो लोक​-हितं नृप (श्री भा २|१|१) | अर्को स्थानमा पनि सुत गोस्वामीले भन्नुहुन्छ, यत् कृतः कृष्ण​-सम्प्रश्नो ययात्मा सुप्रसीदति | जब नैमिषारण्य​मा उपस्थित महान सन्त-पुरुषहरुले कृष्णको बारेमा जिज्ञासा राख्नुभयो, उहाँले त्यसरी जवाफ दिनुभयो | यत् कृतः कृष्ण​-सम्प्रश्नः, "तपाईले कृष्णको बारेमा जिज्ञासा राखेको कारण यसले तपाईको हृदय शुद्ध पार्नेछ, येनात्मा सुप्रसीदति | तपाईले आफ्नो हृदयभित्र धेरै दिव्य आनन्द अनुभव गर्नुहुनेछ | वरीयान् एष ते प्रश्नः कृतो लोक​-हितम् (श्री भा २|१|१) | लोक​-हितम् | वास्तवमा हाम्रो अभियान मानव समाजको निमित्त प्रमुख कल्याणकारी गतिविधि हो, लोक-हितम् | यो एउटा व्यापार होइन | व्यापार भनेको मेरो हितम्, मेरोमात्र लाभ | यो त्यस्तो होइन | यो कृष्णको व्यापार हो | कृष्णको व्यापार अर्थात् कृष्ण सबजनाको निमित्त हुनुहुन्छ; तसर्थ कृष्णको व्यापार सबजनाको निमित्त हो | तसर्थ हामी सबजनालाई स्वागत गर्छौं | कुनै भेद छैन | "यहाँ आऊ र जप," लोक-हितम् | र एक साधु, सन्त पुरुषए सधै लोक-हितम् सम्बन्धि सोच्नुपर्छ | साधु र साधारण मानिसबीचको भिन्नता यहि हो | साधारण मानिसले केवल आफ्नो बारेमा वा "विस्तारित रुपमा आफ्नो बारेमा" सोच्छ, परिवारको निमित्त, समुदायको निमित्त, समाजको निमित्त, राष्ट्रको निमित्त | यी सब विस्तारित स्वार्थ हुन् | विस्तारित | जब म एक्लो हुन्छु, तब मैले केवल मेरो लाभको बारेमा सोच्छु | जब म थोरै हुर्किन्छु, तब म आफ्ना दाजु-बहिनीको बारेमा सोच्छु, र जब म थोरै विकसित हुन्छु, तब म मेरो परिवारको बारेमा सोच्छु | थोरै विकसित, म मेरो समुदायको बारेमा सोच्छु | थोरै विकसित, म मेरो राष्ट्रको बारेमा सोच्छु | वा म सम्पूर्ण मानव समुदायको बारेमा अन्तर्राष्ट्रिय रुपमा सोच्छु | तर कृष्ण यति महान हुनुहुन्छ कि उहाँले सबजनालाई समाहित गर्नुहुन्छ | मानव समाजमात्र होइन, पशु समाज, पंक्षी समाज, रुख समाज- सबै | कृष्ण भन्नुहुन्छ, अहं बीज​-प्रदः पिता (भ गी १४|४): "म यी सम्पूर्ण रुपको बिज प्रदायक पिता हुँ |"