NE/Prabhupada 0293 - बाह्र प्रकारका रस, भाव



Lecture -- Seattle, October 4, 1968


कृष्ण भनेको "सर्व-आकर्षक |" उहाँ प्रेमीको लागि आकर्षक हुनुहुन्छ, उहाँ बुद्धिमानको लागि आकर्षक हुनुहुन्छ, उहाँ राजनीतिज्ञको लागि आकर्षक हुनुहुन्छ,उहाँ वैज्ञानिकको लागि आकर्षक हुनुहुन्छ,उहाँ ठगको लागि आकर्षक हुनुहुन्छ | ठग पनि | कृष्ण कंसको अखडामा प्रवेश गर्नुहुँदा विभिन्न प्रकारका मानिसले उहाँलाई विभिन्न रुपमा देखे | जसलाई वृन्दावनबाट आमन्त्रित गरिएको थियो, उनीहरु युवती थिए | उनीहरुले "ओहो, सबभन्दा सुन्दर व्यक्ति" भनेर कृष्णलाई देखे | जो पहलवान थिए, तिनीहरुले कृष्णलाई वज्रको रुपमा देखे | उनीहरुले पनि कृष्णलाई देखे तर तिनीहरुले भने कि "ओहो, यहाँ वज्र छ |" तपाई जतिसुकै बलवान भए पनि वज्र खस्यो भने सबै कुरा समाप्त हुन्छ | ती पहलवानले कृष्णलाई वज्रको रुपमा देखे | र वृद्ध पुरुषहरु, वृद्ध महिलाहरुले कृष्णलाई प्रिय बालकको रुपमा देखे | त्यसैगरी तपाईले पनि कृष्णसँग कुनै पनि रुपमा सम्बन्ध स्थापना गर्न सक्नुहुन्छ | बाह्र प्रकारका रसहरु छन् | जस्तै कहिलेकहीं हामीले कुनै नाटकमा धेरै घृणास्पद वा भयानक दृश्य देख्छौं | कसैले कसैको हत्या गर्दै हुन्छ र हामीले त्यसमा आनन्द लिन्छौं | केहि मानिसहरु हुन्छन्........ विभिन्न प्रकारका मनोरन्जनात्मक क्रियाकलापहरु छन् | मन्ट्रियलमा हाम्रो एक शिष्य छन्, उनले भन्दै थिए कि उनका पिताले स्पेनमा हुने साँढेको लडाईंमा आनन्द लिन्थे | जब साँढेलाई लडाईंमा मारिन्थ्यो, उनले आनन्द लिन्थे- विभिन्न किसिमका मानिसहरू छन् | एउटा मानिसले "यो भयानक छ" भनेर हेर्छ र अर्को आनिसले आनन्द लिन्छ "ओहो, यो धेरै राम्रो छ |" तपाईले बुझ्नुहुन्छ ? कृष्णले समायोजन गर्न सक्नुहुन्छ | यदि तपाई भयानक वस्तुलाई प्रेम गर्न चाहनुहुन्छ भने कृष्णले आफुलाई नृसिंहदेव​को रुपमा प्रस्तुत गर्न सक्नुहुन्छ, "ओहो |" (हाँसो) हो | र यदि तपाई कृष्णलाई धेरै प्रिय मित्रको रुपमा देख्न चाहनुहुन्छ भने उहाँ वंशी-धारी, वृन्दावन-विहारी बन्नुहुन्छ | यदि तपाई कृष्णलाई प्रिय बच्चाको रुपमा देख्न चाहनुहुन्छ भने उहाँ गोपाल बन्नुहुन्छ | यदि तपाई कृष्णलाई प्रिय मित्रको रुपमा देख्न चाहनुहुन्छ भने अर्जुनको उदाहरण देख्न सक्नुहुन्छ | जस्तै अर्जुन र कृष्ण | यसरी बाह्र प्रकारका रसहरु छन् |

कृष्ण सम्पूर्ण किसिमको रसमा समायोजित हुन सक्नुहुन्छ; तसर्थ उहाँको नाम अखिल-रसामृत-सिन्धु हो | अखिल-रसामृत-सिन्धु | अखिल भनेको सार्वभौमिक; रस भनेको मधुरता र सिन्धु भनेको समुद्र | जस्तै यदि तपाईले पानी पत्ता लगाउन चाहनुहुन्छ र यदि तपाई प्रशान्त महासागर अगाडि जानुहुन्छ भने तपाईले असिमित पानी पाउनुहुन्छ | त्यहाँ हुने पानीको मात्राको कुनै तुलना छैन | त्यसैगरी, यदि तपाई केहि इच्छा गरेर कृष्ण समक्ष जानुहुन्छ भने तपाईले समुद्र जस्तै असिमित आपूर्ति पाउनुहुनेछ | तसर्थ भगवद् गीतामा भनिएको छ, यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः | यदि कोहि भगवान् समक्ष जान वा भगवानलाई प्राप्त गर्न सक्छ भने ऊ सन्तुष्ट हुनेछ र उसले भन्नेछ "ओहो, मेरो अरु कुनै इच्छा छैन | मसँग सबै कुरा पूर्ण रुपमा छ, म पूर्ण सन्तुष्ट छु |" यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः यस्मिन् स्थिते | र यदि कोहि त्यस दिव्य स्तरमा अवस्थित हुन्छ भने के हुन्छ ? गुरुणापि दुःखेन न विचाल्यते (भ गी ६|२०-२३) | यदि दुःखको धेरै कठिन परिक्षा भयो भने पनि ऊ पछि हट्दैन | श्रीमद् भागवतममा धेरै उदाहरणहरु छन् | जस्तै भगवद् गीतामा पाण्डवहरुलाई धेरै पीडादायी स्थितिमा राखिएको थियो, तर उनीहरु कहिल्यै पछि हटेनन् | उनीहरुले कहिल्यै कृष्णलाई सोधेनन् "मेरो प्रिय कृष्ण, हजुर हामी पाण्डवहरुको मित्र हुनुहुन्छ | हामी यस्तो कठिनाईको परिक्षाबाट किन गुज्रिनुपरेको ?" उनीहरुले कहिल्यै सोधेनन् | किनकि उनीहरु विश्वस्त थिए कि "यी सम्पूर्ण दु:ख पश्चात् पनि हामी विजयी हुनेछौं किनकि हामीसँग कृष्ण हुनुहुन्छ | किनकि कृष्ण हुनुहुन्छ |" यो आत्मविश्वास | यसलाई शरणागति, आत्मसमर्पण भनिन्छ |