NE/Prabhupada 0203 - यो हरे कृष्ण अभियानलाई नरोक्नुहोस्



Lecture and Initiation -- Chicago, July 10, 1975


प्रभुपाद:यज्ञ, त्याग....यज्ञ-दान-तपः-क्रिया | मानव जीवन भनेको यज्ञ गर्न, दान गर्न र तपस्या गर्नको लागि हो | तीन कुराहरु | मानव जीवन भनेको त्यो हो | मानव जीवन भनेको कुकुर र बिरालो जस्तो बाँच्नको लागि होइन | त्यो असफलता हो | त्यस्तो सभ्यता, कुकुर सभ्यता, मानव जीवनको असफलता हो | मानव जीवन तीन कुराहरुको लागि हो: यज्ञ-दान-तपः-क्रिया | मानिसले यज्ञ कसरी गर्ने, दान कसरी गर्ने , र तपस्या कसरी गर्ने जान्नुपर्छ | यो मानव जीवन हो | त्यसैले यज्ञ-दान-तपस्या, अरु युगमा विभिन्न माध्यम थिए | जस्तै सत्य युगमा, वाल्मिकी मुनि, उहाँले तपस्या, ध्यान गर्नुभयो, साठ्ठी हजार वर्षको लागि | त्यस समयमा मानिसको आयु एक लाख वर्ष हुन्थ्यो | अहिले त्यो असम्भव छ | त्यस समयमा ध्यान सम्भव थियो, तर अहिले छैन | त्यसैले शास्त्रमा सिफारिश गरिएको छ "यज्ञैः सङ्कीर्तन​-प्रायैः "तिमी यो यज्ञ सम्पन्न गर, संकीर्तन |" त्यसैले केवल सङ्कीर्तन​ यज्ञ सम्पन्न गरेर, तपाईले समान फल प्राप्त गर्न सक्नुहुन्छ | जसरी वाल्मिकी मुनिले ६०,००० वर्षको ध्यान पश्चात प्राप्त गर्नुभयो, तपाईले त्यहि फल, सङ्कीर्तन​ यज्ञ गरेर केहि दिनमा नै प्राप्त गर्न सक्नुहुन्छ | यसमा यति धेरै दया छ | त्यसैले म धेरै खुसी छु कि पाश्चात्य देशमा, विशेषत: अमेरिकामा, तपाईहरु भाग्यमानी युवा-युवतीहरु, यस सङ्कीर्तन​ यज्ञमा सहभागी हुनुहुन्छ | मानिसले सराहना गर्दैछन् | म पनि निकै खुसी छु | यो यज्ञ, जसरी तपाईले बसमा अर्च-विग्रह लिएर, शहरको भित्र गएर यज्ञ गर्दै हुनुहुन्छ.... यसलाई निरन्तरता दिनुहोस्, जबसम्म तपाईको सम्पूर्ण देशले यसलाई स्वीकार्दैन |

भक्तहरु: जय !

प्रभुपाद: तिनीहरुले स्वीकार्छन् | चैतन्य महाप्रभुको भविष्यवाणी छ | पृथिवीते आछे यत नगरादि-ग्राम सर्वत्र प्रचार हैबे मोर नाम | चैतन्य महाप्रभु चाहनुहुन्थ्यो कि हरेक गाउँमा, हरेक शहरमा, हरेक देशमा, यो सङ्कीर्तन आन्दोलन पुग्नेछ, र मानिसहरु चैतन्य महाप्रभुप्रति आभारी हुनेछन्: "हे प्रभु ! हजुरले हामीलाई यति दिव्य कुरा दिनुभएको छ |" यो भविष्यवाणी छ | हामीले सकेको प्रयास गर्नुपर्छ | यो त्यति गाह्रो पनि छैन | तपाईहरुले अर्च स्थापना गर्नुभयो | अब बस लिएर गाउँ-गाउँ, शहर-शहर जानुहोस् | र तपाईसँग अनुभव पनि छ, त्यसैले यो अभियानलाई फैलाउनुहोस् | मैले बारम्बार भन्दैछु कि तपाईको देश, अमेरिका भाग्यमानि छ, र उसलाई केवल यो सङ्कीर्तन आवश्यक छ.... तब तिनीहरु पूर्ण हुनेछन् | मैले हिजो धेरै विषयमा छलफल गर्दै थिएँ | तपाईले पत्रिकामा देख्नुभयो होला- एउटा विस्तृत मर्मत आवश्यक छ , आध्यात्मिक मर्मत | अहिले, वर्तमान समयमा सबै कुरा ठिक मार्गमा छैनन् | भौतिक रुपमा यो नसोच्नुहोस् कि यो दौडले हामीलाई आध्यात्मिक जीवनमा मदत गर्दैन | भौतिक रुपमा उन्नति गर्नुहोस् तर आफ्नो आध्यात्मिक कर्तव्य र परिचय नबिर्सिनुहोस् | तब त्यो घाटा हुन्छ | तब त्यो श्रम एव हि केवलम् हुन्छ (श्रीभ १।२।८) हुन्छ, व्यर्थमा काम गर्ने | जस्तै तपाईको चन्द्रमा यात्रा, केवल समय र पैसाको नाश | करोडौं डलर खर्च गरेर के पाइयो? थोरै धुलो, त्यति हो | त्यस्तो मूर्ख नहुनुहोस् | व्यवहारिक हुनुहोस् | यदि त्यति ठुलो रकम, डलर, खर्च गरेको भए, यो कृष्ण भावानामृत अभियान तपाईको देशमा प्रचार गर्न, तब धेरै लाभ प्राप्त हुन्थ्यो | तर हामीले केहि भन्न सक्दैनौं | तपाईको पैसा तपाई चलाउनुहोस् | त्यो तपाईको सरोकारको विषय हो | तर हामी अधिकारी र सचेत मानिसलाई अनुरोध गर्छौं कि यो सङ्कीर्तन अभियानमा सहभागी हुनुहोस्, विशेषत: अमेरिकामा, र यसलाई विश्वको अन्य भागमा फैलाउनुहोस्, युरोपमा, एसियामा | तपाईको परिचय सर्वाधिक धनी राष्ट्रको रुपमा छ | तपाईसँग बुद्धि छ | तपाईसँग सबै कुरा छ | केवल यस अभियानमा, हरे कृष्ण अभियानमा सहभागी हुनुहोस्, धैर्यता, परिश्रम र बुद्धिका साथ | यो धेरै सरल छ |तपाईले पहिल्यै अनुभव गर्नुभएको छ | यसलाई नरोक्नुहोस् | अझै बढाउनुहोस् | तपाईको देश खुसी हुनेछ र सारा विश्व खुसी हुनेछ |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: जय !