NE/Prabhupada 0112 - कुनै कुराको निर्णय त्यसको नतिजाबाट गरिन्छ



Television Interview -- July 29, 1971, Gainesville


संवादकर्ता: हजुर आउनुभयो, श्रीमान्, १९६५मा यस देशमा , मैले भनेअनुसार, आफ्नो गुरुको उपदेश अथवा आज्ञाको आधारमा | हजुरको गुरु को हुनुहुन्थ्यो ?

प्रभुपाद: मेरो गुरु ॐ विष्णुपाद परमहंस भक्तिसिद्धान्त सरस्वति गोस्वामी प्रभुपाद हुनुहुन्थ्यो |

संवादकर्ता: हामीले अघि कुरा गरेको यस गुरु शिष्य परम्परा, जुन धेरै अघिसम्म जान्छ, कृष्णसम्म जान्छ, के हजुरको गुरु हजुरभन्दा अघिल्लो हुनुहुन्थ्यो?

प्रभुपाद: हो | यो गुरु शिष्य परम्परा कृष्णबाट ५००० वर्षदेखि आउँदैछ |

संवादकर्ता: के हजुरको गुरु अझै जीवित हुनुहुन्छ ?

प्रभुपाद: हुनुहुन्न | उहाँ १९३६मा बित्नुभयो |

संवादकर्ता: त्यसोभए हजुर अहिलेको समयमा यो अभियानको प्रमुख हुनुहुन्छ? के यो सहि हो?

प्रभुपाद: मेरा अरु धेरै गुरुभाई हुनुहुन्छ, तर मलाई विशेष रुपले यो कार्य गर्न आज्ञा दिइएको थियो | त्यसैले म आफ्ना गुरुलाई खुसी बनाउन प्रयासरत छु | त्यति हो |

संवादकर्ता: हजुरलाई यो देशमा, अमेरिकामा पठाइएको थियो | यो तपाईको क्षेत्र हो | के यो सहि हो ?

प्रभुपाद: मेरो क्षेत्र, उहाँले भन्नुभयो कि "तिमी जाऊ र यो दर्शन अंग्रेजी बुझ्ने मानिसलाई भन |"

संवादकर्ता: अंग्रेजी बोल्ने संसारलाई |

प्रभुपाद: हो | र विशेषगरि पाश्चात्य राष्ट्रहरुलाई | हो | उहाँले मलाई त्यसरी भन्नुभयो |

संवादकर्ता: श्रीमान्, जब हजुर यो देशमा १५,१६ वर्ष अघि आउनुभयो र सुरु गर्नुभयो....

प्रभुपाद: होइन, होइन, १५,१६ वर्ष होइन |

संवादकर्ता: ५, ६ वर्ष अघि | मलाई क्षमा गर्नुहोस् | पृथ्वीको यो भागमा आउनुभयो, जहाँ धर्मको कमी थिएन, हजुरलाई थाहा छ | अमेरिकामा हामीसँग धेरै धर्म छन्, र मलाई लाग्छ यो देशमा मानिसहरु विश्वास गर्न रुचाउँछन्, ठुलो संख्यामा, कि तिनीहरु धार्मिक मानिस छन्, जो भगवानमा विश्वास राख्छन्, जसले आफुलाई कुनै प्रकारको धार्मिक अभिव्यक्तिप्रति समर्पित गर्छन् | र म सोच्छु कि हजुरको सोचाइ के थियो | के हजुरलाई लाग्छ कि हजुरले चलिरहेको धार्मिक अभिव्यक्तिमा केहि जोड्नुहुन्छ, यो देशमा आएर र आफ्नो दर्शन यहाँ जोडेर ?

प्रभुपाद: हो | जब म यो देशमा पहिलो पटक आएँ, म बट्लरमा एक भारतीय साथीकहाँ पाहुना थिएँ |

संवादकर्ता: पेंसिल्वेनियामा |

प्रभुपाद: पेंसिल्वेनिया | हो | यद्यपी त्यो सानो प्रदेश थियो, म निकै प्रफुल्लित भएको थिएँ कि त्यहाँ धेरै चर्चहरु थिएँ |

संवादकर्ता: निकै धेरै चर्चहरु | हो | हो |

प्रभुपाद: हो | निकै धेरै चर्चहरु | र मैले त्यहाँ धेरै चर्चहरुमा बोलें | मेरो मेजबानले यो मिलाउनुभएको थियो | मेरो कुनै उद्देश्य थिएन कि म यहाँ कुनै धार्मिक विधिलाई हराउन आएको थिएँ | त्यो मेरो उद्देश्य थिएन | हाम्रो उद्देश्य हो, चैतन्य महाप्रभुको उद्देश्य हो, सबैलाई भगवानलाई प्रेम गर्न सिकाउने, त्यति हो |

संवादकर्ता: तर कुन तरिकाले, श्रीमान्, के म सोध्न सक्छु, कुन तरिकाले हजुरले सोच्नुभयो र हजुरले अहिले सोच्नुहुन्छ, कि हजुरले दिनुभएको भगवानलाई प्रेम गर्ने शिक्षा फरक छ र सायद राम्रो छ, यो देशमा पहिलेदेखि चलिरहेको भगवानलाई प्रेम गर्ने शिक्षाभन्दा र जुन पाश्चात्य जगतमा धेरै शताब्दिदेखि चलिआएको छ ?

प्रभुपाद: त्यो तथ्य हो | किनकि हामी चैतन्य महाप्रभुको चरणचिह्नको अनुसरण गर्दैछौं | उहाँलाई मानिन्छ...उहाँ हामीबाट स्वीकारिनुभएको छ- वैदिक शास्त्रको अधिकार अनुरुप- उहाँ व्यक्तिगत रुपमा कृष्ण हुनुहुन्छ |

संवादकर्ता: कुन प्रभु ?

प्रभुपाद: चैतन्य महाप्रभु |

संवादकर्ता: हो | उहाँ पाँच सय वर्ष अगाडि भारतमा आउनुभएको थियो ?

प्रभुपाद: हो | उहाँ कृष्ण स्वयं हुनुहुन्छ र उहाँ कसरी कृष्णलाई प्रेम गर्ने सिकाउँदै हुनुहुन्छ | तसर्थ उहाँको विधि सबभन्दा आधिकारिक छ | जस्तै, तपाई यो स्थापनाको विशेषज्ञ हुनुहुन्छ | यदि कसैले केहि गर्दैछ, यदि तपाई व्यक्तिगत रुपमा उसलाई "यसरी गर" भन्दै सिकाउनुहुन्छ भने त्यो धेरै आधिकारिक हुन्छ | त्यसैले भागवत् चेतना, भगवान् स्वयंले सिकाउँदै हुनुहुन्छ | जस्तै भगवद्-गीतामा, कृष्ण भगवान् हुनुहुन्छ | उहाँ आफ्नो बारेमा बताउँदै हुनुहुन्छ | र अन्त्यमा उहाँ भन्नुहुन्छ,"केवल ममा आत्मसमर्पण गर | म तिम्रो जिम्मा लिन्छु |" तर मानिसले गलत बुझ्छन् | त्यसैले चैतन्य महाप्रभु-कृष्ण पुनः आउनुभयो, चैतन्य महाप्रभुको रुपमा, मानिसलाई कसरी आत्मसमर्पण गर्ने सिकाउन | र हामीले चैतन्य महाप्रभुको चरणचिह्नको अनुसरण गरेको कारण यो विधि निकै उत्कृष्ट छ, कहिल्यै कृष्णलाई नचिनेका विदेशी पनि आत्मसमर्पण गर्दैछन् | यो विधि निकै शक्तिशाली छ | त्यो मेरो उद्देश्य थियो | हामी भन्दैनौं कि "यो धर्म अर्को धर्मभन्दा राम्रो छ," अथवा "मेरो विधि राम्रो छ |" हामी नतिजाबाट देख्न चाहन्छौं | संस्कृतमा एउटा शब्द छ, फलेन परिचीयते | कुनै पनि कुराको निर्णय नतिजाबाट गर्न सकिन्छ |

संवादकर्ता: कुनै कुराको निर्णय....?

प्रभुपाद: नतिजाबाट |

संवादकर्ता: हो |

प्रभुपाद: तपाईले भन्न सक्नुहुन्छ, मैले भन्छु कि मेरो विधि निकै राम्रो छ | तपाई भन्न सक्नुहुन्छ तपाईको विधि निकै राम्रो छ, तर हामीले नतिजाबाट निर्णय गर्नुपर्छ | त्यो हो....भागवतमा भनिएको छ कि धर्मको त्यस्तो विधि निकै राम्रो हुन्छ, जसबाट मानिस भगवानको प्रेमी बन्छ |