NE/Prabhupada 0919 - कृष्णको कोही शत्रु छैन । कृष्णको कोही मित्र छैन । उहाँ पूर्णतः स्वतन्त्र हुनुहुन्छ



730421 - Lecture SB 01.08.29 - Los Angeles

प्रभुपाद : अतः कृष्णको लागि यस्तो कुनै कुरा छैन, कि तिमीले कृष्णलाई कामुक अथवा स्त्रीलम्पट भनेर दोषारोपण गर्न पाउँदछौ । अहँ । कृष्णले आफ्ना सबै भक्तहरूलाई कृपा दिनुभयो । कृष्णका असंख्य भक्तहरू छन् । कुनै भक्तले कृष्णलाई आफ्नो श्रीमान् बनिदिन अनुरोध गर्दछन् । कुनै भक्तले कृष्णलाई आफ्नो मित्र बनिदिन अनुरोध गर्दछन् । कुनै भक्तले कृष्णलाई आफ्नो पुत्र बनिदिन अनुरोध गर्दछन् । र कुनै भक्तले कृष्णलाई उसको खेल्ने साथी बनिदिन अनुरोध गर्दछन् । यसप्रकार, सम्पूर्ण ब्रह्माण्डभरी कृष्णका करोडौँ र अरबौँ भक्तहरू छन् । र कृष्ण एक्लैले ती सबैलाई सन्तुष्ट पार्नुहुन्छ । उहाँलाई कुनै भक्तबाट कुनै सहायता आवश्यक पर्दैन । तर भक्तले इच्छा गरेपछि....यी १६,००० भक्तहरूले कृष्णलाई आफ्नो पतिको रूपमा प्राप्त गर्ने इच्छा गरे । र कृष्ण सहमत हुनुभयो, एउटा साधारण मानिसजस्तै । तर उहाँ स्वयं भगवान् हुनुभएको कारणले उहाँलाई आफूलाई १६,००० रूपमा विस्तार गर्नुभयो । अनि एकदिन नारदमुनि हेर्न आउनुभयो । हेर्न आउनुभयो । “कृष्णले १६,००० पत्नीहरूसँग विवाह गर्नुभएको छ । अब म गएर हेर्नेछु कि उहाँले ती सबैलाई कसरी राख्नुभएको छ ।” र जब नारदमुनि आउनुभयो तब उहाँले कृष्णलाई १६,००० ओटै महलहरूमा भिन्न–भिन्न गतिविधिहरूमा व्यस्त रहेको देख्नुभयो । कुनै महलमा कृष्ण आफ्नी पत्नीसँग वार्तालाप गरिरहनुभएको थियो भने कुनै महलमा उहाँ आफ्ना बालबच्चाहरूसँग खेलिरहनुभएको थियो । कुनै महलमा कृष्णले आफ्ना छोराछोरीहरूको विवाह महोत्सव आयोजना गरिरहनुभएको थियो । यसप्रकार, कृष्ण १६,००० ओटा काममा संलग्न हुनुहुन्थ्यो । कृष्ण त्यस्तो हुनुहुन्छ । तर हुन त कृष्ण.... बाल्यकालमा कृष्ण कुनै साधारण बालकजस्तै भएर खेलिरहनुभएको थियो । तर जब माता यशोदाले माटो खाएको परीक्षण गर्नका लागि कृष्णको मुखभित्र हेर्न चाहनुभयो, तब कृष्णले आफ्नो मुखभित्र सम्पूर्ण ब्रह्माण्ड नै देखाइदिनुभयो । कृष्ण त्यस्तो हुनुहुन्छ । हुन त कृष्णले एउटा साधारण बालकजस्तै भएर खेलिरहनुभएको थियो, तर आवश्यकता परेको समयमा कृष्णले आफ्नो दिव्य स्वभावको प्रदर्शन गर्नुहुन्थ्यो । अर्जुनजस्तै । कृष्णले अर्जुनको रथ हाँकिरहनुभएको थियो, तर जब अर्जुनले कृष्णको विराट–स्वरूपको दर्शन गर्न चाहनुभयो तब कृष्णले तत्काल आफ्नो विराट–स्वरूपको दर्शन गराउनुभयो । कृष्णका हजारौँ र करोडौँ शिर तथा अस्त्र–शस्त्रहरू थिए । कृष्ण त्यस्तो हुनुहुन्छ । न यस्य कश्चित् । नत्र कृष्णको कुनै शत्रु छैन । कृष्णको कुनै मित्र पनि छैन । कृष्ण पूर्ण रूपमा स्वतन्त्र हुनुहुन्छ । कृष्ण कुनै पनि शत्रुमा निर्भर हुनुहुन्न । तर कृष्णले यसप्रकार लीला गर्नुहुन्छ कि उहाँका तथा–कथित मित्र तथा शत्रुहरू सबै लाभान्वित हुन्छन् । कृष्ण त्यस्तो हुुनुहुन्छ.... यो कृष्णको परमस्वभाव हो । जब कृष्णले शत्रु अथवा मित्रका रूपमा कृपा गर्नुहुन्छ, तब प्रतिफल एउटै हुन्छ । त्यसकारण, कृष्ण परम हुनुहुन्छ ।

धेरै धेरै धन्यवाद ।

भक्तहरू : जय प्रभुपाद !