NE/Prabhupada 0810 - यो भौतिक जगतको खतरनाक परिस्थितिद्वारा विचलित नहोऊ



741003 - Lecture SB 01.08.23 - Mayapur


त्यसकारण, यहाँ विशेषगरी एउटा कुरा उल्लेख गरिएको छ कि मुहुर्विपद्–गणात् । मुहुः भनेको चौबीसै घण्टा अर्थात् सधैँ, लगभग चौबीसै घण्टा । मुहुः । मुहुः भनेको “बारम्बार, बारम्बार” हो । त्यसकारण, विपत् । विपत् भनेको “खतरा” हो । र गण, गण भनेको बहु अर्थात् धेरै हो अर्थात् केवल एक किसिमको खतरा होइन तर अनेक किसिमका खतराहरू । त्यसकारण, मुहुर्विपद्–गणात्, को कष्ट भोगिरहेको छ ? अब, कुन्ती । र अरु को कष्ट भोगिरहेको छ ? अब, देवकी । देवकी कृष्णकी आमा हुनुहुन्छ र कुन्ती कृष्णकी फूपू हुनुहुन्छ । उहाँहरू दुवैजना साधारण स्त्री हुनुहुन्न । कृष्णको आमा अथवा फूपू बन्नु भनेको कुनै साधारण कुरा होइन । यसका लागि अनेकौँ, अनेकौँ जीवन तपस्या गर्नुपर्दछ । त्यसपछि मात्र कोही कृष्णकी आमा बन्न सक्दछ । र उहाँहरू समेत विपत्तिमा पर्नुभएको थियो, मुहुर्विपद्–गणात्, सधैँ विपत् । हुन त कृष्ण उहाँहरूका लागि अत्यन्त सजिलै उपलब्ध हुुनुहुन्थ्यो तापनि... देवकीले कृष्णलाई जन्म दिनुभयो तर परिस्थिति यति खतरनाक थियो कि उहाँले आफ्नो पुत्रलाई आफूसँगै राख्न पनि सक्नुभएन । आफ्नो पुत्रलाई तत्काल अन्यत्र कतै लैजानुपर्ने थियो । हेर्नुहोस् त, कति धेरै विपत्, कति धेरै विपत् । कृष्णकी आमाले आफ्नो पुत्रलाई आफ्नो काखमा राख्न पाउनुभएन । प्रत्येक आमाले आफ्नो नवजात पुत्रलाई नजिकै राख्न चाहन्छिन् तर दुश्मन कंसको कारणले उहाँले आफ्नो पुत्रलाई आफूसँगै राख्न सक्नुभएन। र पाण्डवहरूका लागि कृष्ण नित्य साथमा हुनुहुन्थ्यो । पाण्डवहरू जहाँ गएपनि कृष्ण साथमा रहनुहुन्थ्यो । कृष्ण...द्रौपदी खतरामा हुनुहुन्छ । द्रौपदीलाई दुर्योधन, दुःशासन आदि कौरवहरूले निर्वस्त्र पार्ने प्रयास गरे । तर द्रौपदीका लागि कृष्णले कपडा पठाइदिनुभयो । त्यसकारण, एउटी नारीलाई असंख्य पुरुषहरूको सभामा निर्वस्त्र पारिनु भनेको त्यो नारीका लागि सबैभन्दा ठूलो विपत्ति हो । यो सबैभन्दा ठूलो खतरा हो, कुन्तीदेवीले भोग्नुभएको अन्य खतराहरूलाई पछिका श्लोकहरूमा वर्णन गरिनेछ । उहाँ भन्नुुहुन्छ, विमोचिताहं च सहात्मजा विभोः “म अनेकौँ खतरनाक परिस्थितिहरूबाट मुक्त भएँ, केवल म मात्र होइन, तर मेरा पुत्रहरूसँगै ।” त्यसकारण, सत्य यो हो कि कृष्णसँग अत्यन्त अन्तरंग सम्बन्ध भएका कुन्ती अथवा देवकी समेत, उहाँहरूले समेत अनेकौँ खतराहरूको सामना गर्नुप¥यो भने अरुहरूको के कुरा गर्ने ? अरुहरूको तथा हाम्रो के कुरा गर्ने ? त्यसकारण, खतरामा पर्दा हामी हतोत्साहित हुनु हुँदैन । हामीले उत्साह लिनुपर्दछ कि कुन्ती, वसुदेव तथा देवकी समेत, उहाँहरू समेत खतरामा हुनुहुन्थ्यो तर उहाँहरूको कृष्णसँग अत्यन्त, अत्यन्त अन्तरंग सम्बन्ध थियो । त्यसकारण, हामी यो भौतिक संसारका खतराहरूबाट विचलित हुनु हुँदैन । यदि हामी वास्तवमै कृष्णभावनाभावित छौँ भने हामीले कृष्णमा भरोसा राखेर ती खतराहरूको सामना गर्नुपर्दछ । अवश्य रखिबे कृष्ण विश्वास पालन । यसलाई समर्पण भनिन्छ ः “म खतरामा हुन सक्दछु, तर कृष्ण.... मैले कृष्णको शरण लिएको छु । उहाँले मलाई बचाउनै पर्दछ ।” यो विश्वास कायम राख । जब तिमी खतरामा हुन्छौ तब तिमी विचलित नहोऊ किनभने यो संसार यस्तो... पदं पदं विपदाम् । यहाँ प्रत्येक पाइलामा खतरा छ । जस्तै, हामी सडकमा हिँडिरहेका छौँ । तुरुन्त हामीलाई काँडा बिझ्न सक्दछ । र काँडा बिझेपछि पाक्न पनि सक्छ र यो शरीरका लागि खतरनाक पनि हुन सक्दछ । त्यसकारण, सडकमा हिँड्दा समेत, सडकमा कुराकानी गर्दा समेत अथवा भोजन गर्दा समेत, त्यहाँ.... र अँग्रेजीमा भन्ने गरिन्छ,“गिलास तथा मुखबीच पनि अनेक खतराहरू हुन सक्दछन् ।” त्यसकारण, तपाईंले सधैँ याद राख्नुपर्दछ कि यो भौतिक संसार केवल खतराहरूले भरिएको छ । यदि तपाईं सोच्नुहुन्छ कि “हामी अत्यन्त सुरक्षित छौँ; हामी अत्यन्त कुशल छौँ; हामीले यो संसारलाई अत्यन्त सुखी बनाएका छौँ,” यस्तो सोच्नुभएमा तपाईं एक नम्बरको मूर्ख बन्नुहुनेछ । पदं पदं यद् विपदाम् (श्रीमद्भागवत १०।१४।५८) । तर यदि तपाईंले कृष्णको आश्रय लिनुहुन्छ भने यी खतराहरू केही पनि होइनन् । कुन्तीदेवी भन्नुहुन्छ, विमोचित । विमोचित भनेको खतराबाट मुक्त भएको अवस्था हो । अहम् । सहात्मजाः “मेरो...” त्यसकारण, यो कृष्णको बारेमा गरिएको अध्ययन हो कि यदि तिमी कृष्णभावनाभावित अर्थात् कृष्णको इमानदार सेवक बन्दछौ भने, यो भौतिक संसारका खतरनाक परिस्थितिहरूबाट विचलित नहुनुहोस् । तपाईं केवल कृष्णमा भरोसा राख्नुहोस् र उहाँले तपाईंलाई सुरक्षित राख्नुहुनेछ ।

धेरै धेरै धन्यवाद ।