NE/Prabhupada 0805 - कृष्ण भावनामा उनीहरुलाई बन्धन र मुक्तिको शिक्षा दिइन्छ
Lecture on SB 5.5.2 -- London, September 17, 1969
प्रभुपादः महात्मानस्ते...महान्तस्ते समचित्ताः प्रशान्ता विमन्यव सुहृदः साधवो ये (श्रीमद्भागवत ५।५।२) अघिल्लो सत्संगमा हामीले मुक्तिको मार्गका बारेमा बहस गरिरहेका थियौँ । संसारमा दुई किसिमक मार्गहरू छन् । दुईमध्ये एउटा मार्गले मुक्तितिर लैजान्छ । मुक्ति भनेको यो भौतिक बन्धनबाट मुक्ति हो । मानिसहरू बुझ्दैनन् कि भौतिक बन्धन भनेको के हो, तर जो कृष्णभावनाभावित छन्, तिनीहरूलाई ज्ञान हुन्छः बन्धन के हो र मोक्ष के हो । भगवान्को अंश भएको कारणले जीवात्मा स्वाभावैले अत्यन्त शक्तिशाली हुन्छ । हामीलाई थाहा छैन कि हामीसँग कति आध्यात्मिक शक्ति छ, तर भौतिक आवरणद्वारा यो दबिएको छ । ठीक यो आगोजस्तै । यो आगो, यदि आगोमा धेरै मात्रामा खरानी छ भने, आगोको तापलाई राम्ररी ताप्न सकिँदैन । तर जब तपाईंले खरानी हटाएर आगोलाई फुक्नुहुन्छ र जब आगो दन्किन थाल्दछ, त्यसपछि, तपाईंले पर्याप्त ताप प्राप्त गर्नुहुन्छ र तपाईंले त्यसलाई अनेक काममा प्रयोग गर्न सक्नुहुन्छ । त्यसैगरी, हामी जीवात्मासँग पनि प्रचण्ड शक्ति हुन्छ । र भगवान् सर्वोच्च आत्मा हुनुहुन्छ, त्यसकारण, हामी कल्पना पनि गर्न सक्दैनौँ कि भगवान्सँग कति शक्ति छ । तर हामी केवल सूक्ष्म अंश हौँ...ठीक त्यो जस्तै... यसलाई आगो तथा आगोको झिल्कासँग तुलना गरिएको छ । आगो तथा आगोको झिल्को, दुवै आगो नै हुन् । आगोको झिल्को समेत, जहाँजहाँ त्यो झिल्का खस्दछ, तत्काल त्यो बल्दछ । त्यसैगरी, हामीसँग पनि भगवान्मा हुने सबै गुणहरू छन्, तर सूक्ष्म मात्रामा । भगवान्सँग सृष्टि गर्न सक्ने शक्ति छ; त्यही कारणले हामी पनि अनेक वस्तुहरूको सृष्टि गरिरहेका छौँ । वैज्ञानिकहरू अनेक अद्भुत वस्तुहरूको निर्माण गरिरहेका छन् । हामीजस्ता मानिसहरूका लागि यो आश्चर्यजनक छ, किनभने हामी जान्दैनौँ कि आत्माले के–के गर्न सक्दछ । त्यो हामी जान्दैनौं ।