NE/Prabhupada 0813 -वास्तविक स्वतन्त्रता भनेको यी भौतिक नियमहरुको फन्दाबाट मुक्त हुनु हो



751011 - Lecture BG 18.45 - Durban


यो प्रल्हाद महाराजको वाणी हो । उहाँ आफ्नो विद्यालयका सहपाठीहरूलाई कृष्णभावनामृतको प्रचार गरिरहनुभएको थियो । प्रल्हादले हिरण्यकशिपु नामक असुरको परिवारमा लिनुभएको थियो । उहाँलाई “कृष्ण” भनेर बोल्न समेत निषेध गरिएको थियो । आफ्ना पिताको महलमा प्रल्हादले कृष्णको नाम लिने अवसर पाउनुभएन । त्यसैले, जब प्रल्हाद विद्यालय जानुहुन्थ्यो तब खाजा खाने समय उहाँ आफ्ना साना–साना साथीहरूलाई बोलाउनुहुन्थ्यो, पाँच वर्षको बालकले यो भागवत धर्मको प्रचार गर्दथ्यो । अनि प्रल्हादका साथीहरूले भन्दथे, “प्रिय प्रल्हाद, हामी अहिले बालक नै छौँ । हामीलाई भागवत धर्मको केही काम छैन । आऊ, खेल्न जाऔँ ।” “अहँ,”प्रल्हाद भन्नुहुन्थ्यो, “अहँ म जान्नँ ।” कौमार आचरेत् प्राज्ञो धर्मान् भागवतान् इह, दुर्लभं मानुषं जन्म (श्रीमद्भागवतम् ७।६।१) “प्रिय मित्रहरू, यस्तो नभन कि म वृद्ध भएपछि कृष्णभावनामृतलाई अपनाउनेछु । होइन, होइन ।” दुर्लभम् । “हामीलाई थाहा छैन कि हामी कहिले मर्नेछौँ । मृत्यु हुनुभन्दा अगाडि नै हामीले कृष्णभावनामृतको शिक्षालाई पूर्ण गर्नुपर्दछ ।” यही नै मनुष्य जीवनको लक्ष्य हो । नत्र, हामीले अवसर गुमाउनेछौँ । त्यसैले, सबैजना अमर हुन चाहन्छन् तर प्रकृतिले यसको अनुमति दिनेछैन । यो सत्य हो । हामीले आफूलाई खुब स्वतन्त्र ठान्न सक्छौँ तर वास्तवमा हामी स्वतन्त्र छैनौँ । हामी प्रकृतिको कठोर नियमको अधीनमा छौँ । एउटा युवाले भन्न सक्दैन “म कहिल्यै पनि वृद्ध हुनेछैन ।” होइन । तपाईं वृद्ध हुनै पर्दछ । यो प्रकृतिको नियम हो । र यदि तपाईं भन्नुहुन्छ कि,“म कहिल्यै मर्नेछैन ।” होइन, तपाईं मर्नैपर्नेछ । यो प्रकृतिको नियम हो । त्यसकारण, हामी मूढहरू हौँ वास्तवमा हामी जान्दैनौँ कि प्रकृतिको नियम के हो । प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः ।अहंकारविमूढात्मा कर्ताहमिति मन्यते । (श्रीमद्भगवद्गीता ३।२७) सबै कुराहरू भौतिक प्रकृतिको नियमअनुसार चलिरहेका छन्, र अझै पनि हामी यति मूर्ख र बदमाश छौँ कि हामी आफूलाई स्वतन्त्र ठानिरहेका छौँ । यो हाम्रो गल्ती हो । यो हाम्रो गल्ती हो । हामीलाई जीवनको उद्देश्य के हो, थाहा छैन, प्रकृतिले हामीलाई कसरी चलाइरहेकी छिन्, हामी जीवनका समस्याहरूबाट कसरी बच्न सक्दछौँ ? हामी जीवनका अस्थायी समस्याहरूको समाधान गर्नमै व्यस्त छौँ । जस्तो कि स्वतन्त्रता अथवा परतन्त्रता । यी सबै अस्थायी समस्याहरू हुन् । वास्तवमा हामी स्वतन्त्र छैनौँ । हामी प्रकृतिका नियमहरूको अधीनमा छौँ । र मानौँ कि हामी स्वतन्त्र भयौँ, तथाकथित स्वतन्त्र, केही दिनका लागि । यो स्वतन्त्रता होइन । वास्तविक स्वतन्त्रता भनेको यी भौतिक नियमहरूको फन्दाबाट मुक्त हुनु हो । त्यसकारण, कृष्णले तपाईंका सामु समस्या प्रस्तुत गर्नुहुन्छ.... हामी अनेक समस्याहरूले ग्रस्त छौँ तर ती सबै अस्थायी हुन् । वास्तविक समस्या भनेको, कृष्ण भन्नुहुन्छ, जन्म–मृत्यु–जरा–व्याधि–दुःख–दोषानुदर्शनम् (भगवद्गीता १३।९) ज्ञान प्राप्त गरेको मानिसले सधैँ वास्तविक समस्यालाई अगाडि राख्नुपर्दछ । वास्तविक समस्या के हो त ? जन्म, मृत्यु, वृद्धावस्था तथा रोग । यही नै तपाईंको वास्तविक समस्या हो । त्यसकारण, जन्म, मृत्यु, रोग तथा वृद्धावस्था, यी चार समस्याहरूको समाधान गर्नका लागि हामीलाई मनुष्य जीवन मिलेको हो । र कृष्णभावनामृतद्वारा त्यसको समाधान गर्न सकिन्छ । त्यसकारण, जीवनका यी वास्तविक समस्याहरूलाई समाधान गर्नका लागि हामी यो कृष्णभावनामृत अभियानलाई अघि बढाइरहेका छौँ । त्यसैले, हाम्रो अनुरोध छ कि तपाईं यो कृष्णभावनामृत अभियानलाई अत्यन्त गम्भीर रुपमा लिनुहोस्, र जीवनका यी वास्तविक समस्याहरूको समाधान गर्नुहोस् । र जीवनका ती समस्याहरू केवल कृष्णलाई बुझेर नै समाधान गर्न सकिन्छ । केवल कृष्णलाई बुझेर । जन्म कर्म च दिव्यं मे यो जानाति तत्वतः । त्यक्त्वा देहं पुर्नजन्म नैति मामेति कौन्तेय (भगवद्गीता ४।९) । यही नै समस्याहरूको समाधान हो ।