NE/Prabhupada 0871 - राजाहरु प्रथम श्रेणीका ब्राह्मण तथा ऋषिहरुद्वारा नियन्त्रित हुन्थे



750519 - Lecture SB - Melbourne

राजा अर्थात् सम्राटको दायित्व आफ्नो राज्यभित्र रहेका सबैजनालाई संरक्षण प्रदान गर्नु हो । ऊ मनुष्य होस् अथवा पशुपक्षी होस्, सबैको सुरक्षा गर्नुपर्दछ । रुखहरूको समेत संरक्षण गर्नुपर्दछ । अनावश्यक रूपमा कसैको हत्या गर्ने कुनै कानुन थिएन । अहँ । वास्तवमा, यदि तपाईं व्यावहारिक हुनुहुन्छ भने... राष्ट्रिय...राष्ट्रिय भनेको त्यो भूमिमा जन्म लिने मानिस हो । वर्तमान परिवेशमा सरकारहरूले केवल मनुष्यहरूको मात्र सुरक्षा गरेको छ तर पशुपक्षीहरूको सुरक्षा गरेको छैन । राष्ट्रवाद भनेको के हो ? ती बिचरा जनावरले के गरेका छन् र तिनीहरूको सुरक्षा गरिँदैन ? त्यसैले, यो युगलाई कलियुग अर्थात् पापपूर्ण युग भनिन्छ । पापपूर्ण युग । त्यो बढिरहेको छ । त्यो बढिरहेको छ । तर महाराज परीक्षितको समयमा कसैले पनि कुनै किसिमको अन्याय गर्न पाउँदैनथे । त्यसकारण, शास्त्रमा उल्लेख गरिएको छः कामं ववर्ष पर्जन्यः (श्रीमद्भागवतम् १।१०।४) । सबै कुराहरू सही अवस्थामा रहेको कारणले प्रकृतिले हामीलाई प्रदान गर्ने सम्पूर्ण सुविधाहरू, जीवनका सम्पूर्ण आवश्यकताहरू पनि पूर्ण रूपमा उपलब्ध थिए । यदि तपाईं घातक अथवा हानिकारक बन्नुहुन्छ अथवा राजा वा भगवान्का नियमहरूको अवज्ञा गर्ने काम गर्नुहुन्छ भने... राजा भगवान्को प्रतिनिधि हुनुहुन्छ । त्यसकारण, भारतमा राजालाई भगवान्को प्रतिनिधिका रूपमा स्वीकार गरिन्छ । त्यसकारण, परापूर्वकालमा राजाहरूलाई यसप्रकार प्रशिक्षण दिने गरिन्थ्यो कि ऊ एक्लै सम्पूर्ण ब्रह्माण्डलाई सञ्चालन गर्न सक्षम हुन्छ.... अथवा कम्तीमा एउटा लोकलाई शासन गर्न सक्छ । त्यतिबेला यस्तो प्रणाली थियो । राजाहरू अत्यन्त पुण्यवान् हुन्थे । मेरो मतलब, यी राजाहरूका बारेमा अनेक इतिहासहरू छन् । उनीहरू किन पुण्यवान् थिए ? किनभने तिनीहरू पनि कसैको निर्देशनमा चल्दथे । राजाहरू उच्चकोटिका ब्राह्मण तथा ऋषिहरूको निर्देशनमा चल्दथे । ब्राह्मणवर्गले सरकारको प्रशासनका गतिविधिहरूमा भाग लिनु हुँदैन, तर तिनीहरूले क्षत्रीय राजाहरूलाई सल्लाह दिने गर्नुपर्दछ, कि “तिमीले प्रजाहरूलाई यसप्रकार शासन गर ।” त्यतिबेला ब्राह्मणहरू अत्यन्त शक्तिशाली हुन्थे । अतः यदि राजाले यसरी शासन गर्दैनथे भने– ब्राह्मणहरूले त्यस्तो राजालाई पदच्युत अथवा हत्या पनि गर्न सक्दथे–यसका धेरै उदाहरणहरू छन् । तर ब्राह्मणहरू आपैmँले सत्ता आफ्नो हातमा लिँदैनथे । राजाकै छोरालाई राज्य गर्ने अवसर दिइन्थ्यो । त्यतिबेला यस्तो नियम थियो । र महाराज परीक्षितलाई सात दिनपछि मृत्यु हुने श्राप प¥यो । त्यो पनि अत्यन्त राम्रो अथवा रुचिकर हो । तर धेरै रुचिकर होइनः यो त दुर्भाग्य हो, कि महाराज परीक्षितलाई एउटा ब्राह्मण–पुत्रले सात दिनपछि सर्पको टोकाइद्वारा मर्नुपर्ने श्राप दिए । त्यो घटना कसरी घट्यो ? घटना यसप्रकार छः महाराज परीक्षित जंगलमा शिकार खेल्न जानुभएको थियो । केवल क्षत्रीय राजाहरूलाई मात्र शिकार खेल्ने अनुमति हुन्छ । किनभने तिनीहरूले शासन चलाउनु पर्दथ्यो, र परापूर्वकालमा डाँकु तथा बदमाशहरू राजाको आदेशद्वारा, अथवा राजा स्वयंले तिनीहरूलाई तत्काल मारिदिन्थे, त्यसकारण, राजाहरूले मार्ने अभ्यास गर्नुपर्दथ्यो । र जंगलका हिंस्रक जनावरहरूको शिकार गरेर त्यस्तो अभ्यास गरिन्थ्यो, मासु खानका लागि होइन । आजभोलि मासु खानका लागि शिकार गरिन्छ । होइन, यो गैरकानुनी काम हो । र महाराज परीक्षित शिकार खेल्ने क्रममा हुनुहुन्थ्यो । त्यही क्रममा उहाँलाई अत्यन्त प्यास लाग्यो । त्यसकारण, उहाँ एउटा साधुको आश्रममा प्रवेश गर्नुभयो । ती साधु त्यतिबेला ध्यानमग्न हुनुहुन्थ्यो । उहाँ प्रवेश गर्नुभयो र ती साधुसँग पानी माग्न लाग्नुभयो, “मलाई पिउने पानी दिनुहोस् । मलाई अत्यन्त प्यास लागेको छ ।” परीक्षितले सोच्नुभयो, “यो आश्रम हो ।” तर ध्यानमग्न ऋषिले उहाँको आवाज सुन्नभएन । त्यसकारण, राजा अलिकति रिसाउनुभयो र सोच्न लाग्नुभयो, “म राजा हुँ । म पानी मागिरहेको छु र यो मानिस मौन भएर बसिरहेको छ ।” त्यसकारण, उहाँ अलिकति रिसाउनुभयो । यताउती हेर्दा त्यहाँ एउटा मरेको सर्प देखियो । अनि राजाले त्यो सर्पलाई उठाएर ती साधुको घाँटीमा माला लगाइदिएर त्यहाँबाट जानुभयो । तर ती साधुका पुत्र लगभग १०–१२ वर्षका थिए । उनी खेलिरहेका थिए र उनका साथीहरूले उनलाई यो घटना सुनाए “राजाले तिम्रा पितालाई यसप्रकार अपमान गर्नुएको छ ।” त्यसपछि, ती बालक अत्यन्त क्रोधित भए, “ओहो, राजाले यति अशिष्ट भएर मेरा पितालाई अपमान गरे ।” ती बालकले आफ्ना पिताको घाँटीमा मृत सर्प देखे । उनले तत्काल महाराज परीक्षितलाई श्राप दिए “तिमी सात दिनपछि एउटा सर्पको टोकाइबाट मर्नुपरोस् ।” र जब ती बालक अत्यन्त चर्को आवाजमा रोइरहेका थिए, तब ती साधु उठ्नुभयो र सोध्नुभयो, “मेरो प्रिय पुत्र, के भयो ? तिमी किन रोइरहेका छौ ?” “होइन, होइन । राजाले हजुरको अपमान गरेका छन्, त्यसकारण, मैले उनलाई श्राप दिएँ ।” यो सुनेपछि ती साधु अत्यन्त दुःखित भए र भने, “तिमीले त्यस्ता असल राजर्षिलाई श्राप दियौ ? ओहो, तिमीले सम्पूर्ण ब्राह्मण समाजकै बदनामी गरेका छौ । तिमीले कलियुगलाई प्रवेश गर्ने अनुमति दिएका छौ । यो कलियुगको षडयन्त्र हो ।” जेहोस, ती साधुले राजाकहाँ यो खबर पु¥याइदिनुभयो “मेरो पुत्रले मूर्खतापूर्वक हजुरलाई श्राप दिएको छ । यो...तर म अब के नै गर्न सक्छु र ? यो भगवान्कै इच्छा हो । यो तय भइसकेको छ । त्यसकारण, अब हजुर त्यसको तयारी गर्नुहोस् ।” अब हेर्नुहोस् त, एउटा ब्राह्मणको सानो पुत्र समेत कति धेरै शक्तिशाली हुँदो रहेछ, यदि एउटा दश वर्षको बालकले समेत यस्ता महान् राजालाई श्राप दिन सक्थे र राजाले त्यो श्रापको पालना गर्नुपर्दथ्यो भने क्षत्रीय तथा ब्राह्मणको स्थिति यस्तो हुने गर्दथ्यो, साथै वैश्य तथा शूद्रको पनि । चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः (भगवद्गीता ४।१३) । भगवान्को इच्छाअनुसार मानव समाजलाई चार वर्गमा विभाजन गरिएको छ । प्रथम श्रेणीको वर्गलाइ ब्राह्मण, द्वितीय श्रेणीको वर्गलाई क्षत्रीय, तृतीय श्रेणीको वर्गलाई वैश्य तथा बाँकी सबै चौँथो श्रेणीको वर्गलाई शूद्र भनिन्छ ।