NE/Prabhupada 0895 - भक्तले खतरनाक परिस्थितिलाई ठूलो विपत्तिका रूपमा लिँदैन । उसले त्यसलाई स्वागत गर्छ



730417 - Lecture SB 01.08.25 - Los Angeles


एउटा भक्तले खतराजनक परिस्थितिलाई ठूलो विपत्तिका रूपमा लिँदैन । उसले त्यसलाई स्वागत गर्दछ तिमीसँग जिब्रो छ । तिमी हरे कृष्ण मन्त्र उच्चारण गर्न सक्छौ । तिमी तत्काल कृष्णको सम्पर्कमा आउँदछौ । तत्काल । किनभने कृष्णको नाम र कृष्णमा कुनै भिन्नता छैन । दुवै समान हुन् । र यदि तिमीले कृष्णलाई अत्यन्त टाढा सोच्दछौ भने... कृष्ण टाढा हुनुहुन्न । कृष्ण तिमीभित्र हुनुहुन्छ । कृष्ण टाढा हुनुहुन्न । उहाँ धेरै टाढा पनि हुनुहुन्छ र साथसाथै अत्यन्त नजिक पनि हुनुहुन्छ । अतः यदि तिमीले कृष्णलाई धेरै धेरै टाढा सोच्दछौ भने पनि कृष्णको नाम त नजिकै छ । तिमी हरे कृष्ण मन्त्रको उच्चारण गर्छौ भने कृष्ण तत्काल उपलब्ध हुनुहुनेछ । अनियमितः । र कृष्णलाई यसप्रकार सरल तरिकाले नजिक ल्याउनका लागि कुनै कडा नियम पनि छैन । तिमी कुनै पनि समयमा जप गर्न सक्छौ । फलस्वरूप, तिमीले कृष्णलाई तत्काल प्राप्त गर्नेछौ । कृष्णको कृपा हेर त । अतः श्रीचैतन्य महाप्रभु भन्नुहुन्छः एतादृशी तव कृपा । “प्रिय प्रभु, हजुरले मलाई हजुरसँग नजिक हुने यस्तो राम्रो सुविधा दिनुभएको छ, तर दुर्दैव अर्थात् म यति दुर्भाग्यशाली छु कि यी नामहरूप्रति मेरो कुनै अनुराग छैन । मसँग कुनै अनुराग छैन । अन्य वस्तुहरूप्रति मेरो यति धेरै आसक्तिहरू छन् । तर मसँग हरे कृष्ण मन्त्रको जप गर्न कुनै आसक्ति छैन । यो मेरो दुर्भाग्य हो ।” कृष्णले तिमीलाई यति धेरै सुविधाहरू दिनुभएको छ कि उहाँ तिम्रो सामु हरिनामको दिव्य ध्वनिका रूपमा उपस्थित हुनुहुन्छ । र यी नामहरूमा कृष्णका सम्पूर्ण शक्तिहरू विद्यमान छन् । अतः यदि तिमी हरिनामको सम्पर्कमा आउँछौ भने तिमीले कृष्णको वरदानको सम्पूर्ण लाभ प्राप्त गर्नेछौ, तर पनि म हरे कृष्ण मन्त्रको जप गर्न चाहन्नँ । यो मेरो दुर्भाग्य हो । अतः एउटा भक्तले विपत्तिजनक परिस्थितिलाई कहिल्यै पनि ठूलो विपत्तिका रूपमा लिँदैन । उसले त्यसलाई स्वागत गर्दछ । किनभने एउटा शरणागत जीवात्मा, उसलाई राम्रोसँग ज्ञान हुन्छ कि विपत्ति होस् अथवा महोत्सव होस्, ती सबै कृष्णकै विभिन्न प्रदर्शनी मात्र हुन् । कृष्ण परमेश्वर हुनुहुन्छ । शास्त्रमा भनिएको छ ः जसरी दुईओटा पक्षहरू हुन्छन्, धार्मिकता र अधार्मिकता, दुईओटा पक्षहरू हुन्छन् ः जुन ठीक विपरीत हुन्छन् । तर शास्त्रमा भनिएको छ कि धार्मिकता भनेको भगवान्को अगाडिको भाग हो, र अधार्मिकता भनेको भगवान्को पछाडिको भाग हो । र भगवान्को अगाडिको भाग अथवा पछाडिको भागमा कुनै भिन्नता हुन्छ र ? भगवान् परमेश्वर हुनुहुन्छ । अतः एउटा भक्त ऐश्वर्यमा होस् अथवा विपत्तिमा होस्, विचलित हुँदैन । उसलाई राम्रोसँग ज्ञान हुन्छ कि यी कुराहरू सबै कृष्ण नै हुन् । विपत्तिजनक परिस्थितिमा उसले विचार गर्दछः “अब कृष्ण मेरो सामु विपत्तिको रूप लिएर आउनुभएको छ ।” ठीक हिरण्यकशिपु, प्रल्हाद महाराज र नृसिंहदेवजस्तै । नृसिंहदेव हिरण्यकशिपुका लागि खतराजनक हुनुहुन्छ, तर प्रल्हाद महाराजका लागि नृसिंहदेव परममित्र हुनुहुन्छ, त्यही व्यक्ति । त्यसैगरी, भगवान् आफ्नो भक्तको लागि कहिल्यै पनि विपत्तिजनक हुनुहुन्न । भक्तहरू पनि विपत्तिदेखि कदापि भयभीत हुँदैनन् । ऊ विश्वस्त हुन्छ कि विपत्ति पनि भगवान्कै एउटा अर्को विशेषता हो । “अतः म किन भयभीत हुने ? म त भगवान्को शरणमा छु ।” अतः कुन्तीदेवी भन्नुहुन्छः विपदः सन्तु । विपदः सन्तु ताः शश्वत् । किनभने कुन्तीदेवीलाई ज्ञान छ कि विपत्तिको समयमा कृष्णलाई कसरी स्मरण गर्ने हो । अतः कुन्तीदेवीले विपत्तिलाई स्वागत गरिरहनुभएको छ । “प्रिय प्रभु, म यस्ता विपत्तिहरूलाई स्वागत गर्दछु किनभने त्यतिबेला म हजुरको स्मरण गर्दछु ।” ठीक प्रल्हाद महाराजजस्तै, उहाँ निरन्तर कृष्णकै बारेमा चिन्तन गरिरहनुहुन्थ्यो जब प्रल्हादका पिताले प्रल्हादलाई खतराजनक स्थितिमा राखिरहेका थिए । अतः यदि तिमी विपत्तिमा पर्छौ र यदि त्यो विपत्तिजनक स्थितिले तिमीलाई कृष्णको स्मरण गर्न उत्प्रेरणा दिन्छ भने त्यो स्वागत–योग्य छ । त्यो स्वागत–योग्य छ । “ओहो, मैले कृष्णको स्मरण गर्ने यो अवसर प्राप्त गरेको छु ।” त्यसोभए यो किन स्वागत–योग्य छ त ? यो स्वागत–योग्य छ किनभने कृष्णको दर्शन गर्नु भनेको म मेरो आध्यात्मिक जीवनमा प्रगति गरिरहेको छु जसद्वारा मैले अब अन्य विपत्तिहरू भोग्नुपर्ने छैन ।