NE/Prabhupada 0837 - कृष्णले हामीलाई शक्तिशाली बनाउनु भएसम्म हामी अत्यन्त शक्तिशाली हुन सक्छौँ

Revision as of 21:37, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


731130 - Lecture SB 01.15.20 - Los Angeles


प्रद्युम्नः अनुवादः “हे सम्राट, अब म मेरा मित्र तथा मेरा सबैभन्दा प्रिय शुभचिन्तक भगवान् श्रीकृष्णबाट अलग भएको छु, र अहिले मेरो हृदय पूर्ण रुपमा शून्य भएको छ । उहाँको अनुपस्थितिमा मलाई साधारण जंगलवासी गोठालाहरूले पराजित गरिदिए जब म कृष्णका सम्पूर्ण पत्नीहरूलाई सुरक्षा गरिरहेको थिएँ ।”

प्रभुपादः त्यसकारण, कृष्णको महाप्रस्थानपछि कृष्णका सम्पूर्ण श्रीमतीहरू, कृष्णका १६,१०८ श्रीमतीहरूलाई अर्जुनले संरक्षण गरिरहेका थिए । तर केही गोठालाहरूले कृष्णका सम्पूर्ण श्रीमतीहरूलाई अपहरण गरे तर अर्जुनले उहाँहरूलाई बचाउन सक्नुभएन । यो एउटा उदाहरण हो, जबसम्म कृष्णले हामीलाई शक्तिशाली बनाइदिनुहुन्छ तबसम्म हामी अत्यन्त शक्तिशाली हुन सक्दछौँ । तर हामी स्वतन्त्र रुपमा शक्तिशाली हुन सक्दैनौँ, यो नियम अर्जुनलाई समेत लागू हुन्छ । हामी हाम्रो जन्म, ऐश्वर्य, श्रुत र श्रीको अत्यन्त घमण्ड गर्दछौँ । (श्रीमद्भागवत १।८।२६) । यो भौतिक संसारमा सबैजना आफ्नो जन्मको अत्यन्त घमण्ड गर्दछन्, धन–सम्पत्ति, शिक्षा तथा सुन्दरताको अत्यन्त घमण्ड गर्दछन् । यी चार वस्तुहरू पुण्यकर्महरूको प्रभावले प्राप्त हुन्छन् । र पापकर्मको फलस्वरुप त्यसको विपरीत वस्तुहरू प्राप्त हुन्छन् । अर्थात् राम्रो परिवार अथवा राम्रो देशमा जन्म नहुनु, धन–सम्पत्ति, शिक्षा तथा सुन्दरता नहुनु । तर मानिसले जान्नुपर्दछ कि यी सम्पत्तिहरू, भौतिक सम्पत्तिहरू.... जस्तै, तिमी अमेरिकी नागरिकहरू । तिमीहरूले राम्रो ऐश्वर्य प्राप्त गरेका छौ । तिमीहरू अत्यन्त सम्माननीय राष्ट्रमा जन्मेका छौ । अमेरिकी राष्ट्रहरूलाई अझै पनि सम्पूर्ण संसारभरी सम्मान गरिन्छ । त्यसकारण, तिमीहरूका लागि यो राम्रो अवसर हो, जन्म । तिमीहरू सबै अमेरिकामा जन्मेका छौ..... भारतको तुलनामा प्रत्येक अमेरिकी नागरिक धनी छन्, किनभने, यहाँ अमेरिकामा साधारण मानिसले समेत कम्तीमा चार हजार, पाँच हजार रुपैयाँ कमाउँछन् । तर भारतमा सर्वोच्च अदालतका प्रधानन्यायधीशले समेत धेरै कमाउन सक्दैन । बढीमा चार हजार कमाउँछन् । त्यसकारण, तिमीहरू सचेत हुनुपर्दछ कि कृष्णको कृपाले तिमीहरूले यी सबै वस्तुहरू प्राप्त गरेका छौ । यहाँ गरिबी छैन, यहाँ अभाव छैन, यहाँ शिक्षाको राम्रो अवसर छ, र तिमीहरू धनवान् तथा सुन्दर छौ । जन्मैश्वर्य–श्रुत–श्रीः । तर यदि तिमीहरूले कृष्णभावनामृतलाई अपनाउँदैनौ भने तिमीहरूले यी सम्पत्तिहरूको दुरुपयोग गरिरहेका हुनेछौ, त्यसपछि पुनः पुनर्मूषिको भव । तिमीहरूले यो पुर्नमूषिको भव भन्ने कथा सुनेका छौ ? कसैले सुनेका छौ ? पुनर्मूषिको भवः भनेको “तँ पुनः मूसा बन् ।” (हाँसो चल्छ) एउटा मूसा एकजना साधुकहाँ आएर भन्योः “महाशय, म अत्यन्त पीडित छु ।” साधुले भने, “किन, के भयो र ?” साधारणतया, मानिसहरू साधुहरूकहाँ केही भौतिक लाभ पाउनका लागि जाने गर्दछन् । यो केवल पाशविक प्रवृत्ति हो । केही भौतिक लाभका लागि तिमी किन सन्तहरूलाई भेट्न जान्छौ ? होइन । तिमीले भगवान्लाई जान्नका लागि सन्तलाई भेट्नुपर्दछ । तिम्रो वास्तविक उद्देश्य यो हुनुपर्दछ । जे होस्, कहिलेकाहीँ सन्तहरू कहिलेकाहीँ सोध्ने गर्दछन् । र ती साधुले पनि मूसालाई सोधे, “तिमी के चाहन्छौ ?” ठीक शिवजीका भक्तहरूजस्तै, शिवभक्तहरू पनि त्यो मुसाजस्तै छन्, उनीहरू केही न केही पाउन चाहन्छन् । “महाशय, बिरालोले मलाई धेरै दुःख दिन्छ ।” “त्यसोभए तिमी के चाहन्छौ ?” मुसाले भन्यो, “मलाई बिरालो बनाइदिनुहोस् ।” “ठीक छ, बिरालो बन ।” यसरी ऊ बिरालो बन्यो । त्यसको केही दिनपछि ऊ पुनः फर्केर आयो र भन्यो । “महाशय, म अझै पनि दुःखमै छु ।” साधुले सोधे, “फेरि के भयो ?” “कुकुरहरू (हाँसो चल्छ), तिनीहरूले हामीलाई धेरै दुःख दिन्छन् ।” “त्यसोभए तिमी के चाहन्छौ ?” मुसाले भन्यो, “म कुकुर बन्न चाहन्छु ।” साधुले भने, “ ठीक छ । तिमी कुकुर बन ।” त्यसको केही दिनपछि ...एकपछि अर्को...यो प्रकृतिको समायोजन हो । कोही कमजोर हुन्छ, कोही बलवान् हुन्छ । यो सबै प्रकृतिको समायोजन हो । र अन्त्यमा त्यो मुसाले बाघ बन्ने इच्छा राख्यो । यसप्रकार, ती साधुको कृपाले ऊ बाघ बन्यो । र जब ऊ बाघ बन्यो तब उसले ती साधुलाई घुरेर हेर्न लाग्यो, ओहो । (प्रभुपादले अनुहारले नक्कल गर्नुहुन्छ अनि भक्तहरू हाँस्छन्) त्यसकारण, ती साधुले त्यो बाघलाई सोध्नुभयो, “अब तिमी मलाई खान चाहन्छौ ?” बाघले भन्यो, “हो म चाहन्छु ।” “ए, त्यसोभए तँ पुनः मुसा बनिहाल् । (हाँसो चल्छ) । यदि तँ मेरो कृपाले, मेरो दयाले बाघ बनेको होस् भने, म तँलाईं पुनः मुसा बन्ने श्राप दिन्छु ।” त्यसकारण, तिमी अमेरिकीहरू, अहिले तिमीहरू बाघ बनेका छौ, निक्सन बाघ । तर यदि तिमीहरू कृतज्ञ हुँदैनौ र कृतज्ञतापूर्ण व्यवहार गर्दैनौ भने ... तर बाघले कृतज्ञतापूर्वक यस्तो पनि सोच्न सक्दथ्यो, “ती साधुको कृपाले, म बाघ बन्न सफल भएँ, त्यसकारण म उहाँप्रति अत्यन्त कृतज्ञ हुनुपर्दछ....” तर कृतज्ञ हुनुको विपरीत ऊ ती साधुलाई नै खान तयार भयो, “यदि तँ मलाई खान चाहन्छस् भने तँ पुनः मुसा बन् । यदि कुनै सन्त पुरुषले तिमीलाई मुसाबाट बाघ बनाइदिनुभयो भने, उनले तिमीलाई बाघबाट मुसा पनि बनाउन सक्छन् । तिमीले यसलाई सधैँ याद गर्नुपर्दछ । त्यसकारण, भगवान् कृष्णको कृृपाले तिमीहरूलाई अत्यन्त शक्तिशाली, धनी, सुन्दर तथा सुशिक्षित राष्ट्र प्राप्त भएको छ । कृष्णको कृपाले तिमीहरूले त्यस्तो सुविधा पाएका छौ तर यदि तिमीहरूले कृष्णलाई भुल्दछौ भने तिमीहरू पुनः मुसा बन्नेछौ । यसलाई सधैँ ध्यानमा राख । कसैले पनि तिमीलाई वास्ता गर्नेछैन ।