NE/Prabhupada 0281 - मनुष्य पशु हो, तर विवेकशील पशु



Lecture on BG 7.2 -- San Francisco, September 11, 1968

यज् ज्ञात्वा नेह भूयो ऽन्यज् ज्ञातव्यम् अवशिष्यते | भूयो भनेको केहि बुझ्न बाँकी हुँदैन | सबै कुरा पूर्ण रुपमा थाहा हुन्छ | तब प्रश्न उठ्न सक्छ कि मानिसहरु कृष्णलाई किन बुझ्दैनन् | अवश्य पनि त्यो उचित प्रश्न हो र त्यसको जवाफ कृष्णले अर्को श्लोकमा दिनुभएको छ |

मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये
यतताम् अपि सिद्धानां कश्चिन् मां वेत्ति तत्त्वतः
(भ गी ७।३)

मनुष्याणां सहस्रेषु | विभिन्न प्रकारका मानिसहरु छन् | जस्तै अहिले यो ग्रहमा मात्र हामीलाई सबजनाको बारेमा थाहा छ, अरु ग्रहको बारेमा थाहा छैन, त्यहाँ सयौं-हजारौं विविध किसिमका मानिसहरु छन् | यहाँ पनि, हामी बस्दै गर्दा धेरै किसिमका सज्जन र महिला देख्छौं | र यदि तपाई बाहिर जानुहुन्छ भने त्यहाँ विविध किसिमका प्राणी छन् | यदि तपाई अर्को देशमा जानुहुन्छ भने- भारत, जापान, चीन- तपाईले भिन्न पाउनुहुन्छ | तसर्थ भनिएको छ, मनुष्याणां सहस्रेषु (भ गी ७।३), धेरै, धेरै किसिमका मानिसहरु मध्ये, कश्चिद् यतति सिद्धये, केवल थोरैले जीवनको सिद्धान्त बुझ्ने प्रयास गर्छन् | किनकि मानिस विवेकशील पशु हो | मानिस विवेकशील हुन्छ | मानिस पशु हो, तर विवेकशील पशु | मानिसले प्राप्त गरेको विशेष उपहार भनेको उसले निर्णय गर्न सक्छ कि के राम्रो हो, के नराम्रो हो | उसँग पशुभन्दा अधिक ज्ञान हुन्छ | वर्तमान समयमा शिक्षा विधि यति नराम्रो छ कि यो व्यवहारिक रुपमा पशु शिक्षा छ | पशु शिक्षा भनेको जब हामी धेरै नै खान, सुत्न, मैथुन गर्न र रक्षा गर्नमा व्यस्त हुन्छौं | खाने, सुत्ने, मैथुन गर्ने र रक्षा गर्ने प्रवृत्ति तपाईले पशुमा पनि पाउनुहुन्छ | तिनीहरुमा कुनै भेद छैन | तिनीहरुको आफ्नै रक्षा विधि हुन्छ, तिनीहरुको आफ्नै सुत्ने विधि हुन्छ, तिनीहरुको आफ्नै मैथुन गर्ने विधि हुन्छ | तपाई आफ्नी श्रीमतीसँग एकान्त स्थान, राम्रो कोठा, सजाइएको कोठामा मैथुन गर्नुहुन्छ, एउटा कुकुरले सडकमा मैथुन गर्छ, तर नतिजा उही हो | त्यसैले मैथुनको प्रक्रिया सुधार्नु भनेको सभ्यताको विकास होइन | यो चम्किलो पशु सभ्यता हो, त्यति हो | पशुले पनि, कुकुरले पनि आफुलाई अरु कुकुरहरुबाट रक्षा गर्न सक्छ | र यदि तपाई आफ्नो रक्षा निमित्त आणविक शक्तिको खोज गर्नुभएको छ भन्ने सोच्नुहुन्छ भने त्यो मानव सभ्यताको विकास होइन | त्यो रक्षा गर्ने विधि मात्र हो | त्यसैगरी तपाईले विश्लेषण गर्नुहोस् | मानिसको विश्लेषण तब पूर्ण हुन्छ, जब उसले आफ्नो मौलिक अवस्थाको खोज गर्छ | "म को हुँ ? के म यो शरीर हुँ ? म यो संसारमा किन आएको छु ?" यो जिज्ञासा आवश्यक हुन्छ | यो मानव जीवनको विशेषाधिकार हो | तसर्थ जब मानिसले सोध्न सुरु गर्छ "म को हुँ" र यदि उसले यसको जवाफ खोज्न थाल्छ भने ऊ भगवानकहाँ आउँछ | किनकि ऊ भगवानको अंश हो | ऊ भगवानको नमुना हो | तसर्थ मनुष्याणां सहस्रेषु (भ गी ७|३) | हजारौं किसिमका मानिसहरुमध्ये केहि मानिस भगवानलाई बुझ्न इच्छुक हुन्छन् | भगवानलाई बुझ्न होइन, आफुलाई बुझ्न | र यदि उसले वास्तवमा आफुलाई बुझ्न चाहन्छ भने ऊ क्रमिक रुपमा भगवानकहाँ आउनेछ |