NE/Prabhupada 0965 - कृष्णको लागि जीवन समर्पण गरेका व्यक्तिको आश्रय लिनुपर्छ



720000 - Lecture BG Introduction - Los Angeles


मायावादी दार्शनिकहरु सोच्छन् कि परम-सत्य निराकार हुन्छन् | मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु (भ गी ७|१) | अर्जुनलाई कृष्णले "भगवान के हुनुहुन्छ" सम्बन्धि सल्लाह दिंदैहुनुहुन्छ | हामीले भगवानको बारेमा जति कल्पना गरे पनि यो पूर्ण हुन सक्दैन किनकि भगवान असिमित हुनुहुन्छ | हामी सिमित छौं | वास्तवमा भगवानले आफुलाई भक्तको अघि प्रकट नगर्नुभएसम्म भगवानलाई बुझ्न सम्भव छैन | तसर्थ भगवान कृष्णले स्वयं नै आफ्नो बारेमा भन्दै हुनुहुन्छ | प्रक्रिया मय्य् आसक्त​-मनाः हो | एक मानिसले कृष्णको लागि आसक्ति बढाउनुपर्छ | हामीसँग अहिले भौतिक वस्तुप्रति आसक्ति छ र हामीले त्यो मोड्नुपर्छ | हाम्रो स्थान भनेको हाम्रो आसक्ति कुनै वस्तुप्रति हुनुपर्छ | त्यो तथ्य हो | अहिले, जीवनको शारीरिक अवधारणामा हाम्रो आसक्ति यो शरीरप्रति र यो शरीरसँग सम्बन्धित वस्तुप्रति छ | जस्तै मेरो आसक्ति मेरी श्रीमतीप्रति छ | किन ? लाखौं सुन्दर महिला छन् तर मेरो आसक्ति तिनीहरुप्रति छैन | तर मेरी श्रीमतीप्रतिको मेरो आसक्ति भने उनी सुन्दर नभए पनि कायम रहन्छ | किन ? उनको सम्बन्ध मेरो शरीरसँग भएकाले गर्दा | त्यसैगरी, मेरो आसक्ति मेरो देशप्रति छ, मेरो आसक्ति मेरो घरप्रति छ, धेरै कुराहरुप्रति छ किनकि मैले सोच्दैछु कि म यो शरीर हुँ र यो शरीरसँग सम्बन्धित जे पनि मेरो हो | वर्तमान समयमा "म" र "मेरो" भन्ने अवधारणा गलत हो | तसर्थ, यदि हामीले त्यस आसक्तिलाई कृष्णतर्फ मोड्छौं भने हामीले कृष्ण वा भगवानलाई पूर्णतः बुझ्न सक्छौं | कृष्ण सूर्य समान हुनुहुन्छ | जब आकाशमा सूर्य देखिन्छ, तिमीले सूर्य र आफुलाई पनि देख्न सक्छौ | सूर्य बिना, रातको अन्धकारमा न तिमीले सूर्यलाई देख्छौ, न आफुलाई देख्छौ | तसर्थ कृष्ण भावना विकास गर्ने प्रक्रिया भनेको मय्य् आसक्त​-मनाः हो | मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः | यो योग हो | योग भनेको जोडिनु | योगं युञ्जन्... कृष्णको सम्पर्कमा त्यस योगको अभ्यास गर्नुपर्छ | तसर्थ उहाँले मद्-आश्रय भन्नुभयो | मद् भनेको म वा मेरो | र आश्रय भनेको शरण लिनु | त्यसैले तिमीले कृष्ण वा कृष्णको प्रतिनिधिको आश्रय लिनुपर्छ | अवश्य पनि कृष्णको आश्रय लिन सम्बह्व छैन किनकि वर्तमान समयमा कृष्ण उपस्थित हुनुहुँदैन | तर उहाँका प्रतिनिधि यहाँ छन् | त्यसैले उहाँको प्रतिनिधिको आश्रय लिनुपर्छ | र कृष्णमा आफ्नो मन एकाग्र गर्दै भक्ति योगको अभ्यास गर्नुपर्छ | यसलाई कृष्ण भावना भनिन्छ | कृष्णप्रति जीवन समर्पित गरेको व्यक्तिको आश्रय लिनुपर्छ, र उनको निर्देशन अन्तर्गत हामीले अभ्यास गर्नुपर्छ, कसरी कृष्ण भावनाको विकास गर्ने र तब कृष्ण प्रकट हुनुहुनेछ | कृष्णलाई प्रत्यक्ष देख्ने प्रक्रियामा समानुपातिक रहस्य उद्घाटन नै समानुपातिक विकास हो |