NE/Prabhupada 0815 - भगवान् साक्षी हुनुहुन्छ र उहाँले नतिजा प्रदान गर्नुहुन्छ



751013 - Lecture BG 13.01-3 - Durban


भगवान् हृदयको भित्री भागमा विराजमान हुनुहुन्छ, र जीवात्मा पनि हृदयको भित्री भागमा नै बस्दछ । तिनीहरु रुखको हाँगामा बसिरहेका दुईओटा पक्षीहरुजस्तै गरी बसिरहेका छन् । यो वेदको वाणी हो । दुईओटा पक्षीहरु एउटै वृक्षको हाँगामा बसिरहेका छन् । एउटा पक्षी रुखको फल खाइरहेको छ र अर्को पक्षी केवल साक्षी बनेर बसिरहेको छ । यो वेदको वाणी हो । हामी त्यो फल खाइरहने पक्षी अर्थात् जीवात्मा हौँ । हामीले कर्म गर्नु तथा त्यो कर्मको फल भोग्नु भनेको रुखको फल खाइरहनु जस्तो हो । तर भगवान् अर्थात् परमात्मा त्यो रुखका फलहरु खाने इच्छा गर्नुहुन्न । उहाँ आफैँमा सन्तुष्ट हुनुहुन्छ । उहाँ केवल तपाईंले कर्म गरिरहेको हेरिरहनुहुन्छ । हामी भौतिक शरीरको सहायताले कर्म गरिरहेका छौँ र भगवान् पनि यही शरीरको हृदयमा विराजमान हुनुहुन्छ । त्यसैले, हृदयमा भगवान् हुनुहुन्छ, र हामी व्यष्टि जीवात्मा पनि छौँ । त्यसोभए, उहाँ किन त्यहाँ हुनुहुन्छ ? किनभने उहाँ हाम्रो मित्र हुनुहुन्छ । सुहृदं सर्वभूतानां (भगवद्गीता ५।२९) । वेदमा उल्लेख गरिएको छ कि दुईओटा मित्र पक्षीहरु । भगवान् हाम्रो वास्तविक मित्र र शुभचिन्तक (सुहृद) हुनुहुन्छ । उहाँ केवल हाम्रो मुहारलाई उहाँतिर फर्काउने प्रयास गरिरहनुभएको छ । जबसम्म जीवात्माले उहाँतिर मुहार फर्काउँदैन तबसम्म उसले अनेक शरीरहरु धारण गरिरहनुपर्ने हुन्छ र भगवान् पनि ऊसँगै गइरहनुहुन्छ । उहाँ अत्यन्त मैत्रीपूर्ण हुनुहुन्छ—केवल उसलाई उपयुक्त समयमा बुझाउनका लागि कि “तिमी किन एकपछि अर्को गर्दै शरीरहरु परिवर्तन गरिरहेका छौ ? तिमी किन मकहाँ आएर शान्त तथा आनन्दमय जीवन बिताउँदैनौ ?” भगवान्को उद्देश्य यही हो । यदा यदा हि धर्मस्य ग्लानिर्भवति, तदात्मानम् सृजाम्यहम् । (भगवद्गीता ४।७) त्यसैले, भगवान् हाम्रो अत्यन्त महान् मित्र हुनुहुन्छ । उहाँ सदैव हाम्रो साक्षी, हाम्रो साक्षी हुुनुहुन्छ । र हाम्रो इच्छाअनुसार भगवान्ले हामीलाई सुविधाहरु प्रदान गर्नुभएको छः “ठीक छ, तिमी यसरी रमाउन चाहन्छौ ? ठीक छ, यस्तो शरीर धारण गर र रमाऊ ।” वास्तवमा तिमी रमाइरहेका छैनौ । यदि हामी भोजनको कुनै पनि नियम बनाउँदैनौँ भने, हामी जे पनि खान सक्छौँ र जे पनि गर्न सक्छौँ, दुरुस्तै सुँगुर र बंगुरहरुजस्तै । अनि भगवान् भन्नुहुन्छ, “ए ठीक छ, सुँगुर र बंगुरको शरीर धारण गर, अनि तिमीले विष्ठा समेत खान सक्नेछौ । म तिमीलाई यो सुविधा दिन्छु ।” हाम्रो इच्छाअनुसार नै हामीले शरीर पाउँदछौँ, र भगवान्ले हाम्रो इच्छापूर्तिका लागि एउटा विशेष निश्चित किसिमको शरीर प्रदान गर्नुहुन्छ । ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति । भ्रामयन् सर्वभूतानि यन्त्रारूढानि मायया । (भगवद्गीता १८।६१) उहाँ भौतिक प्रकृतिलाई आदेश दिनुहुन्छ कि “यो जीवले यसरी भोग गर्नका लागि यस्तो किसिमको शरीर पाउने चाहना गरेको छ, त्यसकारण, उसलाई त्यो प्रदान गर ।” त्यसैले। भौतिक प्रकृतिले तत्काल एउटा त्यस्तो शरीर तयार पार्दछिन् । यं यं वापि स्मरन् लोके त्यजति अन्ते...(भगवद्गीता ८।६) । त्यसकारण, मृत्युको समयमा हाम्रो इच्छाअनुसार... मेरो मन विशेष किसिमको इच्छाले ग्रस्त भएको छ, तत्काल एउटा त्यस्तै किसिमको शरीर तयार हुन्छ । दैव–नेत्रेण, दैवी कानुनअनुसार, जीवात्मालाई विशेष आमाको गर्भमा प्रवेश गराइन्छ, र उसले त्यो विशेष शरीरको विकास गर्दछ । त्यसपछि, ऊ गर्भबाट निस्केर सुखदुःखको भोग गर्दछ । यो क्रम चलिरहेको छ । भूत्वा भूत्वा प्रलीयते (भगवद्गीता ८।१९) । त्यसैले, भगवान् साक्षी हुनुहुन्छ । उहाँ सधैँ हामीसँगै हुनुहुन्छ । हामी जुन वस्तुको इच्छा गरिरहेका छौँ, हामी जुन कर्म गरिरहेका छौँ, उहाँ हाम्रो साक्षी हुुनुहुन्छ र उहाँले हामीलाई फल प्रदान गरिरहनुभएको छ । त्यसकारण, कृष्ण भन्नुहुन्छ, क्षेत्रज्ञं चापि मां विद्धि (भगवद्गीता १३।३)ः “म पनि यो भौतिक शरीरको एक निवासी हूँ । तर तिमी र मबीच के भिन्नता छ ? तिमी केवल आफ्नो शरीरलाई जान्दछौँ तर म सबैको शरीरको सबै कुरा जान्दछु ।” क्षेत्रज्ञं चापि मां विद्धि सर्वक्षेत्रेषु । भगवान्लाई एउटा सानो कमिलाको समेत इच्छा तथा गतिविधिहरु थाहा हुन्छ, र उहाँलाई भगवान् ब्रह्माका इच्छा तथा गतिविधिहरुको पनि ज्ञान हुन्छ, यो ब्रह्माण्डमा रहेका सबैभन्दा ठूलो जीवमा होस् तथा सबैभन्दा सानो जीवमा होस्, सर्वत्र भगवान् विराजमान हुनुहुन्छ । भनिएको छ, ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति (भगवद्गीता १८।६१)ः “उहाँ प्रत्येकको हृदयमा बिराजमान हुनुहुन्छ ।” यसको अर्थ यो होइन कि उहाँ ब्राह्मणको हृदयमा चाहीँ बस्नुहुन्छ र कमिलाको हृदयमा बस्नुहुन्न । होइन, उहाँ सबैको हृदयमा बिराजमान हुनुहुन्छ ।