NE/Prabhupada 0915 - साधु मेरो हृदय हो र म पनि साधुको हृदयभित्र विराजमान छु



730421 - Lecture SB 01.08.29 - Los Angeles

भक्त : अनुवाद : “मेरा प्रभु, कसैले पनि हजुरका दिव्य लीलाहरूलाई बुझ्न सक्दैन । जुन मनुष्यका लीलाजस्ता देखिन्छन् र त्यसकारण मानिसहरू भ्रमित हुन्छन् । हजुरले कुनै विशेष वस्तुलाई मन पराउने तथा कुनै विशेष वस्तुलाई द्वेष गर्नुहुन्न । मानिसहरू केवल झुटो कल्पना गर्दछन् कि हजुरले पक्षपात गर्नुहुन्छ ।”

प्रभुपाद : त्यसकारण, भगवान् कृष्ण भगवद्गीतामा भन्नुहुन्छ : परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् (भगवद्गीता ४।८) । अतः दुईओटा उद्देश्य लिएर भगवान् आउनुहुन्छ । जब कृष्णले अवतार लिनुहुन्छ तब उहाँका दुईओटा उद्देश्य हुने गर्दछन् । कृष्णको पहिलो उद्देश्य हो : परित्राणाय साधूनाम् र... अर्थात्, इमानदार भक्तहरू अर्थात् साधुहरूको उद्धार गर्नु । साधु भनेको सन्त पुरुष हो । मैले धेरै पटक वर्णन गरिसकेको छु । साधु भनेको भक्त हो । साधु भनेको कुनै सांसारिक इमान्दारिता अथवा ठगी, सांसारिक नैतिकता अथवा अनैतिकतासँग सम्बन्धित हुँदैन । भौतिक गतिविधिहरूसँग साधुको कुनै सम्बन्ध हुँदैन । साधुको सम्बन्ध केवल आध्यात्मिक वस्तुसँग हुन्छ । तर कहिलेकाहीँ हामी मानिसको सत्वगुण अथवा भौतिक नैतिकतालाई साधुको संज्ञा दिने गर्दछौँ । तर वास्तवमा साधु भनेको दिव्य स्तरको शब्द हो । जो कृष्णको भक्तिमय सेवामा संलग्न छन् । स गुणान् समतीत्यैतान् (भगवद्गीता १४।२६) । साधु सधैँ भौतिक गुणहरूभन्दा माथि हुन्छ । अतः परित्राणाय साधूनाम् (भगवद्गीता ४।८) । परित्राणाय भनेको उद्धार गर्नु हो । अब यदि साधुको पहिला नै उद्धार भइसकेको छ भने ऊ दिव्य स्तरमा अवस्थित हुन्छ, त्यसपछि, उसको उद्धार गर्नु आवश्यक पर्दछ र ? यो प्रश्न उठ्न सक्दछ । त्यसकारण, यहा विडम्बनम् शब्द प्रयोग गरिएको छ । यो भ्रमित पार्ने किसिमको अर्थात् विवादास्पद छ । यो विवादास्पद देखिन्छ । यदि एउटा साधुको पहिला नै उद्धार भइसकेको छ भने.... दिव्य स्तर भनेको ऊ त्रिगुणको अधीनमा रहन्न अर्थात् भौतिक प्रकृतिका तीन गुणहरू : सत्वगुण, रजोगुण तथा तमोगुणको अधीनमा रहन्न। किनभने भगवद्गीतामा कृष्णले यो स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ : स गुणान् समतीत्यैतान् (भगवद्गीता १४।२६) । एउटा साधु अर्थात् भक्तले भौतिक गुणहरूलाई जितिसकेको हुन्छ । त्यसोभए, साधुको पुनः उद्धारको प्रश्न कहाँबाट आउँदछ ? वास्तवमा एउटा साधुलाई अब पुनः उद्धारको आवश्यकता पर्दैन, तर ऊ भगवान्लाई आफ्नै आँखाले दर्शन गर्न अत्यन्त व्यग्र हुने कारणले, त्यो उसको भित्री इच्छा हुने गर्दछ, त्यसकारण, कृष्ण आउनुहुन्छ । कृष्ण साधुको उद्धारका लागि आउनुहुने होइन । उसको उद्धार पहिला नै भइसकेको हुन्छ । ऊ भौतिक प्रकृतिको फन्दाबाट मुक्त भइसकेको हुन्छ । तर उसलाई सन्तुष्ट पार्नका लागि कृष्ण सधैँ आतुर हुनुहुुन्छ.... जस्तै, एउटा भक्तले भगवानलाई सधैँ सम्पूर्ण दृष्टिकोणबाट प्रसन्न राख्न चाहन्छ, त्यसैगरी, भगवानले भक्तहरूभन्दा अझ बढी आफ्ना भक्तहरूलाई प्रसन्न पार्न चाहनुहुन्छ । यो प्रेमको आदानप्रदान हो । जस्तै, हाम्रो साधारण लेनदेनमा पनि, यदि तिमी कसैलाई प्रेम गर्दछौँ भने तिमी उसलाई प्रसन्न राख्ने प्रयास गर्नेछौ । त्यसैगरी, प्रत्युत्तरमा उसले पनि तिमीलाई प्रसन्न पार्न चाहन्छ । अतः यदि यो भौतिक संसारमा प्रेमको आदानप्रदान यसरी हुन्छ भने आध्यात्मिक संसारमा प्रेमको आदानप्रदान झन् कति धेरै विकसित छ होला ? अतः श्रीमद्भागवतमा भगवान् विष्णु भन्नुहुन्छ : साधु मेरो हृदय हो र म पनि साधुको हृदयमा विराजमान छु ।” साधुले सधैँ कृष्णकै चिन्तन गरिरहेको हुन्छ । र कृष्णले पनि सधैँ आफ्नो भक्त अर्थात् साधुको चिन्तन गरिरहनुहुन्छ ।