NE/Prabhupada 0899 - भगवान् भनेको प्रतिस्पर्धीरहित व्यक्ति: एक । भगवान् एउटै हुनुहुन्छ
730415 - Lecture SB 01.08.23 - Los Angeles
अनुवादः “हे हृषीकेश, हे इन्द्रियहरूका स्वामी तथा ईश्वरहरूका ईश्वर, हजुरले आफ्नी आमा देवकीलाई मुक्त गर्नुभएको छ जो लामो समयदेखि कैदमा पर्नुभएको थियो र जसलाई ईष्र्यालु राजा कंसले दुःख दिएको थियो, साथै मलाई तथा मेरा सन्तान पाण्डवहरूलाई पनि निरन्तर आइरहने विपत्तिहरूबाट बचाउनुभएको छ ।"
प्रभुपादः भक्तको स्वरूप यो हो, कि देवकी जो कृष्णकी आमा हुनुहुन्छ... उहाँ साधारण स्त्री हुनुहुन्न । सबैभन्दा प्रखर भक्त मात्र कृष्णको आमा बन्न सक्नुहुन्छ किनभने कृष्ण स्वयं उहाँको पुत्र बन्न सहमत हुनुभएको छ । पूर्वजन्ममा वसुदेव र देवकीले कठोर तपस्या गर्नुभएको थियो, र जब कृष्ण उहाँहरूको सामु प्रकट हुनुभयो र उहाँहरूलाई आशीर्वाद दिन चाहनुहुन्थ्यो, तब तिनीहरूले भगवान् कृष्णजस्तै पुत्रको प्राप्तिको इच्छा गरे । तर कृष्णसँग बराबर हुने अर्को मानिस कहाँ छ ? यो सम्भव छैन । भगवान्सँग समान पनि कोही हुँदैन र कोही उहाँभन्दा ठूलो पनि हुँदैन । भगवान्लाई असमोध्र्वा पनि भनिन्छ । भगवान्सँग कसैको पनि प्रतिस्पर्धा हुन सक्दैन कि “तिमी भगवान् हौ, म भगवान् हुँ, ऊ भगवान् हो, त्यो भगवान् हो ।” होइन । यिनीहरू कुकुर हुन् । तिनीहरू भगवान् होइनन् । भगवान् भनेको प्रतिस्पर्धारहित व्यक्ति होः एक । भगवान् एक हुुनुहुन्छ । कोही पनि उहाँभन्दा महान् छैन....असमोध्र्वा । कोही पनि उहाँभन्दा ठूलो छैन । कोही पनि उहाँसँग बराबर छैन । सबैजना उहाँभन्दा तल छन् ।एकले ईश्वर कृष्ण आर सब भृत्य (चै.च. आदिलीला ५।१४२) । एक मात्र भगवान् अर्थात् स्वामी कृष्ण हुनुहुन्छ ः र अरू सबैजना उहाँका सेवक हुन् । जोसुकै होस् । ऊ स्वयं ब्रह्मा, विष्णु अथवा शिव अथवा ठूलोठूलो देवता भए पनि ऊ कृष्णकै सेवक हो । भने अरूको के कुरा गर्ने ? शिव–विरिञ्चि–नुतम् (श्रीमद्भागवतम् ११।५।३३) । शास्त्रमा वर्णन गरिएको छ कि कृष्णलाई भगवान् शिव तथा भगवान् ब्रह्माले समेत सादर प्रणाम गर्नुहुन्छ । शिव र ब्रह्मा शीर्षस्थ देवताहरू हुनुहुन्छ । साथै अन्य देवताहरू पनि हुनुहुन्छ । मनुष्यहरूभन्दा माथि देवताहरू हुनुहुन्छ । हामी मनुष्य हौँ र हामी तल्लो स्तरका प्राणी अर्थात् पशुपक्षीभन्दा माथि छौँ, त्यसैगरी, हामीभन्दा माथि देवताहरू हुनुहुन्छ । र सबैभन्दा महत्वपूर्ण देवता ब्रह्मा तथा शिव हुनुहुन्छ । भगवान् ब्रह्मा यो ब्रह्माण्डका सृष्टिकर्ता हुनुहुन्छ र भगवान् शिव यो ब्रह्माण्डका संहारकर्ता हुनुुहुन्छ । र भगवान् विष्णु यो ब्रह्माण्डका पालनकर्ता हुनुहुन्छ । भगवान् विष्णु स्वयं कृष्ण हुनुहुन्छ । अतः यो भौतिक संसारलाई सञ्चालन गर्नका लागि तीनओटा गुणहरू छन्ः सत्वगुण, रजोगुण तथा तमोगुण । र यी तीन प्रमुख देवताहरूले एउटा–एउटा विभाग सम्हाल्नुभएको छ । भगवान् विष्णुले सत्वगुणको विभाग सम्हाल्नुभएको छ, र भगवान् ब्रह्माले रजोगुणको विभाग सम्हाल्नुभएको छ, र भगवान् शिवले तमोगुणको विभाग सम्हाल्नुभएको छ । उहाँहरू यी गुणहरूको प्रभावको अधीनमा हुनुहुन्न । एउटा कारागारको प्रमुख मानिसजस्तै । ऊ कैदी होइन तर ऊ नियन्त्रण गर्ने अधिकारी हो । त्यसैगरी, भगवान् शिव, भगवान् विष्णु तथा भगवान् ब्रह्माले प्रत्येक विभागलाई सम्हालिरहुनभएको छ, तापनि, उहाँहरू ती विभागहरूको अधीनमा हुनुहुन्न । हामीले गल्ती गर्नुहुँदैन । र हृषीकेश कृष्ण परमनियन्ता हुनुहुन्छ । हृषीक भनेको इन्द्रिय हो । र हामी हाम्रा इन्द्रियहरूलाई भोग गरिरहेका छौँ तर अन्ततः कृष्ण नै परमनियन्त्रक हुनुहुन्छ । मानौँ, यो मेरो हात हो । म दाबी गरिरहेको छु कि यो मेरो हात होः “म तिम्रो नाकमा गजबको मुक्का दिनेछु...” म मेरो हातमा खुब गर्व गर्दछु । तर म नियन्त्रक होइन । नियन्त्रक त कृष्ण हुनुहुन्छ । यदि कृष्णले तिम्रो हातको काम गर्ने शक्ति खिचिदिनुभयो भने तिम्रो हात चल्नेछैन । हुन त तिमी दाबी गरिरहेका छौ, “यो मेरो हात हो । म यसलाई प्रयोग गर्नेछु ।” तर जब प्यारालाइसिस हुन्छ, त्यसपछि तिमीले केही पनि गर्न सक्नेछैनौ । अतः एउटा सज्जन मानिसले विचार गर्नेछ कि यदि यो हात अन्ततः कृष्णद्वारा नै नियन्त्रित छ भने, तर म मेरो हातको नियन्त्रक होइन । यसैलाई कृष्णभावनामृत भनिन्छ । अतः एउटा सज्जन मानिसले विचार गर्नेछ कि यदि यो हात अन्ततः कृष्णद्वारा नै नियन्त्रित छ भने, यो कृष्णकै सेवाका लागि प्राप्त भएको हो । यो साधारण मानिसले पनि बुझ्ने कुरा हो ।