NE/Prabhupada 0231 - भगवान् भनेको जो सम्पूर्ण ब्रह्माण्डको मालिक हुनुहन्छ



Lecture on BG 2.1-5 -- Germany, June 16, 1974

कृष्णलाई अधिकारीहरुले भगवानको रुपमा स्वीकारेका छन् | र भगवान को हुनुहुन्छ ? भगवान् भनेको जो छ ऐश्वर्यद्वारा पूर्ण रुपले सुसज्जित हुनुहुन्छ | सम्पूर्ण ऐश्वर्यले पूर्ण रुपमा सुसज्जित भनेको भगवान् सबभन्दा धनी व्यक्तित्व हुनुहुन्छ | भगवान् कति धनी हुनुहुन्छ, हामीले बुझ्न सक्छौं, हामी आफुसँग केहि एकड जमिन हुँदा गर्व गर्छौं, र भगवान् भनेको जो सम्पूर्ण ब्रह्माण्डको मालिक हुनुहुन्छ | तसर्थ उहाँलाई सबभन्दा धनी मानिन्छ | त्यसैगरी, उहाँलाई सबभन्दा बलियो मानिन्छ | त्यसैगरी, उहाँलाई सबभन्दा बुद्धिमान मानिन्छ | त्यसैगरी, उहाँ सबभन्दा सुन्दर व्यक्तित्व हुनुहुन्छ | यस प्रकारले, जब तपाईले कुनै मानिसलाई सबभन्दा धनी, सबभन्दा सुन्दर, सबभन्दा बुद्धिमान, सबभन्दा बलियो पाउनुहुन्छ- यस प्रकारले, जब तपाई पाउनुहुन्छ, ती भगवान् हुनुहुन्छ | जब कृष्ण यस ग्रहमा उपस्थित हुनुहुन्थ्यो, उहाँले यी सब ऐश्वर्य आफुसँग भएको प्रमाणित गर्नुभयो | मानौं, उदाहरणको लागि, सबजना विवाह गर्छन्, तर कृष्ण, परम पुरुष हुनुभएको कारण, उहाँले १६,१०८ पत्नी विवाह गर्नुभयो | तर यो होइन कि उहाँ सोह्र हजार पत्नीको लागि एक पति हुनुहुन्थ्यो | उहाँले सोह्र हजार पत्नीको लागि विभिन्न महलको व्यवस्था गर्नुभएको थियो | हरेक महल, त्यहाँ वर्णन छ, तिनीहरु प्रथम-श्रेणीको ढुंगाले बनेको थियो र हात्तीको दांतले सजाइएको थियो र बस्ने स्थान धेरै राम्रो, नरम सुतिले बनेको थियो | यस प्रकारको विवरण छ | बाहिरी बगैंचामा धेरै फुलका रुखहरु थिए | त्यो मात्र होइन, उहाँले आफुलाई पनि सोह्र हजार रुपमा विस्तार गर्नुभएको थियो, व्यक्तिगत विस्तार | र उहाँ त्यस प्रकारले हरेक पत्नीसँग बस्दै हुनुहुन्थ्यो | यो भगवानको लागि त्यति कठिन कार्य होइन | भगवान् सर्वत्र विराजमान हुनुहुन्छ | यदि उहाँ सोह्र हजार घरमा अवस्थित हुनुहुन्छ भने उहाँको लागि के कठिनाइ छ ? त्यसैले यहाँ भनिएको छ, श्री-भगवान् उवाच​ | सबभन्दा शक्त्शाली अधिकारी बोल्दै हुनुहुन्छ | तसर्थ, उहाँले जे भन्नुहुन्छ, त्यसलाई सत्यको रुपमा लिनुपर्छ | हाम्रो बद्ध जीवनमा हामी भौतिक परिस्थिति अन्तर्गत बाँच्दैछौं, हामीसँग चार कमी छन्: हामी गल्ति गर्छौं, हामी भ्रमित छौं, हामी ठग्न पनि चाहन्छौं र हाम्रा इन्द्रिय अपूर्ण छन् | त्यसैले चार प्रकारका कमी भएको मानिसबाट प्राप्त ज्ञान पूर्ण हुँदैन | जब तपाईले यी चार प्रकारका कमीभन्दा दिव्य मानिसबाट ज्ञान लिनुहुन्छ, त्यो पूर्ण ज्ञान हो | आधुनिक वैज्ञानिकहरु सिद्धान्त दिन्छन् कि "यो यस्तो हुन सक्छ | यो त्यस्तो हुन सक्छ," तर त्यो पूर्ण ज्ञान होइन | यदि तपाईले आफ्ना अपूर्ण इन्द्रियद्वारा कल्पना गर्नुहुन्छ भने त्यो ज्ञानको के मूल्य हुन्छ ? त्यो आंशिक ज्ञान हुन सक्छ, तर त्यो पूर्ण ज्ञान होइन | तसर्थ हाम्रो ज्ञान प्राप्त गर्ने प्रक्रिया भनेको यसलाई पूर्ण व्यक्तिबाट प्राप्त गर्नु हो | तसर्थ हामी भगवान् कृष्ण, सबभन्दा पूर्णबाट ज्ञान प्राप्त गर्दैछौं, त्यसैले हाम्रो ज्ञान पूर्ण छ | जस्तै एउटा बच्चा | ऊ अपूर्ण हुन सक्छ, तर यदि उसको पिताले भन्छन्,"मेरो प्रिय बाबु, यसलाई चस्मा भनिन्छ," र यदि बच्चाले "यो चस्मा हो" भन्छ भने त्यो ज्ञान पूर्ण हुन्छ | किनकी बच्चाले ज्ञान प्राप्त गर्न अनुसन्धान गर्दैन | उसले आफ्नो पिता वा मातालाई सोध्छ,"यो के हो, बुवा ? यो के हो आमा ?" र माताले भन्छिन्,"मेरो प्रिय बाबु, यो यस्तो हो |" अर्को उदाहरण दिन सकिन्छ कि यदि एउटा बच्चाले आफ्नो बाल्यकालमा जान्दैन, उसलाई आफ्नो पिता को हुन् थाहा हुँदैन, तब उसले कुनै अनुसन्धान गर्न सक्दैन | यदि उसले आफ्नो पिता थाहा पाउन अनुसन्धान गर्छ भने उसले कहिल्यै आफ्नो पिता थाहा पाउँदैन | तर यदि उसले आफ्नी मातालाई सोध्छ,"मेरो बुवाको हुनुहुन्छ ?" र माताले भन्छिन्,"उहाँ तिम्रो पिता हुनुहुन्छ," त्यो पूर्ण हुन्छ | तसर्थ ज्ञान, भगवानको ज्ञान, जुन तपाईको इन्द्रियातित अनुभूति भन्दा परको कुरा हो, तपाईले कसरी थाहा पाउनुहुन्छ ? तसर्थ तपाईले भगवान् स्वयं वा उहाँको प्रतिनिधिबाट थाहा पाउनुपर्छ | यहाँ कृष्ण, सर्वोच्च पुरुषोत्तम भगवान्, बोल्दै हुनुहुन्छ र उहाँ अन्तिम अधिकारी हुनुहुन्छ | उहाँ अर्जुनलाई निम्न कुरा भन्नुहुन्छ | उहाँ भन्नुहुन्छ अशोच्यान् अन्वशोचस् त्वं प्रज्ञा-वादांश् च भाषसे: (भ गी २।११) "मेरो प्रिय अर्जुन, तिमी धेरै विद्वानको रुपमा बोल्दैछौ, तर तिमी त्यस्तो विषयमा शोक गर्दैछौ, जुन तिमीले गर्नुहुँदैन |" गतासून् अगतासूंश् च नानुशोचन्ति पण्डिताः | गतासून् भनेको यो शरीर | जब यो मृत हुन्छ वा जब यो जीवित हुन्छ, जीवनको शारीरिक अवधारणा मूर्खता हो | त्यसैले कुनै पनि विद्वानले यो शरीरलाई गम्भिरतापूर्वक लिंदैन | तसर्थ वैदिक साहित्यमा भनिएको छ कि "जो जीवनको शारीरिक अवधारणामा छ, ऊ पशुभन्दा बढी हुँदैन |" तसर्थ वर्तमान समयमा सम्पूर्ण संसार आत्माको ज्ञान बिना, जीवनको शारीरिक अवधारणामा चल्दैछ | जीवनको शारीरिक अवधारणा पशुमा हुन्छ | कुकुर र बिरालो, तिनीहरु ठुलो कुकुर वा ठुलो बिरालो हुनुमा धेरै गर्व गर्छन् | त्यसैगरी, यदि एउटा मानिस पनि "म ठुलो अमेरिकी हुँ," "ठुलो जर्मन," "ठुलो" भन्दै गर्व गर्छ भने के भिन्नता रहन्छ ? तर त्यो वास्तवमा चल्दैछ, तसर्थ तिनीहरु कुकुर-बिरालो जसरी युद्ध गर्दैछन् |

हामी भोलि थप छलफल गर्नेछौं |