NE/Prabhupada 0910 - हामी सधैँ कृष्णको अधीनमा रहने प्रयास गर्नेछौँ । यही नै सफल जीवन हो ।



730419 - Lecture SB 01.08.27 - Los Angeles

हामी सधैँ कृष्णको अधीनमा रहने प्रयास गर्नेछौँ । यही नै सफल जीवन हो ।

प्रभुपाद: किनभने कृष्णको शरीर र आत्माबीच कुनै भिन्नता छैन । उहाँ पूर्ण आत्मा हुनुहुुन्छ । तर हामीसँग यो भौतिक शरीर तथा आत्मा छ । म आत्मा हुँ तर मैले यो भौतिक शरीर धारण गरेको छु । त्यसोभए, जब हामी वास्तवमै कृष्णमा आश्रित हुन्छौँ, तब कृष्ण आत्माराम हुनुभएजस्तै हामी पनि कृष्णसँगै आत्माराम हुन सक्दछौँ । कैवल्य–पतये नमः (श्रीमद्भागवत १।८।२७) । मायावादी दार्शनिकहरू तथा अद्वैतवादीहरू परमसत्यसँग एकाकार हुन चाहन्छन् । जसरी परमसत्य आत्माराम हुनुहुन्छ, त्यसैगरी उनीहरू पनि परमसत्यसँग एक भएर आत्माराम बन्न चाहन्छन् । हाम्रो दर्शन पनि त्यही हो, कैवल्य । तर हामी कृष्णमा आश्रित छौँ । हामी कृष्णसँग एकाकार हुँदैनौँ । हामीसँग पनि अद्वैतवाद छ । यदि हामी केवल कृष्णका आदेशहरू पालन गर्न सहमत हुन्छौँ भने, त्यहाँ कुनै मतभेद हुँदैन, यसैलाई अद्वैतवाद भनिन्छ । यी मायावादी दार्शनिकहरू विचार गर्दछन् कि : “म किन मेरो पृथक व्यक्तिगत अस्तित्व कायम राख्ने ? म परमसत्यभित्र बिलीन हुनेछु....” तर यो सम्भव छैन । किनभने हामी सृष्टि गरिएका हौँ.... हामी सृष्टि गरिएका होइनौँ, अनादिकालदेखि नै हामी पृथक अंशको रूपमा थियौँ । हामी पृथक–पृथक अंशहरू हौँ । त्यसकारण, भगवद्गीतामा कृष्ण भन्नुहुन्छ : “प्रिय अर्जुन ! तिमी, म र यो युद्ध–मैदानमा एकत्रित भएका यी सबै राजाहरू, विगतमा पनि हामी सबै छुट्टा–छुट्टै व्यक्तिहरू थियौँ । वर्तमानमा पनि हामी छुट्टा–छुट्टै व्यक्तिहरू छौँ, र भविष्यमा पनि हामी छुट्टा–छुट्टै व्यक्तित्व रहनेछौँ । हामी सबै छुट्टा–छुट्टै व्यक्तिहरू हौँ ।” नित्यो नित्यानां चेतनश्चेतनानाम् (कठोपनिषद २।२।१३) । उहाँ परम नित्य व्यक्ति हुनुहुन्छ, उहाँ असंख्य जीवित प्राणीहरूमध्ये परम–जीवात्मा हुनुहुन्छ । हामी जीवहरू असंख्य अथवा अनन्त छौँ । जीवात्माहरूको संख्या कति छ, त्यसको कुनै गणना छैन । स अनन्ताय कल्पते । र यी अनन्त आत्माहरू जीवित प्राणीहरू हुन्, र कृष्ण पनि एक जीवित प्राणी हुनुहुन्छ तर उहाँ प्रमुख हुनुहुन्छ । यही नै भिन्नता हो । नित्यो नित्यानां....जस्तै, हरेक समाजमा एउटा नेता हुन्छ । नेता एकजना हुन्छ र अनुयायीहरू धेरै हुन्छन् । त्यसैगरी, कृष्ण परम जीवात्मा हुनुहुन्छ, र हामी उहाँको अधीनमा रहेका उहाँमा आश्रित जीवात्माहरू हौँ । यही नै उहाँ र हामीबीच रहेको भिन्नता हो । हामी कृष्णमा निर्भर छौँ । यो हामी बुझ्न सक्छौँ : यदि कृष्णले हाम्रो लागि भोजन उपलब्ध गराउनुभएन भने हामीलाई अनिकाल पर्नेछ । यो सत्य हो । हामी आफैँले केही पनि सृष्टि गर्न सक्दैनौँ । एको यो बहूनां विदधाति कामान् । त्यसकारण, कृष्णले हाम्रो पालनपोषण गरिरहनुभएको छ र हामी उहाँद्वारा संरक्षित छौँ । त्यसकारण, कृष्ण शासक हुनुहुन्छ र हामी उहाँको अधीनमा छौँ । यही नै हाम्रो शाश्वत स्वाभाविक स्वरूप हो । त्यसकारण, यदि हामी यो भौतिक संसारमा गलत ढंगले शासक बन्न चाहन्छौँ भने त्यो भ्रम मात्र हो । यस्तो विचारलाई हामीले त्याग्नै पर्दछ । यस्तो विचारलाई हामीले त्याग्नै पर्दछ । हामी सधैँ कृष्णद्वारा शासित हुने प्रयास गर्नुपर्दछ । यही नै सफल जीवन हो । धेरै धेरै धन्यवाद ।

भक्तहरू : हरिबोल, श्रील प्रभुपादकी जय !