NE/Prabhupada 0288 - जब तपाई भगवानको बारेमा बोल्नुहुन्छ, के तपाईलाई थाहा छ कि भगवानको परिभाषा के हो?



Lecture -- Seattle, September 30, 1968


अतिथि: हुन सक्छ हजुरले यसको जवाफ पहिल्यै दिनुभयो | म पक्का छैन | मैले सुनिनँ | तर मलाई बच्चादेखि सिकाइन्थ्यो कि भगवानलाई प्रेम गर्नुपर्छ र मैले सबैलाई प्रेम गर्न सक्छु | के कृष्ण भगवान् हुनुहुन्छ ?

प्रभुपाद: हो | तपाईसँग अरु कुनै भगवान् हुनुहुन्छ ? कृष्ण बाहेक अरु कुनै भगवान् हुनुहुन्छ ?

अतिथि: अँ, प्रश्न के थियो ? ओहो, छैन, छैन.....

प्रभुपाद: केवल भगवानलाई बुझ्ने प्रयास गर्नुहोस् |

अतिथि: मलाई थाहा थिएन कि कृष्ण भगवान् हुनुहुन्छ |

प्रभुपाद: होइन, सबै कुराको व्याख्या छ | जस्तै यदि मैले "यो घडी हो" भन्छु भने यसको व्याख्या छ | घडी भनेको यो गोलो हुन्छ र यसमा एउटा सेतो सुई र दुइटा हात हुन्छ, यसमा समय जनाउने धेरै चिह्न हुन्छन् | त्यसरी नै मैले तपाईलाई विवरण दिन सक्छु | तपाईले जे देख्नुहुन्छ वा अनुभव गर्नुहुन्छ वा बुझ्ने प्रयास गर्नुहुन्छ, त्यसको कुनै व्याख्या हुनुपर्छ | त्यसैले जब तपाई भगवानको बारेमा बोल्नुहुन्छ, के तपाईलाई थाहा छ कि भगवानको परिभाषा के हो ?

अतिथि: हो | मलाई लाग्थ्यो उहाँ प्रेम हुनुहुन्छ |

प्रभुपाद: प्रेम परिभाषा होइन; प्रेम कार्य हो | हो, प्रेम | म भगवानलाई प्रेम गर्छु | प्रेम मेरो कार्य हो | तर भगवानको केहि परिभाषा हुनुपर्छ | त्यो पनि तपाईलाई थाहा छ | तपाईले अहिले बिर्सनुभयो | अब, एक शब्दमा तिनीहरु भन्छन् "भगवान् महान हुनुहुन्छ |" तपाईले कसैको महानता कसरी परिक्षण गर्नुहुन्छ ? अर्को कुरा | यदि तपाईले "यो मानिस धेरै महान छ" भन्नुहुन्छ भने यसको कुनै धारणा हुनुपर्छ, तपाईले कसरी उसको महानताको अनुमान गर्न सक्नुहुन्छ | धारणाका विभिन्न स्तर हुन्छन् | तपाईले कसरी बुझ्नुहुन्छ कि भगवान् महान हुनुहुन्छ ? भगवान् महान हुनुहुन्छ भन्ने बयानमा तपाईको आधार के छ ? जस्तै तपाईको बाइबलमा भनिएको छ,"भगवानले भन्नुभयो 'सृष्टि होस्,' र सृष्टि भयो |" के यो होइन ? के यो बयान छैन ? यहाँ महानता छ | उहाँले केवल "सृष्टि होस्" भन्नुभयो र सृष्टि भयो | के तपाई त्यस्तो गर्न सक्नुहुन्छ ? मानौं तपाई धेरै राम्रो सिकर्मी हुनुहुन्छ | के तपाई भन्न सक्नुहुन्छ,"एउटा कुर्सी बनोस्," र अचानक कुर्सी आउँछ ? के यो सम्भव छ ? मानौं तपाई यो घडीको उत्पादक हुनुहुन्छ | के तपाई भन्न सक्नुहुन्छ कि "मैले घडी बनोस् भनें," र तत्काल घडी उत्पन्न भयो ? त्यो सम्भव छैन | तसर्थ भगवानको नाम सत्य-सङ्कल्प हो | सत्य-सङ्कल्प भनेको उहाँले जे सोच्नुहुन्छ, त्यो तत्काल उपस्थित हुन्छ | भगवानमात्र होइन तर जसले योगीक सिद्धि प्राप्त गरेका छन्, तिनीहरु भगवान् जस्तो इच्छा गर्न सक्दैनन्, तर लगभग गर्न सक्छन् | आश्चर्यजनक वस्तुहरु...... एउटा सिद्धि प्राप्त गरेको योगीले "म यो चाहन्छु" भनेर इच्छा गर्यो भने तत्काल त्यो कुरा प्रकट हुन्छ | यसलाई सत्य-सङ्कल्प भनिन्छ | धेरै उदाहरणहरु छन् | त्यो महानता हो | मैले के....... जस्तै आधुनिक वैज्ञानिकहरु, तिनीहरु चन्द्र ग्रहसम्म पुग्न कुनै यन्त्रलाई राम्रो गतिमा उडाउन प्रयासरत छन् | अमेरिका, रुस र अरु देशहरुका धेरै वैज्ञानिकहरु प्रयासरत छन् | तर तिनिहरुले सक्दैनन् | तिनीहरुको स्पुत्निक फर्किंदैछ | तर भगवानको शक्तिलाई हेर्नुहोस् त | लाखौं ग्रहहरु कपास जसरी तैरिंदैछन् | यो महानता हो | त्यसैले यदि कुनै बेकार मानिसले "म भगवान हुँ" भन्छ भने ऊ धुर्त हो | भगवान् महान हुनुहुन्छ | तपाईले आफ्नो तुलना भगवानसँग गर्न सक्नुहुन्न | कुनै तुलना छैन | तर धूर्तता चल्दैछ | "सबजना भगवान् हुन् | म भगवान् हुँ, तिमी भगवान् हौ"- तब ऊ कुकुर हो | तपाईले भगवानको शक्ति देखाउन सक्नुहुन्छ भने तपाईले भन्न सक्नुहुन्छ | पहिले योग्य हुनुहोस्, त्यसपछि इच्छा गर्नुहोस् | हामीसँग के शक्ति छ ? हामी सधैं निर्भर छौं | भगवान् महान हुनुहुन्छ र हामी भगवानमाथि निर्भर छौं | तसर्थ प्राकृतिक निष्कर्ष भनेको हामीले भगवानको सेवा गर्नुपर्छ | त्यो सम्पूर्ण सार हो (अस्पष्ट) | सेवा गर्नु भनेको प्रेमपूर्वक | अब, जस्तै यी युवाहरु, मेरा शिष्यहरुले मेरो सेवा गर्दैछन् | मैले जे भन्छु, उनीहरु तत्काल सम्पन्न गर्छन् | किन ? म एक भारतीय हुँ, म एक विदेशी हुँ | दुई वा तीन वर्ष अगाडि उनीहरुले मलाई चिन्दैनथे, न मैले उनीहरुलाई चिन्थें | उनीहरुले किन यसो गर्दैछन् ? किनकि यहाँ प्रेम छ | सेवा गर्नु भनेको प्रेम विकास गर्नु | त्यसैले जबसम्म तपाईले भगवानप्रतिको आफ्नो प्रेम विकास गर्नुहुन्न, तबसम्म तपाईले उहाँको सेवा गर्न सक्नुहुन्न | जहाँ पनि | जब तपाईले कुनै सेवा गर्नुहुन्छ, त्यो प्रेममा आधारित हुन्छ | जस्तै आमाले अवोध शिशुको सेवा गर्छिन् | किन ? प्रेम | त्यसैगरी, हाम्रो जीवन तब पूर्ण हुन्छ, जब पूर्ण पुरुषोत्तम भगवानसँगको हाम्रो प्रेम पूर्ण हुन्छ | तब यो ठिक हुन्छ | तपाईले यो सिक्नुपर्छ | यो कृष्ण भावना हो- कृष्णसँग सम्बन्धित | जस्तै मैले आफ्ना शिष्यहरुलाई प्रेम गर्दैछु, मेरा शिष्यहरुले मलाई प्रेम गर्दैछन् | किन ? माध्यम के हो ? कृष्ण |