NE/Prabhupada 0902 - यदि तिमी कृष्णभावनाभावित भयौ भने सम्पूर्ण वस्तुहरू प्रशस्त मात्रामा उपलब्ध हुनेछन्

Revision as of 07:18, 17 January 2018 by Visnu Murti (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


730415 - Lecture SB 01.08.23 - Los Angeles


यहाँ केवल कृष्णभावनामृतको मात्र कमी छ । यदि तिमी कृष्णभावनाभावित भयौ भने सम्पूर्ण वस्तुहरू प्रशस्त मात्रामा उपलब्ध हुनेछन् ।

प्रभुपाद: कृष्णको ईर्ष्या गर्नु नै भौतिक जीवनको सुरुवात हो । “किन कृष्ण मात्र भोक्ता हुने ? म पनि भोक्ता बन्नेछु । किन कृष्णले मात्र गोपीहरूसँग आनन्द मनाउने ? म पनि कृष्ण बन्नेछु र गोपीहरूको समूह बनाएर आनन्द मनाउनेछु ।” यो माया हो । कोही पनि भोक्ता बन्न सक्दैन । त्यसकारण, कृष्ण भन्नुहुन्छ: भोक्तारं यज्ञतपसां....(भगवद्गीता ५।२९) । केवल कृष्ण मात्र एक्लो भोक्ता हुनुहुन्छ । र यदि हामीले कृष्णको आनन्दका लागि सामाग्रीहरू जुटायौँ भने यही नै हाम्रो जीवनको परमसिद्धि हो । र यदि हामी कृष्णको नक्कल गर्न चाहन्छौँ र “म पनि भगवान् बन्नेछु” र “म एउटा नक्कली भोक्ता बन्नेछु” भन्छौँ भने तिमी मायामा छौ । हाम्रो कर्म भनेको केवल....गोपीहरूको जस्तो जीवन जिउनु हो । कृष्ण आनन्द मनाइरहनुहुन्छ र गोपीहरूले उहाँलाई आनन्दका सामाग्रीहरू उपलब्ध गराइरहनुहुन्छ । यही नै भक्ति हो । हामी कृष्णको सेवा गर्नका निम्ति अस्तित्वमा छौँ....कृष्ण स्वामी हुनुहुन्छ र हामी सेवक हौँ । सेवकका सम्पूर्ण आवश्यकताहरू स्वामीले परिपूर्ति गरिदिनुहुन्छ, तर सेवकको दायित्व आफ्नो स्वामीको सेवा गर्नु हो । यत्ति नै हो । एको बहूनां यो विदधाति कामान् नित्यो नित्यानां चेतनश्चेतनानाम्....(कठोपनिषद २।२।१३) । यी सबै वेदका ज्ञान हुन्....कृष्णले तिम्रो निम्ति प्रचुर मात्रामा सम्पूर्ण आवश्यक वस्तुहरू उपलब्ध गराइरहनुहुन्छ । कृष्णका लागि केही कमी छैन । कृष्णका लागि आर्थिक समस्या पनि छैन । तिमी केवल कृष्णको सेवा गर्ने प्रयास गर । त्यसपछि, सम्पूर्ण कुराहरू परिपूर्ण हुनेछ । किनभने कृष्ण हृषीकेश हुनुहुन्छ । यदि कृष्णले चाहनुभयो भने प्रशस्त मात्रामा आवश्यक वस्तुहरूको आपूर्ति हुन्छ । तिमीहरूको देशमा जस्तै, यहाँ प्रशस्त मात्रामा आवश्यक वस्तुहरू उपलब्ध छन् । अन्य देशहरूमा.... म स्वीट्जरल्याण्ड गएको थिएँ: त्यहाँ सबै वस्तुहरू बाहिरबाट आयात गरिन्छ । त्यहाँ केही पनि पाइँदैन । त्यहाँ केवल हिउँ मात्र उपलब्ध छ (हाँसो चल्छ) । तिमीलाई कति हिउँ चाहिन्छ ? हेर त ? त्यसैगरी, सम्पूर्ण वस्तुहरू कृष्णको नियन्त्रणमा छन् । यदि तिमी कृष्णको भक्त भयौ भने तिमीलाई हिउँ होइन, भोजनको आपूर्ति हुनेछ । र यदि तिमी भक्त बनेनौ भने तिमी हिउँले पुरिनेछौ (हाँसो चल्छ) । यत्ति नै हो । आकाश सधैँ बादलले ढाकिनेछ । सबै कुराहरू कृष्णको नियन्त्रणमा छन् । अतः वास्तवमा यहाँ केहीको पनि अभाव छैन । अभाव छ त केवल कृष्णभावनामृतको । त्यसकारण, यदि तिमी कृष्णभावनाभावित भयौ भने सम्पूर्ण वस्तुहरू प्रचुर मात्रामा उपलब्ध हुनेछन् । कुनै अभाव हुनेछैन । यही नै प्रकृया हो । त्वया हृषीकेश....र यहाँ भनिएको छ: त्वया हृषीकेश.... यथा हृषीकेश खलेन देवकी (श्रीमद्भागवत १।८।२३) । यो संसार खतराले भरिएको छ । तर कुन्तीदेवी भन्नुहुन्छ, देवकी हजुरको भक्त भएकीले हजुरले उहाँलाई बचाउनुभयो उहाँको ईर्ष्यालु भाइले दिएका दुःखहरूबाट उहाँलाई बचाउनुभयो ।” जब कंसले सुन्यो कि “मेरी बहिनीको आठौँ पुत्रले मलाई मार्नेछ” तब ऊ तत्काल देवकीलाई मार्न तयार भयो । र उसलाई देवकीका पति वसुदेवले शान्त पार्नुभयो । श्रीमतीको सुरक्षा गर्नु श्रीमान्को दायित्व हो । वसुदेवले भन्नुभयो, “प्रिय जेठान, तपाईं किन आफ्नी बहिनीको ईर्ष्या गर्नुहुन्छ ? आखिर, तपाईंकी बहिनीले त तपाईंलाई मार्ने होइन । उनको पुत्रले पो तपाईंलाई मार्ने हो त । समस्या त उनको पुत्रसँग छ । त्यसकारण, म मेरा सम्पूर्ण पुत्रहरू तपाईंलाई हस्तान्तरण गर्नेछु, त्यसपछि, तपाईं आफ्नो इच्छाअनुसार गर्न सक्नुहुनेछ । तपाईं यी नवविवाहिता निर्दोष स्त्रीलाई किन मार्न खोज्दै हुनुहुन्छ ? उनी तपाईंकी कान्छी बहिनी हुन् र उनी तपाईंकी छोरीजस्तै छिन् । तपाईंले त उनलाई सुरक्षा दिनुपर्दछ । तपाईं किन यस्तो गर्दै हुनुहुन्छ ?” यसप्रकार, कंस शान्त भयो । कंसले वसुदेवको वाणीमा विश्वास ग¥यो कि वसुदेवले आफ्ना सबै पुत्रहरू उसलाई हस्तान्तरण गर्नुहुनेछ, “र तपाईंलाई इच्छा लाग्यो भने उनीहरूलाई मार्न सक्नुहुन्छ ।” वसुदेवले विचार गर्नुभयो, “अहिलेको परिस्थितिलाई सम्हालौँ । आखिर, भानिजको जन्म भएपछि सायद उसले यो ईर्ष्यालाई भुल्छ कि ।” तर कंसले कहिल्यै, कहिल्यै पनि भुलेन । हो । उसले वसुदेवका ६ जना पुत्रहरूलाई मा¥यो र वसुदेव तथा देवकीलाई जेलमा कैद गर्यो । शुचार्पिता बध्यातिचिरम् (श्रीमद्भागवत १।८।२३) । अतिचिरम् भनेको लामो समयसम्म हो । यसप्रकार, वसुदेवले देवकीलाई रक्षा गर्नुभयो । आखिर, देवकीको रक्षा भयो । त्यसैगरी, यदि हामीले देवकी तथा कुन्तीका स्थितिलाई हेर्दछौँ भने.... कुन्ती आफ्ना पुत्रहरू पाँच पाण्डवसहित.... जब कुन्ती विधवा भइन् तब धृतराष्ट्रको सम्पूर्ण योजना नै, “म मेरा भाइका यी सन्तानहरूलाई कसरी मारूँ ? किनभने दुर्भाग्यवश, म अन्धो जन्मेँ । त्यसकारण, मैले राजसिंहासन प्राप्त गरिनँ । मेरो सट्टा मेरो भाइले त्यो प्राप्त ग¥यो । अब उसको मृत्यु भइसकेको छ । अतः कम्तीमा मेरा पुत्रहरूले चाहिँ राजसिंहासन पाउनुपर्छ । यही नै धृतराष्ट्रको षडयन्त्र थिय: “मैले प्राप्त गर्न सकिनँ ।” यो भौतिक प्रवृत्ति हो । “म सुखी हुनेछु । मेरा पुत्रहरू सुखी हुनेछन् । मेरो समुदाय सुखी हुनेछ । मेरो राष्ट्र सुखी हुनेछ । यी सबै विस्तारित स्वार्थ हुन् । कसैले पनि कृष्णको बारेमा सोचिरहेको छैन कि कृष्ण कसरी सुखी बन्नुहुनेछ । सबैजना आफ्नै दृष्टिकोणअनुसार सोचिरहेका छन: “म कसरी सुखी बन्ने होला, मेरा सन्तानहरू कसरी सुखी बन्ने होलान्, कसरी मेरो समुदाय सुखी हुन्छ होला, कसरी मेरो समाज सुखी हुन्छ होला, कसरी मेरो राष्ट्र....” यो बाँच्नका लागि संघर्ष हो । सबैतिर तिमीले यही प्रवृत्ति पाउनेछौ । यो भौतिक जीवन हो । कोही पनि कृष्ण कसरी सुखी बन्नुहुन्छ होला भनेर सोचिरहेको छैन । त्यसकारण, यो कृष्णभावनामृत अभियान अत्यन्त श्रेष्ठ छ । श्रीमद्भागवत तथा भगवद्गीताबाट बुझ्ने प्रयास गर । र हृषीकेन हृषीकेश–सेवनम् ((चै.च. मध्यलीला १९।१७०) र आफ्ना इन्द्रियहरूलाई संलग्न राख्ने प्रयास गर इन्द्रियहरूका स्वामीको सेवामा लगाउने प्रयास गर । त्यसपछि, तिमी सुखी बन्नेछौ । धेरै धेरै धन्यवाद ।

भक्त: जय श्रील प्रभुपाद ।