NE/Prabhupada 0297 - परम सत्य बुझ्न जिज्ञासु-उसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्छ



Lecture -- Seattle, October 4, 1968


हाम्रो प्रक्रियामा, आदौ गुर्वाश्रयं सद्-धर्म पृच्छात् | मानिसले आधिकारिक आध्यात्मिक गुरु स्वीकार्नुपर्छ र गुरु समक्ष जिज्ञासा राख्नुपर्छ, सद्-धर्म पृच्छात् | त्यसैगरी, श्रीमद् भागवतममा पनि भनिएको छ कि जिज्ञासुः श्रेय उत्तमम् | "जो परमसत्य बुझ्न जिज्ञासु छ, उसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्छ |" तस्माद् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् (श्री भा ११|३|२१) | जिज्ञासुः भनेको जान्न खोज्ने, जसले जिज्ञासा राख्छ | जिज्ञासा प्राकृतिक कुरा हो | जस्तै एउटा बच्चा: आफ्नो जीवनको विकाससँगै उसले आफ्ना माता-पिता समक्ष जिज्ञासा राख्छ, "पिता, यो के हो ? माता, यो के हो ? यो के हो ? यो के हो ?" यो राम्रो हो | यदि एउटा बालक जिज्ञासु हुन्छ भने ऊ बुद्धिमान बालक हो भन्ने बुझिन्छ | त्यसैले हामी बुद्धिमान भएर जिज्ञासा राख्नुपर्छ | ब्रह्म-जिज्ञासा | यो जीवन ब्रह्म-जिज्ञासाको लागि हो, भगवानको बारेमा बुझ्नको लागि हो | तब यो जीवन सफल हुन्छ | अथातो ब्रह्म जिज्ञासा | र जिज्ञासा राख्दै गएपछि, बुझ्दै गएपछि, अन्तिम अवस्था के हुन्छ ? त्यो भगवद् गीतामा बताइएको छ: बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते (भ गी ७|१९) | धेरै, धेरै जन्म पछिको जिज्ञासा पश्चात् जब कुनै मानिस वास्तवमा ज्ञानले पूर्ण बुद्धिमान मानिस हुन्छ, तब के हुन्छ ? बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते: कृष्ण भन्नुहुन्छ,"ऊ ममा शरणागत हुन्छ" | किन ? वासुदेवः सर्वम् इति | उसले बुझ्छ कि वासुदेव, कृष्ण समस्त कारणको पनि कारण हुनुहुन्छ | स महात्मा सु-दुर्लभः | तर यो कुरा बुझ्ने मानिस धेरै दुर्लभ हुन्छ |

तसर्थ चैतन्य चरितामृतमा भनिएको छ, सेइ बडो चतुर: ऊ धेरै बुद्धिमान हुन्छ | यो बुद्धिमान मानिसको व्याख्या हो | त्यसैले यदि हामी बुद्धिमान हुन चाहन्छौं भने हामीले बुद्धिमान हुने प्रक्रिया अपनाउनुपर्छ | तर अर्कोतर्फ, यदि हामी वास्तवमा बुद्धिमान छौं भने किन यस कृष्ण भावना तत्काल स्वीकारेर बुद्धिमान नहुने ? यो प्रक्रियामा नगई, तपाईले....... यो प्रक्रिया तपाईलाई सबभन्दा उदार अवतार चैतन्य महाप्रभुले दिनुभएको हो | उहाँले तपाईलाई दिंदै हुनुहुन्छ, कृष्ण​-प्रेम​-प्रदाय ते ((चै च मध्य १९|५३) | उहाँले तपाईलाई कृष्ण-प्रेम दिंदै हुनुहुन्छ | रूप गोस्वामीले चैतन्य महाप्रभुलाई दण्डवत प्रणाम गर्नुहुँदा भन्नुभयो कि नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते: "हे मेरो प्रिय चैतन्य महाप्रभु, हजुर अवतारहरुमध्ये सबभन्दा दानी एवं उदार हुनुहुन्छ | किन ? किनकि हजुरले सिधै कृष्ण-प्रेम दिंदै हुनुहुन्छ | त्यो कृष्ण-प्रेम जुन धेरै, धेरै जन्म पश्चात प्राप्त हुन सक्दैन, हजुरले सस्तोमा दिंदै हुनुहुन्छ, 'यसलाई तत्काल लिऊ |" नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते कृष्णाय कृष्ण​-चैतन्य​ | गोस्वामीहरुले बुझ्नुहुन्थ्यो कि "हजुर कृष्ण हुनुहुन्छ"; अन्यथा अरु कसैले यति सस्तो रुपमा कृष्ण-प्रेम प्रदान गर्न सम्भव छैन | "हजुर कृष्ण हुनुहुन्छ, हजुरसँग त्यो शक्ति छ |" र वास्तवमा उहाँ त्यस्तो हुनुहुन्छ | कृष्ण स्वयं पनि कृष्ण प्रेम दिन असफल हुनुभयो, जब उहाँ व्यक्तिगत रुपमा आएर भगवद् गीता सिकाउनुभयो | उहाँले केवल भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | तर मानिसहरुले उहाँलाई बुझ्न सकेनन | तसर्थ कृष्ण भक्तको रुपमा आउनुभयो र साधारण मानिसलाई कृष्ण प्रदान गर्नुभयो | त्यसैले सबजनालाई हाम्रो अनुरोध छ कि यस कृष्ण भावनामृत अभियान ग्रहण गर्नुहोस् र तपाईले अनुभव गर्नुहुनेछ कि "मलाई अरु केहि चाहिंदैन | म सन्तुष्ट छु, पूर्ण रुपमा सन्तुष्ट छु |"

धेरै, धेरै धन्यवाद |