NE/Prabhupada 0819 - आश्रम भनेको आध्यात्मिक संस्कार सिक्ने वातावरण

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 2.1.2-5 -- Montreal, October 23, 1968


प्रभुपादः श्रोतव्यादीनि राजेन्द्र नृणां सन्ति सहस्रशः अपश्यतां आत्मतत्वं गृहेषु गृहमेधिनाम् ।। (श्रीमद्भागवतम् २।१।२) तिनीहरूकै विषयवस्तुका बारेमा, जो अति नै आसक्त छन् पारिवारिक गतिविधिहरूमा, गृहेषु गृहमेधिनाम् । गृहमेधि भनेको घरलाई नै आफ्ना गतिविधिहरूको केन्द्रविन्दु बनाउने मानिस हो । उसलाई गृहमेधि भनिन्छ । यो सम्बन्धमा दुईओटा शब्दहरू प्रयोग हुन्छन् । एउटा शब्द गृहस्थ हो र अर्को शब्द गृहमेधि हो । यी दुई शब्दहरूको महत्व के छ ? गृहस्थ भनेको... गृहस्थ मात्र होइन । यसलाई गृहस्थ–आश्रम भनिन्छ । जब हामी आश्रमको कुरा गर्दछौँ, यसको आध्यात्मिक सम्बन्ध हुन्छ । त्यसकारण, वर्णाश्रम धर्मका यी सबै चार आश्रमहरू – ब्रह्मचारी आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम र संन्यास आश्रम । आश्रम । आश्रम भनेको...जबजब...आजभोलि तपाईंहरूको देशमा पनि यो शब्द अलिअलि प्रसिद्ध भएको छ । आश्रम भनेको आध्यात्मिक संस्कार सिक्ने वातावरण हो । साधारणतया, हामी यो बुझ्दछौँ । र यहाँ पनि अनेकौँ योग आश्रमहरू खुलेका छन् । मैले न्यूयोर्कमा यस्ता अनेकौँ आश्रमहरू देखेको छु । “न्यूयोर्क योग आश्रम,” “योग समाज,” इत्यादि । आश्रम भनेको आध्यात्मिक सम्बन्ध हुने स्थान हो । मानिस गृहस्थ होस् वा जेसुकै होस् यसले फरक पार्दैन...गृहस्थ भनेको परिवार, श्रीमती तथा सन्तानहरूसँग बस्ने मानिस भन्ने बुझिन्छ । त्यसकारण, परिवार तथा सन्तानहरूसँग बस्दैमा जीवनमा आध्यात्मिक प्रगति गर्न सकिँदैन भन्नु गलत हो । त्यो अयोग्यता होइन किनभने आखिर सबैले आफ्ना पिता र माताबाट नै जन्म लिने हो । त्यसकारण, सम्पूर्ण महान् आचार्यहरू तथा महान् आध्यात्मिक सन्तहरू आखिर सबैजना आफ्ना पिता तथा माताबाट नै उत्पन्न भएका हुन् । त्यसकारण, पिता र माताको समागमबिना कुनै महान् आत्मा जन्माउने सम्भावना पनि हुँदैन । इतिहासमा यस्ता अनेकौँ महान् पुरुषहरू प्रकट भएका थिए । जस्तैः शंकराचार्य, प्रभु यशु ख्रीष्ट, रामानुजाचार्य आदि । उहाँहरूको वंश पनि त्यति धेरै उच्च थिएन, तापनि उहाँहरूले पनि गृहस्थ अर्थात् पिता र माताबाट नै जन्म लिनुभएको थियो । त्यसकारण, गृहस्थ अर्थात् गृहस्थ जीवन भनेको कुनै अयोग्यता होइन । हामीले सोच्नुहुँदैन कि केवल ब्रह्मचारी अथवा संन्यासीहरू, तिनीहरू आध्यात्मिक स्तरमा पुग्न सक्दछन्, जबकी आफ्नी श्रीमती तथा सन्तानहरूसँग बस्ने मानिसहरूले सक्दैनन् । यो सत्य होइन । श्रीचैतन्य महाप्रभुले चैतन्य चरितामृतमा स्पष्ट रुपले उल्लेख गर्नुभएको छ कि किबा विप्र, किबा न्यासी, शूद्र केने नय येइ कृष्णतत्ववेत्ता सेइ गुरु हय ।। (श्रीचैतन्य चरितामृत मध्यलीला ८।१२८) श्रीचैतन्य महाप्रभुले भन्नुभयो,“यसले केही पनि फरक पार्दैन, मानिस या त गृहस्थ होस्, अथवा संन्यासी अथवा ब्राह्मण होस् अथवा ब्राह्मण नहोस् । यसले केही फरक पार्दैन । केवल यदि कोही कृष्णभावनाभावित छ भने, यदि ऊ कृष्णभावनामा विकसित भएको छ भने, त्यसपछि ऊ, मेरो मतलब, गुरु बन्न योग्य हुन्छ । येइ कृष्णतत्ववेत्ता सेइ गुरु हय (चैतन्य चरितामृत ८।१२८) । तत्व–वेत्ता भनेको कृष्णको विज्ञानलाई बुझ्ने मानिस हो । त्यसको अर्थ पूर्णतः कृष्णभावनाभावित हुनु हो । सेइ गुरु हय । सेइ भनेको “ऊ” हो । गुरु भनेको “आध्यात्मिक शिक्षक” हो । गुरुले भन्नुहुन्न कि “मानिस संन्यासी अथवा ब्रह्मचारी बन्नुपर्दछ । त्यसपछि, उसले...” होइन । तर यहाँ गृहस्थ होइन गृहमेधि भन्ने शब्द प्रयोग भएको छ । गृहस्थलाई बहिष्कार गरिएको छैन । यदि कोही आफ्नी पत्नी तथा सन्तानहरूसँग नियमपूर्वक बस्दछ भने त्यो अयोग्यता होइन । तर गृहमेधि, गृहमेधि भनेको ऊसँग आध्यात्मिक जीवनबारे कुनै उच्च ज्ञान अथवा उच्च विचार छैन । केवल कुकुर र बिरालोजस्तै आफ्नी श्रीमती तथा सन्तानसँग बस्ने मानिसलाई गृहमेधि भनिन्छ । गृहमेधि तथा गृहस्थ, यी दुई शब्दहरूबीच भएको भिन्नता यही हो ।