NE/Prabhupada 0808 - हामी कृष्णलाई ठग्न सक्दैनौं
730926 - Lecture BG 13.03 - Bombay
त्यसैले, जब हाम्रो चेतना कृष्णमय बन्दछ, तब कृष्णले तत्काल बुझ्नुहुन्छ । कृष्ण तिम्रो हृदयभित्र विराजमान हुनुहुन्छ । ईश्वर सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति । (भगवद्गीता १८।६१) र कृष्णले तिम्रो उद्देश्यलाई जान्नुहुन्छ । हामी कृष्णलाई छल गर्न सक्दैनौँ । कृष्णले तुरुन्त बुझ्न सक्नुहुन्छ कि तिमी कति गम्भीर तथा ईमानदार छौ, कृष्णलाई बुझ्नका लागि अथवा उहाँको नजिक जानका लागि अथवा भगवद्धाम फर्कनका लागि । कृष्णले त्यो बुझ्न सक्नुहुन्छ । जब कृष्णले बुझ्नुहुन्छ कि “यहाँ एउटा आत्मा छ र ऊ अत्यन्त गम्भीर छ,” त्यसपछि, कृष्णले तिम्रो विशेष हेरविचार गर्नुहुन्छ । समोऽहं सर्वभूतेषु । कृष्ण स्वयं भगवान् हुनुभएको कारणले उहाँ सबैप्रति समान हुनुहुन्छ । समोऽहं सर्वभूतेषु । न मे द्वेष्योऽस्ति न प्रियः । कोही पनि कृष्णको प्रिय अथवा अप्रिय छैन । कृष्ण ईष्र्यालु हुनुहुन्न, न त उहाँ कोहीप्रति विशेष झुकाव नै राख्नुहुन्छ । वास्तवमा कृष्ण सबैप्रति तटस्थ हुनुहुन्छ । सबैजना...कृष्ण सबैलाई मन पराउनुुहुन्छ । सुहृदं सर्वभूतानां ज्ञात्वा मां शान्तिमृच्छति । (भगवद्गीता ५।२९) भगवद्गीतामा पनि कृष्णले यसको उल्लेख गर्नुभएको छ । कृष्ण सबैको मित्र हुनुहुन्छ । हामी अनेक मानिसहरूसँग मित्रता गरिरहेका छौँ र उनीहरूलाई हाम्रो उद्देश्य बताइरहेका छौँ । तर यदि हामीले कृष्णलाई मित्र बनाउँछौँ भने, यदि हामी जान्दछौँ कि कृष्ण आफैँ मित्रता गर्न तयार हुनुहुन्छ.... उपनिषदमा भनिएको छ कि हाम्रो शरीररुपी वृक्षमा दुईओटा पक्षीहरू मित्रतापूर्वक बसिरहेका छन् । त्यसैले, यदि हामीले बुझ्दछौँ, “कृष्ण मेरो सबैभन्दा असल मित्र हुनुहुन्छ....” किनकी कृष्ण भन्नुहुन्छ, सुहृदं सर्वभूतानाम् । कृष्ण मेरो मात्र अथवा तिम्रो मात्र मित्र होइन, कृष्ण त सबैको मित्र हुनुहुन्छ । हो, त्यो मित्रता समान रुपले वितरण हुन्छ । तर यदि कोही कृष्णको विशेष भक्त बन्दछ भने, ये तु भजन्ति मां प्रीत्या, यदि कोही प्रेम तथा स्नेहपूर्वक कृष्णको सेवामा संलग्न हुन्छ भने, कृष्णले ऊप्रति विशेष झुकाव गर्नुहुन्छ । यही नै भक्तहरूप्रति कृष्णको कृपा हो । कृष्ण सबैप्रति समान हुनुहुन्छ, तर उहाँ भक्तहरूप्रति विशेष झुकाव राख्नुहुन्छ जो श्रद्धा तथा प्रेमपूर्वक उहाँको सेवामा संलग्न हुन्छ । तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् ददामि बुद्धियोगं तं येन मां उपयान्ति ते ।। (भगवद्गीता १०।१०) कृष्ण उसलाई बुद्धि दिनुहुन्छ....किनभने कृष्ण आफ्ना भक्तहरूलाई विशेष हेरविचार गर्नुहुन्छ । सबैको हृदयभित्र कृष्ण विराजमान हुनुहुन्छ । क्षेत्रज्ञं चापि मां विद्धि सर्वक्षेत्रेषु भारत । तर कृष्ण आफ्नो भक्तको विशेष हेरचाह गर्नुहुन्छ, उसलाई निर्देशन दिनुहुन्छ र उसलाई बुद्धि दिनुुहुन्छ । कस्तो प्रकारको बुद्धि दिनुहुन्छ ? येन मां उपयान्ति ते । केवल त्यो भक्तलाई भगवद्धाम फर्कने मार्ग प्रदान गर्नका लागि । कृष्णले केही भौतिक सम्पत्ति प्राप्त गर्नका लागि बुद्धि दिनुहुन्न । त्यो विभाग मायाः दैवी माया अर्थात् दुर्गादेवीले सम्हाल्नुहुन्छ । त्यसकारण, मानिसहरू कृष्णको पूजा गर्न त्यति इच्छुक हुँदैनन् । साधारणतया, तिनीहरू भगवती दुर्गा अथवा भगवान् शिवको पूजा गर्न इच्छुक हुन्छन् । किनभने भगवान् शिव अथवा भगवती दुर्गाको पूजा गरेपछि तिनीहरूले भौतिक ऐश्वर्य प्राप्त गर्दछन् । त्यसकारण, देवताहरूको पूजा गर्नु भनेको शतप्रतिशत भौतिकवाद हो । देवताहरूको पूजा गर्दा आध्यात्मिक जीवनको कुनै प्रश्न उठ्दैन । त्यसकारण, कृष्ण भन्नुहुन्छ.... त्यो कुन श्लोक हो ? नष्टबुद्धयः । कामैस्तैस्तैहृतज्ञाना यजन्ति अन्य देवताः (भगवद्गीता ७।२०) अन्य देवताहरूको पूजामा रुचि राख्ने मानिसहरूको बुद्धि नष्ट भएको हुन्छ, हृत–ज्ञान । कामैस्तैस्तैर्, माययापहृत–ज्ञाना । कृष्णले यी शब्दहरूको प्रयोग गर्नुभएको छ । मायाले दुई किसिमले काम गर्दछिन्ः प्रक्षेपात्मिका शक्ति र आवरणात्मिका शक्ति । आवरणात्मिका शक्ति भनेको मायाले ढाक्ने काम गर्दछिन् । आवरणात्मिका शक्तिद्वारा मायाले ढाक्ने काम गर्दछिन् । मायाले वास्तविक सत्यलाई ढाकिदिन्छिन् ।