NE/Prabhupada 0375 - भजहू रे मन तात्पर्य-भाग २



Purport to Bhajahu Re Mana -- San Francisco, March 16, 1967


त जीवन धेरै ढलमल अवस्था र डरलाग्दो अवस्थामा छ | त्यसैले मानिसले यो मानव जीवनको फाइदा लिएर तुरुन्तै कृष्णभावनामा संलग्न हुनुपर्छ | यो सबैजनाको मनसँग बिन्ति हुनुपर्छ, " मेरो प्यारो मन, मलाई यो डरलाग्दो अवस्थामा लिएर नजाऊ | कृपया मलाई कृष्णभावनामै राख |" तसर्थ कृष्णभावना कसरि प्राप्त गर्न सकिन्छ भनेर पनि गोविन्द दासले व्याख्या गर्नुभएको छ | उहाँले भन्नुहुन्छ, श्रवण​, कीर्तन​, स्मरण​, वन्दन​, पाद​-सेवन​, दास्य रे, पूजन​, सखी-जन​, आत्म​-निवेदन गोविन्द​-दास​-अभिलाष रे | अभिलाष भनेको आकांक्षा, आशा वा महत्वाकांक्षा हो | उहाँले नवधा विधिमा संलग्न भएर भक्त बन्ने आकांक्षा राख्नुभएको छ | पहिलो कुरा श्रवण हो | श्रवण भनेको सुन्नु | हामीले अधिकारीहरुबाट श्रवण गर्नुपर्छ | त्यो अाध्यात्मिक जीवन वा कृष्णभावनाको सुरुवात हो | जस्तै अर्जुन | उहाँले कृष्णबाट श्रवण गरेर आफ्नो अाध्यात्मिक चेतना वा कृष्णभावना प्राप्त गर्नुभएको थियो | त्यसैगरी, हामीले पनि कृष्ण वा उहाँको प्रतिनिधिबाट श्रवण गर्नुपर्छ | जसले कृष्णको वाणी यथारूप प्रस्तुत गर्छ - हामीले उहाँबाट श्रवण गर्नुपर्छ किनकि वर्तमान समयमा हामीसँग प्रत्यक्ष श्रवण गर्नका लागि कुनै अवसर छैन | कृष्णबाट सिधै श्रवण गर्ने अवसर पनि छ | यसको व्यवस्था पनि छ | कृष्ण सबैको ह्रदयमा विराजमान हुनुहुन्छ र सबैले उहाँबाट सजिलै श्रवण गर्न सक्छन् , जहाँ पनि र जहिले पनि, तर उसले कसरि श्रवण गर्ने भनेर तालिम प्राप्त गर्नुपर्छ | त्यस प्रयोजनका लागि उसलाई कृष्णको प्रतिनिधिको मद्दत चाहिन्छ | त्यसैले चैतन्य महाप्रभुले भन्नुहुन्छ कि मानिसले कृष्णको भक्तिमय सेवा सजिलै प्राप्त गर्न सक्छ, कृष्ण र गुरुको मिश्रित कृपाको मद्दतले | गुरु-कृष्ण​-कृपाय पाय भक्ति लता-बीज (चै च मध्य १९|१५१) | अाध्यात्मिक गुरुको कृपाले, र कृष्णको कृपाले, हामीले कृष्णलाई भक्तिमय सेवा गर्ने अवसर पाउँछौं | चैतन्य चरितामृतमा पनि भनिएको छ,कि, अाध्यात्मिक गुरु कृष्णको प्रत्यक्ष अभिव्यक्ति हुनुहुन्छ | भक्तहरुको माझमा कृष्ण अाध्यात्मिक गुरु बनेर आउनुहुन्छऽ जसरि सूर्य तिम्रो कोठामा प्रकाशको रुपमा आउँछन् | यद्यपि सूर्य तिम्रो कोठा, तिम्रो शहर वा तिम्रो देश भित्र पस्दैनन् - उनी करोडौं मिल टाढा छन्- तर, उनी आफ्नो शक्ति - प्रकाश मार्फत जहाँ पनि प्रवेश गर्न सक्छन् | त्यसैगरी कृष्ण पनि आफ्नो विभिन्न शक्ति मार्फत जहाँ पनि प्रवेश गर्न सक्नुहुन्छ | र कृष्णबाट उक्त प्रकाश ग्रहण गर्नका लागि हामीले श्रवण गर्नुपर्छ | श्रवण निकै महत्वपूर्ण छ | त्यसैले गोविन्द दासले भन्नुहुन्छ, श्रवण​ | श्रवण​ भनेको सुन्नु हो | र जसले राम्ररी सुनेको छ, उसको अर्को चरण भनेको किर्तनम् हुन्छ | जस्तै हाम्रा युवाहरु, जसले अलिकति राम्ररी सुनेका छन्, उनीहरु अहिले सडक सडकमा गएर कीर्तन गर्न निकै आतुर छन् | यो स्वाभाविक प्रक्रिया हो | यो होइन कि तिमी श्रावण गरेर चुप लागेर बस्छौ | होइन | अर्को चरण भनेको कीर्तनम् हुन्छ | चाहे जप गरेर हुन्छ, वा लेखेर हुन्छ, वा बोलेर हुन्छ, वा प्रचार गरेर हुन्छ, त्यहाँ कीर्तन हुन्छ | त श्रवणं कीर्तनम्, पहिले सुन्नुपर्छ अनि कीर्तन गर्नुपर्छ | र कसको बारेमा श्रवण र कीर्तन गर्ने ? विष्णुको बारेमा, अरु बेकार कुराको बारेमा होइन | श्रवणम् कीर्तनम् विष्णो: (श्री भा ७|५|२३) | यी कुराहरु शास्त्रमा बताइएको छ | साधारण मानिसहरु पनि श्रवण र कीर्तनमा संलग्न छन् | उनीहरुले पत्रिका मार्फत कुनै राजनीतिज्ञको बारेमा सुनिरहेका हुन्छन्, र सारा दिन त्यसैको बारेमा विचार-विनिमय र कीर्तन गर्छन्, "ओहो, यो मानिस नियुक्त हुने सम्भावना छ | यो मानिस छनौट हुने सम्भावना छ |" त श्रवण र कीर्तन जता पनि हुन्छ | तर यदि तिमीलाई अाध्यात्मिक मुक्ति चाहिन्छ भने तिमीले विष्णुको बारेमा श्रवण र कीर्तन गर्नुपर्छ, अरु कसैको बारेमा होइन | श्रवणम् कीर्तनम् विष्णो: | कवि गोविन्द दासले गाउनुहुन्छ, श्रवणम् , किर्तनम्, स्मरणम्, वन्दनम् , पाद​-सेवन​, दास्य रे | यी विभिन्न प्रक्रियाहरु हुन्: श्रवण गर्नु, कीर्तन गर्नु, स्मरण गर्नु, मन्दिरमा आराधना गर्नु, सेवामा संलग्न हुनु | उहाँले नवधा भक्तिका सम्पूर्ण अङ्गहरुमा संलग्न हुने इच्छा व्यक्त गर्नुभएको छ | अन्त्यमा, पूजन सखी-जन​ | सखी-जन​ भनेको भगवान्‌का निकटतम भक्तहरुलाई खुसी बनाउनु हो | र आत्म​-निवेदन​ | आत्म​ भनेको आफु , र निवेदन भनेको ​समर्पण | गोविन्द​-दास​-अभिलाष​ | यस भजनका रच्ने कविको नाम गोविन्द​-दास हो, र उहाँले आफ्ना इच्छा यिनै हुन् भनेर व्यक्त गर्नुभएको छ | उहाँ यसप्रकार आफ्नो मनुष्य जीवनको सदुपयोग गर्न चाहनुहुन्छ | यो नै यस भजनको सार हो |