NE/Prabhupada 0848 - कृष्ण-तत्त्वको बारेमा थाहा नभए कोहि पनि गुरु बन्न सक्दैन
741227 - Lecture SB 03.26.18 - Bombay
जब श्रीचैतन्य महाप्रभु तथा रामानन्द राय आध्यात्मिक साक्षात्कारका बारेमा बहस गर्दै हुनुहुन्थ्यो... र ती रामानन्द रायको जन्म शूद्र परिवारमा भएको थियो र उहाँ गृहस्थ तथा मद्रास राज्यका गर्भनर अर्थात् राजनीतिज्ञ पनि हुनुहुन्थ्यो । र श्रीचैतन्य महाप्रभु उहाँलाई प्रश्नहरू सोध्दै हुनुहुन्थ्यो र .... यो श्रीचैतन्य महाप्रभुको लीला होः मूकं करोति वाचालम्, श्रीचैतन्य महाप्रभुले कसरी एकजना शूद्र, गृहस्थ तथा राजनीतिज्ञलाई आफ्नो गुरु बनाउँदै हुनुुहुन्छ । कोही पनि श्रीचैतन्य महाप्रभुको गुरु बन्न सक्दैन तर श्रीमन्महाप्रभुले केवल एउटा शिष्य बन्ने भूमिका निभाइरहनुभएको थियो । महाप्रभुले प्रश्न सोधिरहनुभएको थियो र रामानन्द रायले उत्तर दिइरहनुभएको थियो । अतः कल्पना गर्नुहोस्, रामानन्द राय कति उच्चस्तरीय व्यक्तित्व हुनुहुन्थ्यो । रामानन्द राय उत्तर दिन हिच्किचाइरहनुभएको थियो र जब श्रीमन्महाप्रभुले उहाँलाई अत्यन्त जटील प्रश्नहरू सोध्नुहुन्थ्यो... रामानन्द राय उत्तर दिन पूर्ण रूपमा सक्षम हुनुहुन्थ्यो र उहाँ उत्तर पनि दिइरहनुभएको थियो । तर उहाँ उत्तर दिन हिच्किचाइरहनुभएको थियो, “महाशय, हजुर अत्यन्त उच्च ब्राह्मण परिवारबाट आउनुभएको हो र हजुर अत्यन्त विद्वान् व्यक्तित्व हुनुहुन्छ, र अब हजुरले संन्यास पनि लिइसक्नुभएको छ जुन मानव समाजको सबैभन्दा उच्चस्तरीय आश्रम हो ।” संन्यास भनेको अत्यन्त सम्माननीय पद हो । भारतमा अझै पनि संन्यासीलाई आदर–सम्मान गरिन्छ । एउटा संन्यासी जहाँसुकै गएतापनि, कम्तीमा गाउँहरूतिर जाँदा, मानिसहरू आजभोलि पनि उसलाई सादर दण्डवत् प्रणाम गर्दछन् र उसलाई सम्पूर्ण किसिमका सेवाहरू प्रदान गर्दछन् । शास्त्रअनुसार, यदि कुनै संन्यासीलाई दण्डवत् प्रणाम गरिँदैन अर्थात् राम्ररी सम्मान गरिँदैन भने, उसलाई कम्तीमा एक दिन उपवास बस्ने दण्ड दिइन्छ । यो वैदिक प्रणाली हो । तर आजभोलि अनेक संन्यासीहरूले यसको गलत फाइदा उठाइरहेका छन् । हामी तिनीहरूको कुरा गरिरहेका छैनौँ । तर श्रीचैतन्य महाप्रभु ढोंगी संन्यासी हुनुहुन्नथ्यो । उहाँ आदर्श संन्यासी हुनुहुन्थ्यो । र रामानन्द राय पनि एक आदर्श गृहस्थ हुनुहुन्थ्यो । त्यसकारण, उहाँ केही हिच्किचाउनुभएको थियो । रामानन्द रायलाई उत्साह दिनका लागि श्रीचैतन्य महाप्रभुले तत्काल भन्नुभयो, “होइन, होइन । तपाईं किन हिच्किचाउनुभएको ? तपाईं आफूलाई किन तुच्छ ठान्नुहुन्छ ? तपाईं गुरु हुनुहुन्छ ।” “अब म कसरी गुरु भएँ ?” “येइ कृष्णतत्ववेत्ता, सेइ गुरु हय (चै.च. मध्यलीला ८।१२८) ।” किनभने कृष्णतत्वको ज्ञाता बन्नु भनेको कुनै सामान्य कुरा होइन । यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्वतः । (भगवद्गीता ७।३) । कृष्णलाई चिन्ने मानिस सामान्य मानिस होइन । यततामपि सिद्धानाम् (भगवद्गीता ७।३) । कृष्ण सम्पूर्ण किसिमका सिद्धहरूभन्दा पनि माथि हुनुहुन्छ । “त्यसकारण, तपाईं किन हिच्किचाइरहनुभएको छ ? तपाईंलाई कृष्णतत्वको ज्ञान छ; त्यसकारण म तपाईंलाई सोधिरहेको छु ।” त्यसकारण, कृष्णतत्वको महिमा ठूलो छ । यो कृष्णभावनामृत अभियान भनेको पनि हामीकहाँ आउने मानिसहरूलाई प्रशिक्षण दिएर सिद्धहरूभन्दा धेरै–धेरै माथिको स्तरमा पु¥याउनु हो । र यो अत्यन्त सजिलो छ । मानिसले गुरुको पदलाई स्वीकार गर्न सक्छ यदि.... गुरु भनेको सिद्धहरूभन्दा माथि रहेको व्यक्ति हो । कृष्णतत्ववेत्ता । येइ कृष्णतत्ववेत्ता, सेइ गुरु हय (चै.च. मध्यलीला ८।१२८) । कृष्णतत्वलाई नजानेसम्म मानिस गुरु बन्न सक्दैन । कुनै साधारण मानिस होइन । योगी, कर्मी तथा ज्ञानीहरू गुरु बन्न सक्दैनन् । त्यस्तो स्वीकृति दिइएको छैन, किनभने यदि कोही ज्ञानी छ भने पनि, उसले कृष्णलाई बुझ्न अनेकौँ जन्म बिताउनुपर्दछ; केवल एउटा जीवनमा होइन तर अनेकौँ–अनेकौँ जन्म बिताउनुपर्दछ । यदि उसले आफ्नो ज्ञानद्वारा अर्थात् मनोधर्मद्वारा परमसत्यलाई बुझ्ने हठ गरिरहन्छ भने, उसले अझै अनेकौँ जन्म लिनुपर्नेछ । त्यसपछि, एकदिन ऊ सौभाग्यशाली बन्न सक्दछ । यदि ऊ भक्तहरूको सम्पर्कमा आउँदछ भने उसले कृष्णलाई बुझ्ने सम्भावना हुन्छ । भगवद्गीतामा कृष्ण भन्नुहुन्छः बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते (भगवद्गीता ७।१९) । प्रपद्यते भनेको को हो ? जो कृष्णको शरणमा आउँछ ऊ प्रपद्यते हो । जबसम्म मानिसले कृष्णलाई पूर्ण रूपमा बुझ्दैन तबसम्म उसले किन कृष्णको शरण लिन्छ ? कृष्ण भन्नुहुन्छ, सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज (भगवद्गीता १८।६६) । ठूलाठूला विद्वान्हरू भन्दछन्, “यो त अति नै भयो” “यो त अति नै भयो । कृष्णले त माग गरिरहनुभएको छ, मामेकं शरणं व्रज । यो त अति नै भयो ।” यो अति भएको होइन; यही नै वास्तविक स्थिति हो । यदि उसले वास्तवमै ज्ञानमा प्रगति गरेको छ भने.... बहूनां जन्मनामन्ते (भगवद्गीता ७।१९) । एउटै जीवनमा यो प्राप्त गर्न सकिँदैन । यदि ऊ ज्ञान प्राप्त गर्न नै हठ गर्दछ भने परमसत्यलाई बुझ्नका लागि त्यसपछि अनेकौँ जन्म लिएपछि जब ऊ पूर्ण ज्ञानमा अवस्थित हुन्छ, त्यसपछि उसले कृष्णको शरण लिन्छ । वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभः (भगवद्गीता ७।१९) । त्यस्तो प्रकारको महात्मा... तपाईंले अनेकौँ महात्माहरू भेट्नुहुनेछ, केवल वस्त्र परिवर्तन गर्दैमा महात्मा बनिँदैन । यहाँ त्यस्तो महात्माको कुरा भइरहेको छैन । स महात्मा सुदुर्लभः । यस्ता महात्माहरू फेला पार्नु अत्यन्त कठिन छ तर संसारमा त्यस्ता महात्माहरू हुन्छन् । यदि कुनै मानिस सौभाग्यशाली छ भने उसले त्यस्ता महात्मालाई भेट्न सक्दछ र यसप्रकार उसको जीवन सफल हुन्छ । स महात्मा सुदुर्लभः ।