NE/Prabhupada 0840 - एउटी वेश्या थिई जसको मूल्य हिराका एक लाख टुक्राहरू थियो



751204 - Lecture SB 07.06.03 - Vrndavana


म अब लक्षहीरा नाम भएकी एउटी वेश्याको कथा सुनाउँदैछु । एउटी वेश्या थिई । उसको मूल्य थियोः हिराका एक लाख टुक्राहरू । हिरा सानो होस् कि ठूलो, त्यसको हिसाब थिएन । त्यही नै उसको मूल्य थियो । र त्यो ठाउँमा एउटा कुष्ठरोगी मानिस पनि बस्दथ्यो र उसलाई... उसलाई उसकी श्रीमतीले स्याहारसुसार गर्दथिन् । उनी अत्यन्त सती श्रीमती थिईन् । तर पनि त्यो मानिस सधैँ दुःखी भइरहन्थ्यो । अनि उसकी श्रीमतीले उसलाई सोधिन्, “हजुर किन दुःखी हुनुहुन्छ ?” म हजुरको यति धेरै सेवा गरिरहेकी छु । हजुर कुष्ठरोगी हुनुहुन्छ, हजुर यताउती हिँड्न सक्नुहुन्न । म हजुरलाई टोकरीमा बोकेर घुमाउन सक्छु । तपाईं अझै पनि दुःखी हुनुहुन्छ ?” अनि उसले स्वीकार ग¥यो, “हो, म दुःखी छु ।” अनि श्रीमतीले भनिन्, “ओहो, हजुरको दुःखको कारण के हो ?” “अब, म लक्षहीरा वेश्याकहाँ जान चाहन्छु ।” हेर्नुहोस् त । ऊ एउटा कुष्ठरोगी हो तापनि ऊ वेश्याकहाँ जान चाहन्छ । अब कसले एक लाख हिराका टुक्राहरू तिरीदिन्छ ? तर उसकी श्रीमती एउटी सती नारी थिइन् । उनी आफ्ना श्रीमान्लाई सन्तुष्ट पार्न चाहन्थिन् । त्यसकारण, उनले कहीँ–कतैबाट त्यसको प्रबन्ध मिलाइन् । त्यसपछि, जब त्यो कुष्ठरोगी त्यो वेश्याको घरमा थियो,। तब त्यो वेश्याले उसलाई अत्यन्त स्वादिष्ट भोजन टक्र्याई, तर सबै व्यञ्जनहरू दुई–दुईओटा थालीमा राखिएका थिएः एउटा सुनको थालीमा र अर्को फलामको थालीमा । जब उसले भोजन खाइरहेको थियो तब उसले त्यो वेश्यालाई सोध्यो, “तिमीले मलाई किन दुई–दुईओटा भाँडोमा भोजन पस्केकी हौ ?” “किनकी म जान्न चाहन्थेँ कि तपाईंलाई यी भिन्न–भिन्न भाँडामा राखिएका व्यञ्जनहरूको स्वाद पनि भिन्ना–भिन्नै लाग्छ कि लाग्दैन ।” त्यसैले, उसले भन्यो, “होइन, मलाई भोजनको स्वाद फरक लागिरहेको छैन । सुनको भाँडामा राखिएको रस र फलामको भाँडामा राखिएको रसको स्वाद एउटै छ ।” “त्यसोभए, तपाईं किन यहाँ आउनुभएको हो ?” यो मूर्खता हो । सम्पूर्ण संसार नै यसरी चलिरहेको छ । तिनीहरू केवल एउटै वस्तुलाई भिन्न–भिन्न भाँडामा राखेर आस्वादन गर्न चाहन्छन् । यत्ति हो । उनीहरू त्यसबाट वाक्क–दिक्क पनि भएका छैनन्, “अब पुग्यो । मैले धेरै खाइसकेँ ।” त्यो सत्य होइन । सही त वैराग्य विद्या होः अब स्वाद लिन बन्द गर्नुपर्दछ । “मैले यो भाँडामा खाए पनि त्यो भाँडामा खाए पनि स्वाद एउटै हो ।” त्यसकारण, भनिएको छ कि, सुखमैन्द्रियकम्, इन्द्रियतृप्ति, तपाईं कुकुर अथवा मनुष्य अथवा देवता बनेर भोग गर्नुहोस्, यसले केही फरक पर्दैन, अथवा तपाईं यूरोपियन अथवा अमेरिकी अथवा भारतीय जे बन्नुहोस्ः स्वाद एउटै हो । यो बुझ्नु अत्यन्त महत्वपूर्ण छ । तपाईंले त्योभन्दा उच्च स्वाद पाउनै सक्नुहुन्न । उत्तम स्वाद भनेको केवल कृष्णभावनामृत नै हो । परं दृष्ट्वा निवर्तते (भगवद्गीता २।५९) । त्यसकारण, यदि तपाईं कृष्णभावनामृतको स्वादलाई वृद्धि गर्नुहुन्न भने तपाईं यो भाँडाबाट अथवा त्यो भाँडाबाट स्वाद लिने प्रयास गर्नुहुनेछ । यही नियम हो । तपाईं यही काम गरिरहनुहुन्छ भने तपाईंको रोग पनि रहिरहन्छ, यो भाँडाबाट खाने र त्यो भाँडाबाट खानेः “सायद यो भाँडाको भोजन स्वादिलो होला, अथवा त्यो भाँडोको....” सम्पूर्ण संसार नै यसरी चलिरहेको छ । यी सम्पूर्ण बदमाशहरू मैथुनको स्वाद लिनका लागि विभिन्न देशमा भ्रमण गर्दछन् । तिनीहरू पेरीस जान्छन्....(मौन) ...सुखमैन्द्रियकं दैत्या, सर्वत्र लभ्यते दैवाद्यथा दुःखम् (श्रीमद्भागवतम् ७।६।३) । दुःखजस्तै । दुःख भनेको निराशा हो । मानौँ, एउटा करोडपति टायफायडबाट ग्रस्त छ र एउटा गरिब मानिस पनि टायफायडबाट ग्रस्त छ । त्यसोभए, के करोडपतिको पीडा त्यो गरिबको पीडाभन्दा थोरै हुन्छ र ? जब तपाईंलाई टायफायड हुन्छ तब तपाईं धनी अथवा गरिब, जे भए पनि, टायफायडको लक्षण एउटै हुन्छ । यस्तो होइन कि “ओहो, यो मानिस अत्यन्त धनी छ । त्यसकारण, उसलाई टायफायड रोग लाग्न सक्दैन ।” यस्तो हँुदैन । जसरी दुःख सबै भाँडाहरूमा समान हुन्छ, त्यसैगरी, सुख पनि सबै भाँडाहरूमा समान नै हुन्छ । यही नै ज्ञान हो । त्यसोभए म किन आफ्नो समय व्यर्थमा नष्ट गर्ने, भिन्न–भिन्न भाँडामा राखिएका सुख र दुःखको स्वाद लिनका लागि ? भिन्न–भिन्न भाँडाहरू भनेको भिन्न–भिन्न शरीर हो । त्यसकारण, हाम्रो दायित्व यो होइन । हाम्रो दायित्व भनेको हाम्रो वास्तविक चेतना अर्थात् कृष्णचेतनालाई पुर्नजागृत गर्नु हो । यसले फरक पार्दैन कि म हाल कुन भाँडाभित्र छु । अहैतुक्यप्रतिहता (श्रीमद्भागवत १।२।६) । तपाईं कुनै पनि आनाकानी नगरीकन कृष्णभावनामृतको आस्वादन गर्न सक्नुहुन्छ, कुनै पनि अवरोधबिना, कुनै पनि रुकावटबिना । तपाईं सक्नुहुन्छ । तपाईंले केवल आफ्नो भित्री चेतनालाई नियालेर त्यसलाई सुधार्नुपर्दछ । मनुष्य जीवनमा यो गर्नु आवश्यक छ । र त्यसकारण, प्रल्हाद महाराज सुरुमै भन्नुभयो, “दुर्लभं मानुषं जन्म” (श्रीमद्भागवत ७।६।१) । यो बोध अर्थात् यो ज्ञान केवल मनुष्य जीवनमा मात्र प्राप्त गर्न सकिन्छ । यो सुख र दुःखको वर्णन केवल एउटा मनुष्यलाई सुनाउन सकिन्छ । यदि मैले तीन दर्जन कुकुरहरूलाई बोलाएर उनीहरूलाई भागवत सुनाउन लागेँ भने यो सम्भव हुँदैन । एउटा कुकुरले श्रीमद्भागवतम्लाई बुझ्न सक्दैन तर एउटा मनुष्यले सक्दछ । ऊ जतिसुकै तल्लो स्तरको भए पनि यदि उसँग अलिकति बुद्धि छ भने उसले श्रीमद्भागवतलाई बुझ्न सक्दछ । त्यसकारण, प्रल्हाद महाराजले भन्नुभयो, “दुर्लभं मानुषं जन्म ।” तिमीहरूले भागवत धर्मलाई बुझ्ने अवसर प्राप्त गरेका छौ । कुकुर र बिरालोजस्तै भएर यो अवसर नगुमाऊ ।

धेरै धेरै धन्यवाद ।