NE/Prabhupada 0913 - कृष्णको भूत, वर्तमान तथा भविष्य हुँदैन । त्यसकारण, कृष्ण शाश्वत हुनुहुन्छ



730420 - Lecture SB 01.08.28 - Los Angeles


अतः यो मुक्ति सबैका लागि खुल्ला गरिएको छ । समं चरन्तम् । कृष्ण भन्नुहुन्न कि : “केवल तिमी मात्र मकहाँ आऊ । तिमी मात्र मुक्त हुनेछौ ।” अहँ । कृष्णले सबैलाई आह्वान गर्र्दै हुनुहुन्छ । कृष्ण भन्नुहुन्छ : सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज (श्रीमद्भगवद्गीता १८।६६) । कृष्णले यो सबैका लागि भन्नुभएको हो । यो होइन कि कृष्णले केवल अर्जुनका लागि मात्र भन्नुभएको हो । कृष्णले सबैका लागि भन्नुभएको हो । कृष्णले भगवद्गीता केवल अर्जुनका लागि मात्र बोल्नुभएको होइन । अर्जुन त केवल निमित्त मात्र हुनुहुन्छ । वास्तवमा कृष्णले यो सम्पूर्ण मानव जातिका लागि बोल्नुभएको हो । अतः मानिसले यसबाट लाभ लिनुपर्दछ । समं चरन्तम् । कृष्णले पक्षपात गर्नुहुन्न कि : “तिमी मात्र मुक्त होऊ...” उदाहरणार्थ, सूर्यलाई हेरौँ । सूर्यले कसैलाई पनि पक्षपात गर्दैन कि : “यो गरीब मानिस हो, यो तल्लो स्तरको मानिस हो, यो सुँगुर हो । त्यसकारण, म यहाँ मेरो किरण छर्दिनँ ।” अहँ । सूर्य सबैका लागि समान हुनुुहुन्छ । मानिसले सूर्यको किरणबाट लाभ लिनुपर्दछ । सूर्यको किरण सर्वत्र उपलब्ध छ तर यदि तिमीले आफ्नो ढोका बन्द गर्दछौ भने, यदि तिमी आफूलाई हावा समेत नछिर्ने अन्धकारमा राख्न चाहन्छौ भने त्यो तिम्रै इच्छा हो । त्यसैगरी, कृष्ण सर्वत्र उपलब्ध हुनुहुन्छ । कृष्ण सबैका लागि उपलब्ध हुनुुहुन्छ । तिमीले शरण लिनेबित्तिकै कृष्ण तिमीलाई स्वीकार्न तयार हुनुहुन्छ । समं चरन्तम् । यसमा कुनै बन्देज छैन । कृष्ण भन्नुहुन्छ : मां हि पार्थ व्यपाश्रित्य येऽपि स्यु पापयोनयः (भगवद्गीता ९।३२) । साधारण मानिसहरू यो तल्लो श्रेणीको मानिस हो र यो उच्च श्रेणीको मानिस हो भनेर भेदभाव गर्दछन् । तर कृष्ण भन्नुहुन्छ : “तथाकथित तल्लो श्रेणीको मानिस भएपनि केही फरक पर्दैन, यदि उसले मेरो शरण लिन्छ भने ऊ पनि भगवद्धाम फर्कन योग्य बन्दछ ।” समं चरन्तम् । र कृष्ण शाश्वत काल हुनुहुन्छ । सबै कुरा समय–सीमाभित्र बाँधिएका छन् । हामी भूतकाल, वर्तमान काल तथा भविष्यत् काल भनेर समयको आँकलन गर्दछौँ । यो सापेक्षिक छ । एक दिन हामीले यसको बारेमा बहस गरेका थियौँ । यो भुतकाल, वर्तमान काल तथा भविष्यत् काल सापेक्षिक शब्दहरू हुन् । एउटा सानो किराको भूतकाल, वर्तमान काल तथा भविष्यत् काल मेरो भूतकाल, वर्तमान काल तथा भविष्यत् कालभन्दा फरक हुन्छ । यो सापेक्षिक छ । त्यसैगरी, ब्रह्माजीको भूतकाल, वर्तमान काल तथा भविष्यत् काल मेरो भूतकाल, वर्तमान काल तथा भविष्यत् कालभन्दा फरक हुन्छ । तर कृष्णको भूतकाल, वर्तमान काल तथा भविष्यत् काल हुँदैन । त्यसकारण, कृष्ण शाश्वत हुनुहुन्छ । हाम्रो भूतकाल, वर्तमान काल तथा भविष्यत् काल हुन्छ किनभने हामी शरीर परिवर्तन गरिरहेका छौँ । जस्तै, अहिले हामीसँग यो शरीर छ र यसको निश्चित आयु छ । म यो मितिमा मेरा पिता र माताबाट जन्मेको थिएँ । अब यो शरीर केही समयसम्म रहनेछ । यसको वृद्धि–विकास हुनेछ । यसले केही सह–उत्पादन गर्नेछ । त्यसपछि, यो वृद्ध हुनेछ । त्यसपछि, त्यो शरीर क्षीण हुँदै जानेछ र अन्ततः त्यो शरीर समाप्त हुनेछ । अब त्यो शरीरको अस्तित्व रहनेछैन । अब तिमीले अर्को शरीर धारण गर्नेछौ । पुरानो शरीर समाप्त भइसक्यो । पुरानो शरीरको इतिहास अर्थात् भूतकाल, वर्तमान काल तथा भविष्यत् काल समाप्त भइसक्यो । अब तिमीले नयाँ शरीर धारण गर्नेछौ । अब पुनः तिम्रो नयाँ भूतकाल, वर्तमान काल र भविष्यत् काल सुरु हुनेछ । तर कृष्णको भूतकाल, वर्तमान काल तथा भविष्यत् काल हुँदैन किनभने कृष्णले शरीर परिवर्तन गर्नुहुन्न । हामी र कृष्णबीच भएको भिन्नता यही हो । जस्तै, कृष्णले अर्जुनलाई भन्नुभयो : “विगतमा मैले यो भगवद्गीताको ज्ञान सूर्यदेवलाई दिएको थिएँ ।” तर अर्जुनले विश्वास गर्नुभएन । हुन त अर्जुनलाई सबै कुरा थाहा थियो तर हामीलाई ज्ञान दिनका लागि उहाँले कृष्णलाई यस्तो प्रश्न गर्नुभयो : “हे कृष्ण ! हामी दुई समकालीन हौँ, हामी दुवैजना लगभग एउटै समयमा जन्मेका हौँ। त्यसकारण, हजुरले यो ज्ञान सूर्यदेवलाई दिनुभयो भनेर म कसरी जान्न सक्छु ?” अनि कृष्णले उत्तर दिनुभयो : “प्रिय अर्जुन, त्यतिबेला तिमी पनि त्यहीं थियौ तर तिमीले त्यो सबै भुलिसक्यौ । तर मैले भुलेको छैन । फरक यही हो ।” कसले भूतकाल, वर्तमान काल तथा भविष्यत् काललाई भुल्दछ : जो शाश्वत छैन । अनि जो शाश्वत रूपमै अस्तित्वमा रहन्छ उसले भुल्दैन र उसको लागि भूतकाल, वर्तमान काल तथा भविष्यत् काल पनि हुँदैन । त्यसकारण, कुन्तीदेवी कृष्णलाई शाश्वत भनेर सम्बोधन गर्दै हुनुहुन्छ । मन्ये त्वां कालम् । र कृष्ण ईशानम् अर्थात् शाश्वत हुनुभएको कारणले उहाँ नै पूर्ण नियन्त्रक हुनुहुन्छ । कुन्तीदेवी भन्नुहुन्छ : मन्ये अर्थात् “म ठान्दछु....” कृष्णको व्यवहारबाट कुन्तीदेवीले बुझ्न सक्नुहुन्थ्यो कि कृष्ण शाश्वत हुनुहुन्छ, कृष्ण परम–नियन्त्रक हुनुहुन्छ । अनादि–निधनम् । अनादि–निधन.... कृष्णका लागि कुनै सुरुवात पनि छैन र कुनै समाप्ति पनि छैन । अतः कृष्ण विभु हुनुहुन्छ ।