NE/Prabhupada 0830 - यो वैष्णव दर्शन हो । हामी दास बन्ने प्रयास गरिरहेका छौं



Lecture on SB 1.2.30 -- Vrndavana, November 9, 1972


त्यसकारण, कृष्ण विभु हुनुहुन्छ; हामी अणु छौँ । आफूलाई कहिल्यै पनि कृष्णसँग बराबर छु भन्ने नसोच । यो एउटा महान् भूल हो । त्यसलाई माया भनिन्छ । यही नै मायाको अन्तिम पासो हो । वास्तवमा हामी यो भौतिक संसारमा कृष्णजस्तै हुनका लागि आएका हौँ । हामीले सोच्यौँ कि हामी पनि कृष्ण बन्नेछौँ । कृष्ण–भुलिया जीव भोगवाञ्छा करे । पसेते माया तारे जापटिया धरे (प्रेम–विवर्त) ।। हामीले कृष्णसँग एक हुने चाहना गरेको कारणले, हामीले कृष्णसँग प्रतिस्पर्धा गर्न चाहेको कारणले, त्यसकारण, हामी यो भौतिक संसारमा फसेका हौँ । माया तारे जापटिया धरे । र यहाँ भौतिक संसारमा यही चलिरहेको छ । सबैजना कृष्ण बन्न खोजिरहेका छन् । यो माया हो । सबैजना । “सर्वप्रथम, मलाई ठूलो मानिस बन्न देऊ; त्यसपछि, मलाई मन्त्री बन्न देऊ, मलाई राष्ट्रपति बन्न देऊ ।” यसप्रकार, जब सबै कुरा असफल हुन्छ तब ऊ भन्दछ “म अब भगवान्को अस्तित्वमा बिलीन हुन चाहन्छु ।” त्यसको अर्थ हो, “म भगवान् बन्न चाहन्छु ।” आजभोलि यही चलिरहेको छ । बाँच्नका लागि भौतिक संघर्ष भनेको यही नै हो । सबैजना कृष्ण बन्ने प्रयास गरिरहेका छन् । तर हाम्रो दर्शन–सिद्धान्त फरक छ । हामी कृष्ण बन्न चाहँदैनौँ । हामी कृष्णको नोकर बन्न चाहन्छौँ । मायावाद दर्शन र वैष्णव दर्शनबीच हुने भिन्नता यही नै हो । श्रीचैतन्य महाप्रभु हामीलाई सिकाउनु ुहुन्छ कृष्णको दासको पनि दासको दासको पनि दास बन्न चाहन्छु । गोपीभर्तुः पदकमलयोर् दास–दास–दासानुदासः (चै.च. मध्यलीला १३।८०) । जुन मानिस कृष्णको दासमध्ये सबैभन्दा तल्लो श्रेणीको छ, ऊ नै प्रथम श्रेणीको वैष्णव हो । ऊ प्रथम श्रेणीको वैष्णव हो । त्यसकारण, श्रीचैतन्य महाप्रभु हामीलाई सिकाउनुहुन्छः तृणादपि सुनीचेन तरोरपि सहिष्णुना अमानिना मानदेन कीर्तनीय सदा हरिः ।। (चै.च. आदिलीला १७।३१) यही नै वैष्णव दर्शन हो । हामी दास बन्ने प्रयास गरिरहेका छौँ । हामी कुनै पनि भौतिक पहिचान बनाउँदैनौँ । जब हामी आफ्नो भौतिक पहिचान बनाउन थाल्दछौँ तब हामी तत्काल मायाको फन्दामा पर्दछौँ । कृष्ण–भुलिया । किनभने जब मैले कृष्णसँगको सम्बन्ध भुल्दछु.... कि म कृष्णको शाश्वत सेवक हुँ । श्रीचैतन्य महाप्रभु भन्नुहुन्छ, जीवेर स्वरूप हय नित्य कृष्ण दास (चै.च. मध्यलीला २०।१०८–१०९) । यही नै जीवको शाश्वत पहिचान हो, कृष्णको सेवक बन्नु । जब हामी यो भुल्दछौँ, तब त्यो माया हो । जब हामी आफूलाई “म कृष्ण हुँ” भन्ने ठान्दछौँ, त्यो माया हो । त्यो माया अर्थात् भ्रमलाई ज्ञानमा प्रगति गरेर परित्याग गर्न सकिन्छ । त्यसलाई ज्ञानी भनिन्छ । ज्ञानी भनेको यथार्थ ज्ञान पाएको व्यक्ति अर्थात् आफ्नो वास्तविक स्वरूपलाई जान्ने व्यक्ति हो । “म भगवान्समान छु । म भगवान् हुँ ।” भनेर सोच्नु ज्ञान होइन । यो ज्ञान होइन । म भगवान् हुँ, तर म भगवान्को एउटा नमुना मात्र हँु । तर परम भगवान् कृष्ण नै हुनुहुन्छ । ईश्वरः परमः कृष्णः (ब्रह्म–संहिता ५।१)