NE/Prabhupada 0911 - भगवानमा विश्वास गर्ने मानिस सबै प्राणीहरुप्रति समान रुपले दयालु र स्नेही हुनुपर्दछ



730420 - Lecture SB 01.08.28 - Los Angeles


अनुवाद : “मेरा प्रभु, म हजुरलाई शाश्वत काल मान्दछु, परम–नियन्त्रक, आदि र अन्त्यरहित तथा सर्वव्यापक । आफ्नो कृपा वितरण गर्नमा हजुर सबैप्रति समान हुनुहुन्छ । दुई जीवात्माहरूबीच सामाजिक लेनदेनको कारणले झगडा हुन्छ ।”

प्रभुपाद : भगवद्गीतामा कृष्णले ठीक यही कुरा भन्नुभएको छ । यसलाई कुन्तीदेवीले वर्णन गर्नुभएको छ । भगवान् कृष्णले पनि यही कुरा बोल्नुभएको छ । समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः, ये तु भजन्ति मां भक्त्या तेषु ते मयि (भगवद्गीता ९।२९) । भगवान्ले पक्षपात गर्न सक्नुहुन्न । त्यो सम्भव छैन । सबैजना भगवानकै पुत्र हुन् । त्यसोभए भगवान् कसरी एउटा पुत्रलाई पक्षपात गर्न सक्नुुहुन्छ र र अर्को पुत्रलाई उपेक्षा गर्न सक्नुहुन्छ ? त्यो सम्भव छैन । त्यो हाम्रो गल्ती हो । हामी लेख्दछौँ : “हामी भगवान्लाई विश्वास गर्दछौँ” तर हामी भेदभाव गर्दछौँ । यदि तिमी भगवान्लाई विश्वास गर्दछौ भने तिमी सम्पूर्ण प्राणीहरूप्रति समान रूपले दयालु तथा स्नेही हुनुपर्दछ । यही नै भगवद्भावना हो । अतः कृष्ण भन्नुहुन्छ : “मेरो कोही पनि शत्रु छैन न त मेरो कोही मित्र नै छ ।” न मे द्वेष्योऽस्ति न प्रियः । द्वेष्य भनेको शत्रु हो । हामी आफ्ना शत्रुहरूको ईष्र्या गर्दछौँ र आफ्ना मित्रहरूसँग मित्रता गर्दछौँ । अतः कृष्ण परमसत्य हुनुहुन्छ । कृष्ण कुनै–कुनै असुरहरूप्रति शत्रुतापूर्ण देखिनुभए तापनि उहाँ वास्तवमा सबैको मित्र हुनुहुन्छ । जब कुनै असुरको वध गरिन्छ तब त्यसको अर्थ हुन्छ : उसका आसुरी गतिविधिहरूको अन्त्य गर्नु । त्यसपछि, ऊ तत्काल सन्त बन्दछ । नत्र, ऊ कसरी तत्काल ब्रह्मज्योतिमा पुग्दछ ? कृष्णद्वारा मारिएका यी सम्पूर्ण असुरहरू, तिनीहरू तत्काल ब्रह्मज्योति–निर्विशेषमा बिलीन हुन्छन् । एक मात्र भिन्नता भनेको निश्चय नै ब्रह्मज्योति, परमात्मा तथा भगवान् हो । तिनीहरू सबै एक हुन् । वदन्ति तत् तत्वविदस्तत्वम् (श्रीमद्भागवत १।२।११) । ब्रह्मज्योति पनि सत्य हो । परमसत्य विभिन्न रूपमा प्रकट हुनुभएको मात्र हो । ब्रह्मेति परमात्मेति भगवानिति शब्द्यते (श्रीमद्भागवत १।२।११) । मूल भगवानको एउटा पूर्ण–विस्तारलाई परमात्मा भनिन्छ । जो सबैको हृदयमा विराजमान हुनुहुन्छ । ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति (भगवद्गीता १८।६१) । भगवान्को पूर्ण–विस्तार क्षीरोदकशायी विष्णु सबैको हृदयमा विराजमान हुनुहुन्छ । उहाँलाई परमात्मा भनिन्छ । अतः ब्रह्म, परमात्मा तथा भगवान् । परमसत्यको अन्तिम स्वरूप भगवान् हुनुहुन्छ । अतः ये यथा मां प्रपद्यन्ते (भगवद्गीता ४।११) । अब उहाँ सबैप्रति समान हुनुहुन्छ । यो ती भक्त अथवा व्यक्तिहरूमा भर पर्दछ जो सर्वोच्च परमसत्यलाई बुझ्ने प्रयास गरिरहेका छन् । तिनीहरूको बुझ्ने क्षमताअनुसार, परमसत्य भगवान् प्रकट हुनुहुन्छ, या त निराकार ब्रह्मका रूपमा अथवा घटघटवासी परमात्माका रूपमा अथवा भगवान्का रूपमा । यो हाम्रो हातमा छ । मैले यो उदाहरण अनेक पटक दोहोर्याइसकेको छु । जस्तै, कहिलेकाहीँ हामी हाम्रो कोठाबाट पर्वतहरू देख्दछौँ । यहाँ लस एन्जलसमा अनेक पर्वतहरू छन् । तर ती पर्वतहरू अलग–अलग देखिँदैनन् । जब तिमी कुनै पर्वतलाई टाढाबाट देख्दछौ, तब त्यो बादलजस्तै देखिन्छ । तर यदि तिमी त्यो पर्वततिर अघि बढ्दछौ भने, तिमीले स्पष्ट रूपमा त्यहाँ एउटा पर्वत देख्नेछौ । र यदि तिमी अझै पर्वततिर अघि बढ्दछौ भने तिमीले त्यहाँ अनेक घरहरू तथा काम गरिरहेका अनेक मानिसहरू देख्नेछौ । त्यहाँ अनेक सडकहरू, मोटरकारहरू तथा सबै कुराहरू अर्थात् सम्पूर्ण विविधता छन् । त्यसैगरी, जब मानिसले आफ्नो तुच्छ मस्तिष्कद्वारा परमसत्यलाई जान्न खोज्दछ भने, “म परमसत्यलाई पत्ता लगाउनका लागि अनुसन्धान गर्नेछु ।” त्यसपछि, तिमीले सुरुवातमा अस्पष्ट ज्ञान अर्थात् निराकार ब्रह्मज्योतिको ज्ञान पाउनेछौ । र यदि तिमी ध्यानी बन्दछौ भने, तिमीले भगवान्लाई आफ्नै हृदयभित्र विराजमान हुनुभएको थाहा पाउनेछौ । ध्यानावस्थित–तद्–गतेन मनसा पश्यन्ति यं योगिनः (श्रीमद्भागवत १२।१३।१) । सच्चा योगीहरू अर्थात् वास्तविक योगीहरूले ध्यानद्वारा, तिनीहरूले आफ्नो हृदयमा विष्णु–मूर्तिलाई दर्शन गर्दछन् । र जो भगवान्का भक्तहरू छन्, उनीहरूले परमपुरुषलाई आमुन्ने–सामुन्ने देख्दछन् जस्तै, हामी एक–अर्कालाई आमुन्ने–सामुन्ने देखिरहेका छौँ, आमुन्ने–सामुन्ने वार्तालाप तथा प्रत्यक्ष सेवा गरिरहेका छौँ । भगवानले आदेश दिनुहुन्छ : “मलाई यो वस्तु अर्पण गर” अनि भक्तले अर्पण गर्दछ । यही नै भिन्नता हो ।