NE/Prabhupada 0823 - यो भारतवासीको जन्मसिद्ध अधिकार हो-तिनीहरु स्वत: कृष्ण भावनाभावित हुन्छन्



Lecture on SB 3.28.20 -- Nairobi, October 30, 1975


हरिकेशः अनुवादः “आफ्नो मनलाई कृष्णको शाश्वत स्वरुपमा केन्द्रित गर्दा, योगीले कृष्णका अंगप्रत्यंगहरूको समग्र स्वरुपमा ध्यान गर्ने होइन उसले त आफ्नो मनलाई कृष्णका प्रत्येक अंगहरूमा केन्द्रित गर्नुपर्दछ ।”

प्रभुपादः तस्मिन् लब्ध पदं चित्तं सर्वावयव संस्थितम् । विलक्ष्यैकत्र संयुज्याद् अंगे भगवतो मुनिः ।।(श्रीमद्भागवत ३।२८।२०) हामीले अनेकौँ पटक वर्णन गरिसकेका छौँ कि यो अर्चा–मूर्ति... बदमाश वर्गका मानिसहरू अर्चा–मूर्तिलाई बुझ्न सक्दैनन् । तिनीहरू विचार गर्दछन् कि हामीहरू मूर्तिपूजा गरिरहेका छौँ । हिन्दु समाजमै समेत वेदका अनेक तथाकथित अनुयायीहरू छन्, तिनीहरू यो पनि भन्दछन् कि “मन्दिरमा अर्चामूर्तिको पूजा गर्न के जरूरी छ ?” तिनीहरूले भारतका मन्दिरहरूमा हुने अर्चा–मूर्तिको पूजालाई रोक्न अत्यन्त शक्तिशाली अभियान नै सुरु गरे । केही समयसम्म त्यसको असर बाकीँ रह्यो तर अहिले त्यो असर समाप्त भएको छ । त्यो... मन्दिरमा अर्चा–विग्रहको पूजा गर्नुहँुदैन भन्ने त्यो बदमाश अभियान अहिले समाप्त भएको छ । कसैले पनि त्यो अभियानलाई वास्ता गरेन । तिनीहरू विचार गर्दछन् कि भगवान् सर्वत्र हुनुहुन्छ — तर मन्दिरमा बाहेक । (हाँसो चल्छ) तिनीहरूको दृष्टिकोण यस्तो छ । यदि भगवान् सर्वत्र हुनुहुन्छ भने मन्दिरमा चाहीँ किन हुनुहुन्न ? होइन । त्यो तिनीहरूको अल्पज्ञानको प्रमाण हो । तिनीहरू बुझ्न सक्दैनन् । अहँ सक्दैनन् । भगवान् सर्वत्र हुनुहुन्छ तर मन्दिरमा हुनुहुन्न । तिनीहरूको बुद्धि यस्तो छ, बदमाशहरू । त्यसकारण, हामीले आचार्यको अनुसरण गर्नु आवश्यक छ । आचार्यवान् पुरुषो वेद (छान्दोग्य उपनिषद ६।१४।२)ः आचार्यलाई स्वीकार गरेको मानिस... शास्त्रलाई जान्ने र शास्त्रका नियमहरूलाई व्यवहारमा लागू गर्ने मानिसलाई आचार्य भनिन्छ । अचिनोति शास्त्रार्थः । त्यसकारण, सम्पूर्ण आचार्यहरू... भारतमा हजारौँ हजार अत्यन्त विशाल–विशाल मन्दिरहरू छन्, विशेषगरी दक्षिण भारतमा । तीमध्ये केही मन्दिरहरूलाई तिमीहरूले पनि देखेका छौ । प्रत्येक मन्दिर एउटा विशाल किल्लाजस्तै देखिन्छ । ती सम्पूर्ण मन्दिरहरू आचार्यहरूले स्थापना गरेका थिए, ती मन्दिरहरू मानिसहरूले मनोमानी ढंगले निर्माण गरेका होइनन् । होइन । ती मन्दिरहरूमध्ये बालाजीको मन्दिर, तिरुपति, तिरुमलइ अझै पनि अत्यन्त प्रसिद्ध छ । मानिसहरू त्यो मन्दिरमा आज पनि दर्शन गर्न गइरहेका छन्, र त्यहाँ अझै पनि दैनिक १ लाखभन्दा बढी रकम संकलन भइरहन्छ । हुन त नास्तिकहरूले अत्यन्त जोडतोडका साथ मन्दिरहरूमा नजाने प्रचार गरिरहेका छन्, तापनि मानिसहरू... यो भारतवासीको जन्मसिद्ध अधिकार हो — तिनीहरू स्वतः कृष्णभावनाभावित हुन्छन् । स्वतः । त्यसकारण, मन्दिरमा अर्चामूर्तिको पूजा अति आवश्यक छ । स्वतः । त्यसकारण, मन्दिरमा अर्चामूर्तिको पूजा अति आवश्यक छ । त्यसकारण, मन्दिरमा श्रीमूर्तिको सेवा अर्थात् अर्चा–मूर्तिको पूजाको विरोध गर्ने मानिसहरू, तिनीहरू त्यति बुद्धिमान् मानिसहरू होइनन् — तिनीहरू मूर्ख, मूढ हुन् । पुनः त्यही शब्द । न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः माययापहृतज्ञाना आसुरी भावमाश्रिताः ।। (भगवद्गीता ७।१५) माययापहृतज्ञानाः । तिनीहरू “भगवान् सर्वत्र हुनुहुन्छ” भन्दै ठूलाठूला कुरा गर्दछन् । तर तिनीहरू मन्दिरमा हुने अर्चा–मूर्तिको पूजालाई चाहीँ निषेध गर्न खोजिरहेका छन् । एउटा साधारण मानिसले पनि भन्न सक्छ, “यदि भगवान् सर्वत्र हुनुहुन्छ भने मन्दिरमा चाहीँ किन हुनुहुन्न ?”