NE/Prabhupada 0283 - हाम्रो कार्यक्रम प्रेम गर्नु हो



Lecture -- Seattle, September 30, 1968


प्रभुपाद: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

भक्तहरु : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: हाम्रो कार्यक्रम भनेको मूल पुरुष गोविन्दको प्रेम र भक्ति सहित आराधना गर्नु हो | गोविन्दम् आदि-पुरुषं | यो कृष्ण भावना हो | हामी मानिसलाई कृष्णलाई प्रेम गर्न सिकाउँदैछौं, त्यति हो | हाम्रो कार्यक्रम भनेको प्रेम गर्ने र आफ्नो प्रेमलाई उचित स्थानमा स्थापित गर्ने हो | सबजना प्रेम गर्न चाहन्छन् तर अनुचित स्थानमा आफ्नो प्रेम स्थापित गरेको कारण मानिस अशान्त हुन्छन् | मानिसले यो कुरा बुझ्दैनन् | तिनीहरुलाई सिकाइएको छ "सर्वप्रथम तिमी आफ्नो शरीरलाई प्रेम गर |" त्यसपछि थोरै बढाउने, "तिमी आफ्ना माता-पितालाई प्रेम गर |" त्यसपछि "आफ्ना दाजु-बहिनीलाई प्रेम गर |" त्यसपछि "आफ्नो समाजलाई प्रेम गर, आफ्नो देशलाई प्रेम गर, सम्पूर्ण मानव समाजलाई प्रेम गर |" तर यो सबै विस्तारित प्रेम, तथाकथित प्रेमले तपाईलाई तबसम्म सन्तुष्टि दिंदैन, जबसम्म तपाई कृष्णलाई प्रेम गर्ने विन्दुसम्म पुग्नुहुँदैन | तब तपाई सन्तुष्ट हुनुहुनेछ | जस्तै यदि तपाईले कुनै पानीको तलाउमा वा तालमा ढुंगा फाल्नुहुन्छ भने त्यहाँ तत्काल एउटा गोलो बन्छ | त्यो गोलो बढ्छ र बढ्दै, बढ्दै, बढ्दै, जब गोलोले किनारमा छुन्छ, तब यो रोकिन्छ | जबसम्म त्यो गोलो पानीको तलाउको किनारसम्म पुग्दैन, तबसम्म त्यो बढ्दै जान्छ | त्यसैले हामी बढ्नुपर्छ | बढ्नु भनेको यसका दुई मार्ग छन् | जब तपाईले "म मेरो समाजलाई प्रेम गर्छु, म मेरो देशलाई प्रेम गर्छु, म मेरो मानव समाजलाई प्रेम गर्छु" भनेर अभ्यास गर्दै "जीव" सम्म पुग्नुहुन्छ, अघि बढ्दै जानुहोस्....... तर यदि तपाईले सिधै कृष्णलाई प्रेम गर्नुहुन्छ भने सबै कुरा प्राप्त हुन्छ | यो धेरै राम्रो छ | कृष्ण सर्व-आकर्षक हुनुभएको कारण उहाँमा सबै कुरा समाहित छ | किन सबै ? किनकि कृष्ण केन्द्रविन्दु हुनुहुन्छ | जस्तै एउटा परिवारमा, यदि तपाईले आफ्ना पितालाई प्रेम गर्नुहुन्छ भने तपाईले आफ्ना दाजुभाई, दिदीबहिनी पिताको घर, आफ्नी आमा, सबैलाई प्रेम गर्नुहुन्छ | पिता केन्द्रविन्दु हुन् | यो साधारण उदाहरण हो | त्यसैगरी, यदि तपाईले कृष्णलाई प्रेम गर्नुहुन्छ भने तपाईको प्रेम सर्वत्र विस्तारित हुनेछ | अर्को उदाहरण, जस्तै यदि तपाईले एउटा रुखलाई प्रेम गर्नुहुन्छ भने त्यसमा पात, फुल, हाँगा-बिंगा सबै पर्छन् | तपाईले केवल जरामा पानी हाल्नुभयो भने तपाईको रुखप्रतिको प्रेम स्वत: झल्किन्छ | यदि तपाईले आफ्ना देशवासीलाई प्रेम गर्नुहुन्छ, यदि तपाई आफ्ना देशवासीलाई शिक्षित देख्न चाहनुहुन्छ, आर्थिक, मानसिक र शारीरिक रुपमा विकसित देख्न चाहनुहुन्छ भने तपाईले के गर्नुपर्छ ? तपाईले सरकारलाई कर तिर्नुपर्छ | तपाईले आफ्नो आयकर लुकाउनुहुन्न | तपाईले केन्द्रिय सरकारलाई कर तिर्नुहुन्छ र यो शैक्षिक विभागमा वितरित हुन्छ, रक्षा विभागमा वितरित हुन्छ, स्वास्थ्‍य विभागमा वितरित हुन्छ, सर्वत्र वितरित हुन्छ | तसर्थ....... यी साधारण उदाहरण हुन् तर यदि तपाई वास्तवमा सबै कुरालाई प्रेम गर्न चाहनुहुन्छ भने तपाई कृष्णलाई प्रेम गर्ने प्रयास गर्नुहोस् | तपाई विचलित हुनुहुनेछैन किनकि त्यो पूर्ण हुन्छ | जब तपाईको प्रेम पूर्ण हुन्छ, तब तपाई विचलित हुनुहुनेछैन | जस्तै तपाईले पूर्ण रुपमा भोजन ग्रहण गर्नुहुन्छ | यदि तपाई पूर्णतः भोजनबाट सन्तुष्ट हुनुहुन्छ भने तपाईले भन्नुहुन्छ "म सन्तुष्ट छु | मलाई अरु चाहिंदैन |"