NE/Prabhupada 0374 - भजहू रे मन तात्पर्य-भाग १



Purport to Bhajahu Re Mana -- San Francisco, March 16, 1967


भजहू रे मन श्री-नन्द​-नन्दन​-अभय​-चरणारविन्द रे | भज, भज भनेको आराधना; हु भनेको हे; मन| कवि गोविन्द दास, एक महान दार्शनिक र भगवान्‌का भक्त, उहाँले प्राथना गर्दै हुनुहुन्छ | उहाँले आफ्नो मनलाई बिन्ति गर्दै हुनुहुन्छ, किनकी मन सबैजनाको मित्र र शत्रु दुवै हो | यदि कसैले आफ्नो मनलाई कृष्णभावनामा संलग्न गराउँछ भने ऊ सफल हुन्छ | यदि उसले आफ्नो मनलाई अभ्यासरत गराउन सकेन भने उसको जीवन असफल हुन्छ | त्यसैले गोविन्द दास, भगवान्‌का महान भक्त..... उहाँको नामले नै संकेत गर्छ, गोविन्द दास | गोविन्द अर्थात् कृष्ण र दास भनेको सेवक | यो सबै भक्तहरुको मनोभाव हो | उनीहरुले सधैं आफ्नो नामको पछाडी दास, अर्थात् सेवक भनेर राख्छन् | त्यसैले गोविन्द दास प्राथना गर्दै हुनुहुन्छ, " रो प्यारो मन, नन्दपुत्रको आराधना गर्ने कोसिस गर, जो अभय-चरण हुनुहुन्छ, जसको चरणकमल सुरक्षित स्थान हो | त्यहाँ कुनै भय छैन |" अभय | अभय भनेको त्यहाँ कुनै भय हुँदैन, र चरण भनेको भगवान्‌को चरणकमल | त्यसैले उहाँले आफ्नो मनलाई उपदेश दिंदै हुनुहुन्छ, "कृपया मेरो प्यारो मन, तिमी नन्दपुत्रको अभय चरणकमलको आराधना गर |" भजहू रे मन श्री-नन्द​-नन्दन | नन्द​-नन्दन भनेको नन्द महाराजका पुत्र, कृष्ण | र उहाँको चरणकमल अभय हुन्छ | गोविन्द दासले आफ्नो मनसँग आग्रह गर्दै हुनुहुन्छ, "कृपया कृष्णको दिव्य चरणकमलको सेवामा संलग्न होऊ |" जहाँसम्म अरु कुरा छ......र उहाँँले दुर्लभ मानव​-जनम् पनि भन्नुहुन्छ | दुर्लभ भनेको पाउनका लागि धेरै कठिन | मानव-जन्म भनेको यो मनुष्य जीवन | यो धेरै लामो चक्र पछि प्राप्त हुन्छ | यो जन्म-मृत्युको चक्करबाट निस्किनका लागि एकपटक कृष्णभावना हुने मौका पाइन्छ | त्यसैले उहाँले सल्लाह दिनुभएको छ, यो मानव जीवन धेरै महत्वपूर्ण, दुर्लभ छ | दुर्लभ भनेको.....दुः भनेको धेरै कठिनाईका साथ, र लाभ भनेको प्राप्य कुरा | मूर्ख मानिसहरुलाई यो मानव जीवन कति महत्वपूर्ण छ भनेर थाहा छैन | उनीहरुले पशुजस्तै केवल इन्द्रियतृप्तिमा आफ्नो जीवन खेर फालिरहेका छन् | यो कुरा धेरै उपदेशमुलक छ, कि उहाँले आफ्नो मनलाई तालिम दिंदै हुनुहुन्छ, " तिमी आफ्नो मनलाई कृष्णको आराधनामा संलग्न गराऊ|" दुर्लभ मानव​-जनम सत्-सङ्गे | केवल सत्-सङ्गमा मात्र यो मनलाई तालिम दिन सम्भव हुन्छ | सत्-सङ्ग भनेको त्यस्ता व्यक्तिहरु जो सतप्रतिशत भगवानको सेवामा संलग्न भएका हुन्छन् | उनीहरुलाई सत् भनिन्छ | सतां प्रसङ्गात् | भक्तहरुको सङ्ग बिना, मनलाई तालिम दिन असम्भव हुन्छ | तथाकथित योग वा ध्यानद्वारा यो सम्भव हुँदैन | भक्तहरुको सङ्गमा बस्नैपर्छ, अन्यथा यो सम्भव हुँदैन | त्यसैले हामीले यस कृष्णभावानामृत संघ खोलेका छौं, ताकी सबैले यसको फाइदा उठाउन सकुन् | त्यसैले गोविन्द दास, जो कवि तथा भक्त हुनुहुन्छ, उहाँले सुझाव दिंदै हुनुहुन्छ, दुर्लभ मानव​-जनम सत्-सङ्गे: "तिमीले यो दुर्लभ मानव शरीर प्राप्त गरेका छौ | अब भक्तहरुको सङ्गमा रहेर आफ्नो मनलाई कृष्णको अभय चरणकमलमा संलग्न गराऊ |" उहाँले आफ्नो मनलाई अनुरोध गर्दै हुनुहुन्छ | त्यसपछि उहाँले आफ्नो जीवनको निराशा व्यक्त गर्नुभएको छ | त्यो के हो ? शीत आतप बात बरिषण ए दिन जामिनी जागि रे | शीत भनेको जाडोयाम हो | अातप भनेको गर्मी हो, जुन समयमा पोल्ने घाम हुन्छ | शीत आतप बात, अर्थात् जाडो, बरिषण, अर्थात् मुसलधारे वर्षा | यी विचलनहरु सधैं हुन्छन् | कहिले धेरै चिसो हुन्छ | कहिले धेरै पोल्ने गर्मी हुन्छ | कहिले मुसलधारे वर्षा हुन्छ | कहिले यो वा त्यो चलिरहेको हुन्छ | त्यसैले उहाँले भन्नुहुन्छ, शीत आतप बात बरिषण ए दिन जामिनी जागि रे | मानिसहरु सारा दिन-रात धेरै परिश्रम गरिरहेका छन्, उनीहरु केहि कुराको चिन्ता गर्दैनन्, चिसो, तातो, मुसलधारे वर्षा, निद्रारहित रात, मरुभूमिको वास, समुन्द्रमुनिको वास - उनीहरु जहाँ पनि निकै व्यस्त छन् | शीत आतप बात बरिषण ए दिन जामिनी जागि रे | उनीहरु राती कार्यरत हुन्छन्, तथा अरु धेरै कार्यमा संलग्न हुन्छन् | त्यसैले उहाँले भन्नुहुन्छ, शीत आतप बात बरिषण ए दिन जामिनी जागि रे, बिफले सेविनु कृपण दुरजन चपल सुख लब लागिऽ रे | "अब, यी सबै कठिन परिश्रम मार्फत मैले के गरें त ? मैले त्यस्ता मानिसहरुको सेवा गरेको छु जो मेरो कृष्ण भावनाको विरुद्धमा छन् | र मैले उनीहरुको सेवा किन गरें ?" चपल सुख लब लागिऽ रे: "चपल, धेरै अस्थिर सुखका लागि | म सोच्छु कि यदि मेरो सानो बच्चा हाँस्यो भने म खुसी हुनेछु | म सोच्छु कि यदि मेरी श्रीमती खुसी भईन् भने म खुसी हुनेछु | तर यी सबै अस्थायी हाँसो वा खुसीको अनुभूति, यिनीहरु सबै अस्थिर छन् |" त्यो हामीले बुझ्नुपर्छ | अरु धेरै कविहरुले पनि गाउनुभएको छ कि......, यो मन मरुभूमि समान छ र यो समुन्द्रको पानीको पछाडी दौडिंदै छ | यदि मरुभूमिमा समुद्रको पानी पुर्‍याइयो भने त्यो जलमग्न हुन्छ | तर त्यहाँ पानीको थोपा पुर्‍याएर के लाभ प्राप्त हुन सक्छ ? त्यसैगरी, हाम्रो मन, हाम्रो चेतना पनि खुसीको समुद्रका लागि लालायित छ | र यो पारिवारिक जीवन, सामाजिक जीवन जस्ता अस्थायी कुराहरुबाट प्राप्त हुने सुख भनेको पानीको थोपा समान हुन्छ | जो दार्शनिकहरु छन्, जसले यो सांसारिक अवस्थाको बारेमा अध्ययन गरेका छन्, उनीहरुले बुझ्न सक्छन् कि " यो अस्थायी सुखले मलाई खुसी बनाउन सक्दैन |" तब उहाँले भन्नुहुन्छ, कमल​-दल​-जल​, जीवन टलमल​ | कमल​-दल​-जल​ भनेको कमलको फुल | तिमीहरु सबैले तालमा कमलको फुल देखेका छौ | तिनीहरु सधै ढलमल हुन्छन् | ढलमल | कुनै पनि समयमा कुनै पनि कारणवश त्यो पानी बग्न सक्छ | त्यसैगरी, यो जीवन पनि सधैंभरि खतराहरुले भरिएको छ, सधैंभरि खतरा | कुनै पनि समयमा यो अन्त्य हुन सक्छ | यसका धेरै उदाहरणहरु छन् | मानिसहरुले देख्छन् तर फेरी बिर्सिन्छन् | यो निकै रोचक कुरा छ | उनीहरुले हरेक दिन, हरेक क्षण देखिरहेका हुन्छन् कि ऊ आफु र अरु सबैजना खतरामा परेका छन् | तर पनि उसले "म सुरक्षित छु" भनेर सोच्छ | यस्तो स्थिति छ |