NE/Prabhupada 0876 - जब तपाईं आध्यात्मिक आनन्दको सागरमा आउनुहुन्छ, तब यो दैनिक रूपमा वृद्धि भइरहनेछ



750519 - Lecture SB - Melbourne


प्रभुपादः कैरवचन्द्रिकाजस्तै, चन्द्रमाजस्तै, पहिलो दिनमा चन्द्रमा एउटा रेखाजस्तो देखिन्छ, त्यसपछि, यो क्रमशः वृद्धि हुँदै जान्छ – त्यसको आकार तथा किरण दुवै बढ्दै जान्छ । त्यसकारण, यहाँ यो उदाहरण दिइएको छ । तपाईं जति मात्रामा कृष्णभावनाभावित बन्नुहुन्छ, तपाईंको जीवनको प्रकाश त्यति मात्रामा बढ्नेछ । श्रेयः कैरवचन्द्रिकावितरणं विद्यावधूजीवनम् । त्यसपछि, यो जीवन पूर्ण ज्ञानमय हुनेछ । विद्या–वधू–जीवनम् । आनन्दाम्बुधि–वर्धनम् । र ज्ञानको जीवन बढाउनु भनेको आनन्द हो । आनन्द भनेको सुख हो । हामी आनन्द चाहन्छौँ । त्यसकारण, तपाईंले अझै बढी आनन्दमय जीवन प्राप्त गर्नुहुनेछ । आनन्दाम्बुधि–वर्धनम् । र प्रतिपदं पूर्णामृतास्वादनम्ः र जीवनका प्रत्येक पाइलामा, जस्तै हामी... हाम्रो भौतिक जीवनशैलीमा हामी केवल दुःख र कठिनाई मात्र अनुभव गर्दछौँ, आध्यात्मिक जीवनशैलीको ठीक विपरीत । आनन्दाम्बुधि–वर्धनम्....अम्बुधि भनेको सागर हो । त्यसकारण, यो भौतिक आनन्दको सागर बढ्दैन, तर जब तपाईं आध्यात्मिक आनन्दको सागरमा आउनुहुन्छ तब त्यो आनन्द दिनप्रतिदिन बढिरहन्छ । यी केटाहरूजस्तै । यिनीहरू युरोप तथा अमेरिकाबाट आएका हुन् । तिनीहरू भारतीय होइनन् । तर पनि यिनीहरू यो कृष्णभावनामृत अभियानमा किन चिप्किएर बसिरहेका छन् ? किनभने यिनीहरूले आफ्नो दिव्य आनन्दलाई वृद्धि गरिरहेका छन् । यिनीहरू मूर्ख र बदमाश होइनन् । यिनीहरू शिक्षित छन् । तिनीहरूले किन कृष्णभावनामृतलाई अपनाएका छन् ? आनन्दाम्बुधिवर्धनम् । यसले यिनीहरूको दिव्य आनन्दलाई वृद्धि गरिरहेको छ । अतः जसले यो प्रद्धतिलाई स्वीकार्दछ, उसले आफ्नो आनन्दको सागरलाई वृद्धि गर्नेछः आनन्दाम्बुधिवर्धनम् । प्रतिपदं पूर्णामृतास्वादनम्ः र ऊ यसलाई आस्वादन गर्न सक्नेछ, जीवनको अर्थ के हो, आनन्दको अर्थ के हो । परं विजयते श्रीकृष्णसंकीर्तनम्ः “हरे कृष्ण मन्त्रको संकीर्तनको जय होस् ।” अतः यही नै प्रकृया हो । हाम्रो कृष्णभावनामृत अभियानले यो ज्ञानलाई सम्भव भएसम्म फैल्याइरहेको छ । र कृष्णको कृपाले हामीले मेलबर्नमा यो मन्दिर प्राप्त गरेका छौँ, र यसको सम्पूर्ण श्रेय हाम्रा शिष्य श्रीमान् मधुद्विष स्वामीलाई जान्छ । र तपाईंहरू यस मन्दिरबाट फाइदा लिनुहोस् । मेरो एक मात्र अनुरोध यही हो । यदि तपाईं केही पनि गर्नुहुन्न भने केवल आउनुहोस् र कीर्तनमा सहभागी हुनुहोस्, तपाईंले क्रमशः निकट भविष्यमा बुझ्नुहुनेछ । अतः श्रीकृष्णनामादि न भवेद् ग्राह्यमिन्द्रियैः (चै.च. मध्यलीला १७।१३६) । कृष्ण, कृष्णको नाम, कृष्णको स्वरूप, कृष्णका गतिविधिहरू, कृष्णका गुणहरू, हामीले यी भुत्ते भौतिक इन्द्रियहरूद्वारा बुझ्न सक्दैनौँ । यो सम्भव छैन । अतः श्रीकृष्णनामादि न भवेद् ग्राह्यमिन्द्रियैः । “त्यसपछि ? हामीसँग केवल यी अपूर्ण इन्द्रियहरू छन् । हामीले कसरी बुझ्न सक्छौँ ?” सेवोन्मुखे हि जिह्वादौ । यदि तपाईं आफ्ना इन्द्रियहरूलाई भगवान्को सेवामा लगाउनुहुन्छ भने, स्वयमेव स्फुरत्यदः, त्यसपछि, कृष्णले आफूलाई तपाईंसामु प्रकट गर्न सक्नुहुन्छ “म यहाँ छु ।” प्रकृया यो हो । अब यहाँ यो शब्द अत्यन्त महत्वपूर्ण छ, सेवोन्मुखे हि जिह्वादौ । जिह्वा भनेको जिब्रो हो । यदि तपाईं आफ्नो जिब्रोलाई केवल भगवान्को सेवामा संलग्न गराउनुहुन्छ भने तपाईंले क्रमशः विकास गर्नुहुनेछ । त्यसोभए हामीले जिब्रोलाई कसरी कृष्णको सेवामा लगाउने त ? यो भनिएको छैन कि “यदि तपाईं हेर्नुहुन्छ अथवा स्पर्श गर्नुहुन्छ अथवा सुगन्ध लिनुहुन्छ” । अहँ, यहाँ भनिएको छ “यदि तपाईं आस्वादन गर्नुहुन्छ ।” त्यसोभए जिब्रोका कर्तव्य के हो त ? जिब्रोको कर्तव्य हो – स्वादिष्ट भोजनको स्वाद लिने तथा आवाज निकाल्ने । यी दुई काम गर । आफ्नो जिब्रोले हरे कृष्णको उच्चारण गर र टन्न प्रसाद खाऊ । (हाँसो चल्छ) र तिमी कृष्णको भक्त बन ।

धेरै धेरै धन्यवाद ।