NE/Prabhupada 0822 - तपाई केवल कीर्तनद्वारा पुण्यवान बन्न सक्नुहुन्छ
Lecture on SB 3.28.18 -- Nairobi, October 27, 1975
हरिकेशः अनुवादः “भगवान् श्रीकृष्णको महिमा सदैव गाउनु योग्य छ, किनभने उहाँको महिमाले उहाँका भक्तहरूको महिमालाई बढाइदिन्छ । त्यसकारण, मानिसले भगवान् श्रीकृष्ण तथा उहाँका भक्तहरूको ध्यान गर्नुपर्दछ । मानिसले मन स्थिर नभएसम्म भगवान् श्रीकृष्णको शाश्वत स्वरुपको ध्यान गर्नुपर्दछ ।”
प्रभुपादः कीर्तन्य–तीर्थ–यशसं पुण्य–श्लोक–यशस्करम् ध्यायेद्देव समग्रांगं यावन्न च्यवते मनः (श्रीमद्भागवत ३।२८।१८) यसलाई ध्यान भनिन्छ । यावन् – जबसम्म मन विचलित भइरहन्छ र ध्यानको केन्द्रबाट अन्यत्र जान्छ, मानिसले यो कीर्तनको अभ्यास गर्नुपर्दछ । कीर्तनीयः सदाहरिः (चै.च. आदिलीला १७।३१) श्रीचैतन्य महाप्रभुले उपदेश दिनुभएको छ कि भक्तले निरन्तर चौबीसै घण्टा हरे कृष्णको जप गर्नुपर्दछ । कीर्तन्यः “भगवान्को महिमा गाउन योग्य छ ।” यो गाउन योग्य छ, किन ? पुण्यश्लोकस्य । पुण्यश्लोकस्य...पुण्यश्लोक यशस्करम् । यदि तपाईंले आफ्नो मनलाई स्थिर गर्नुहुन्न भने पनि कीर्तनले तपाईंको मनलाई स्थिर बनाइदिन्छ । तर यदि तपाईंले आफ्नो मनलाई स्थिर गर्नुहुन्न भने पनि तपाईंलाई फाइदा नै हुनेछ । तपाईं जति भगवान् श्रीकृष्णको महिमा गाउनुहुन्छ, तपाईं त्यति पुण्यवान् बन्नुहुन्छ, केवल कीर्तनद्वारा । तपाईंले कीर्तनको अर्थ बुझिरहनु आवश्यक छैन, तर यदि तपाईं निरन्तर हरे कृष्ण महामन्त्रको कीर्तन गरिरहनुहुन्छ भने तपाईं पुण्यवान् बन्नुहुनेछ । पुण्यश्लोक । कृष्णको अर्को नाम पुण्यश्लोक र उत्तमश्लोक पनि हो । केवल “कृष्ण” उच्चारण गरेर तपाईं पुण्यवान् बन्न सक्नुहुन्छ । त्यसकारण, ध्यायेद् देवं समग्रांगम् । ध्यान गर्दा कृष्णको चरणकमलबाट सुरु गर्नुपर्दछ । जब तपाईं कीर्तन सुरु गर्नुहुन्छ, सर्वप्रथम, आफ्नो मनलाई कृष्णको चरणकमलमा केन्द्रित गर्नुपर्दछ, तपार्इंले सुरुमै कृष्णको अनुहारको ध्यान गर्न थाल्नुहुँदैन । सर्वप्रथम, कृष्णको चरणकमलको ध्यान गर्न अभ्यस्त हुनुहोस्, त्यसपछि, अलि माथि अर्थात् कृष्णको घँुडाको ध्यान गर्नुहोस्, त्यसपछि, कृष्णको तिघ्राको ध्यान गर्नुहोस्, त्यसपछि, कृष्णको पेटको अनि त्यसपछि कृष्णको छातीका ध्यान गर्नुहोस् । यसप्रकार, अन्ततः तपाईं कृष्णको मुहारको चिन्तन गर्नुहोस् । यो ध्यानको प्रकृया हो । श्रीमद्भागवतको दोस्रो स्कन्धमा यसको वर्णन गरिएको छ । प्रकृया होः कसरी कृष्णको चिन्तन गर्ने, मन्मना भव मद्भक्तः (भगवद्गीता १८।६५) यसलाई ध्यान भनिन्छ । त्यसकारण, यो...कीर्तनले ध्यानलाई अत्यन्त सजिलो बनाइदिन्छ । यदि तपाईं हरिदास ठाकुरले जस्तै चौबीसै घण्टा हरे कृष्ण महामन्त्रको कीर्तन गर्नुहुन्छ भने... त्यो सम्भव छैन । त्यसकारण सम्भव भएसम्म । तीर्थ–यशस । कीर्तन...यो पनि कीर्तन हो । हामी कृष्णको बारेमा बोलिरहेका छौँ, कृष्णका बारेमा अध्ययन गरिरहेका छौँ, भगवद्गीतामा वर्णित कृष्णकै उपदेशहरू अध्ययन गरिरहेका छौँ । अथवा श्रीमद्भागवतमा वर्णित कृष्णका महिमाहरूको अध्ययन गरिरहेका छौँ । यी सबै कीर्तन नै हुन् । केवल वाद्यवादनका सामाग्रीहरू बजाएर गाउँदैमा त्यो कीर्तन हुँदैन । होइन । कृष्णको बारेमा तपाईं जे पनि कुराकानी गर्नुहोस्, त्यो कीर्तन हो ।