NE/Prabhupada 0914 - पदार्थ पनि कृष्णको एउटा शक्ति हो र आत्मा पनि कृष्णको अर्को शक्ति हो



730420 - Lecture SB 01.08.28 - Los Angeles

प्रभुपाद : विभु भनेको सर्वोच्च अर्थात् सबैभन्दा महान् हो । हामी अणु हौँ, हामी सबैभन्दा साना छौँ र कृष्ण सबैभन्दा विशाल हुनुहुन्छ । हामी सबै कृष्णका अंश हौँ । त्यसकारण, कृष्ण सबैभन्दा सानो पनि हुनुहुन्छ र सबैभन्दा विशाल पनि हुनुहुन्छ । हामी केवल सबैभन्दा साना छौँ । तर कृष्ण सानो र ठूलो दुवै हुनुहुन्छ । कृष्ण विभु अर्थात् सबैभन्दा विशाल हुनुहुन्छ अर्थात् सम्पूर्ण वस्तुहरू उहाँभित्र छन् । यदि तिमीसँग ठूलो झोला छ भने तिमीले त्यसमा धेरै कुराहरू बोक्न सक्छौ । तर सानो झोलामा तिमीले धेरै वस्तुहरू बोक्न सक्दैनौ । र कृष्ण विभु हुनुहुन्छ । उहाँले काल अर्थात् भूतकाल, वर्तमान काल तथा भविष्यत् काल सबैलाई समेट्नुहुन्छ । उहाँले सम्पूर्ण वस्तुहरूलाई समेट्नुहुन्छ र उहाँ सर्वत्र हुनुहुुन्छ । त्यसलाई विभु भनिन्छ । विभु भनेको सर्वव्यापक हो । कृष्ण सर्वत्र हुनुहुन्छ । अण्डान्तर–स्थ–परमाणु–चयान्तर–स्थम् (ब्रह्मसंहिता ५।३५) । ब्रह्मसंहितामा भनिएको छ कि कृष्ण परमाणुभित्र पनि विराजमान हुनुहुुन्छ । किनभने कृष्णबिना कुनै पनि पदार्थको विकास हुन सक्दैन । नास्तिक वैज्ञानिकहरू भन्दछन् कि पदार्थबाट जीवन आउँदछ । त्यो वाहियात हो । अहँ, त्यो सत्य होइन । पदार्थ भनेको कृष्णको एउटा शक्ति हो र आत्मा भनेको कृष्णको अर्को शक्ति हो । आत्मा कृष्णको उत्कृष्ट शक्ति हो भने पदार्थ कृष्णको निकृष्ट शक्ति हो । पदार्थको विकास तब हुन्छ जब उत्कृष्ट शक्ति उपस्थित हुन्छ । उदाहरणार्थ, अमेरिकालाई लिऊँ । यही अमेरिका दुई सय अथवा तीन सय वर्षअघि, यहाँको जमिन विकास भएको थिएन । तर युरोपबाट केही उत्कृष्ट शक्ति अर्थात् जीवात्माहरू यहाँ आए र अहिले अमेरिका यति धेरै विकसित भएको छ । त्यसकारण, विकासको कारण नै उत्कृष्ट शक्ति हो । अझै पनि संसारमा अनेक रिक्त जमिनहरू त्यसै खेर गइरहेका छन् । जस्तै, अफ्रिका तथा अष्टे«लिया । तिनीहरूलाई “अविकसित” राष्ट्र भनिन्छ । किन अविकसित ? किनभने उत्कृष्ट शक्ति अर्थात् जीवात्माले त्यहाँ स्पर्श गरेको छैन । जब उत्कृष्ट शक्ति अर्थात् जीवात्माले यहाँ स्पर्श गर्दछ तब अविलम्ब, यही जमिनमा अनेक कारखानाहरू, आवास–गृहहरू, नगरहरू, सडकहरू, मोटरकारहरू अर्थात् सबै कुराहरू विकसित हुनेछन् किनभने हामी विकास गर्न सक्दछौँ । अतः निष्कर्ष यो हो कि पदार्थ आफैँ विकसित हुन सक्दैन । अहँ । यो सम्भव छैन । उत्कृष्ट शक्तिले त्यसलाई स्पर्श गर्नै पर्दछ । तब मात्र त्यो सक्रिय हुन्छ । संसारमा अनेक यन्त्रहरू छन् । ती सबै पदार्थ मात्र हुन् । अर्थात् निकृष्ट शक्ति । जबसम्म कुनै सञ्चालक आएर उक्त यन्त्रलाई स्पर्श गर्दैन तबसम्म त्यो यन्त्रले कार्य गर्न सक्दैन । अत्यन्त उच्चकोटिको कार अथवा अत्यन्त महँगो मोटरकार हुन सक्ला, तर जबसम्म कुनै चालक आउँदैन तबसम्म त्यो कार करोडौँ वर्षसम्म पनि त्यहीँ पडिरहनेछ । त्यसको कुनै प्रयोग हुँदैन । मानिसहरूमा यो साधारण चेतना पनि छैन । जबसम्म उत्कृष्ट शक्ति अर्थात् जीवात्माले पदार्थलाई स्पर्श गर्दैन तबसम्म पदार्थले स्वतन्त्र रूपमा कार्य गर्न सक्दैन । यो साधारण चेतना हो । यति हुँदाहुँदै पनि यी बदमाश वैज्ञानिकहरू कसरी पदार्थबाट जीवन विकास हुन्छ भनेर भन्दछन् ? अहँ । यसको के निष्कर्ष निकाल्न सकिन्छ ? यसको कुनै उदाहरण छैन । उनीहरूले झुटो बोलिरहेका छन्....तिनीहरूसँग पूर्ण ज्ञान छैन । र यी ब्रह्माण्डहरू पनि वास्तवमा कृष्णको उपस्थितिको कारणले विकास भएका हुन् । त्यसकारण, ब्रह्मसंहिता भन्दछ : अण्डान्तर–स्थ–परमाणु–चयान्तरस्थम्.... वैज्ञानिकहरू अहिले परमाणुको अध्ययन गरिरहेका छन् । इलेक्ट्रोन र प्रोटोनमाथि अनेक अनुसन्धानहरू भइरहेका छन्, किन ? किनभने त्यहाँ कृष्ण विराजमान हुनुहुन्छ । यो चाहिँ वास्तविक विज्ञान हो । त्यसकारण, कृष्णको भूतकाल, वर्तमान काल अथवा भविष्यत् काल हुँदैन । कृष्ण शाश्वत काल हुनुहुन्छ । कृष्णको कुनै सुरुवात पनि छैन र समाप्ति पनि छैन । र उहाँ सबैप्रति समान हुनुहुन्छ । समं चरन्तम् (श्रीमद्भागवत १।८।२८) । केवल हामी कृष्णको दर्शन गर्न तथा कृष्णलाई बुझ्न तम्तयार हुनुपर्दछ । कृष्णभावनामृत अभियानको उद्देश्य नै यही हो ।

धेरै धेरै धन्यवाद ।

भक्तहरू : जय, श्रील प्रभुपादको जय होस् ।